माघ १६,
रसुवा । छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ । उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधन युक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिइन ।
सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, त्यस्तो रोगको लक्षण देखिन आएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सघन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको बताइएको छ । रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अनिल खरेल रहनुभएको उपसमिति गठन भइसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
उता सीमा क्षेत्रका चिनियाँ अधिकारी भने बुधबारदेखि रसुवागढी केरूङ सीमा क्षेत्रको आवतजावतमा बन्द गरेका छन् । कोनोरा भाइरसको नियन्त्रको समस्या एवं चिनियाँ भू–भागको राजमार्गमर्मत र ल्होछार पर्व समेतको कारण दर्शाइ बुधबारदेखि १५ दिनका लागि केरूङको आवतजावत बन्द गरेको बताइएको छ । राजमार्ग सुधारका क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न १५ दिनका लागि कुनै पनि सवारी साधन नगुढाउने र मानिस ओहरदोहरमा रोक लगाउने सीमा क्षेत्रका चिनियाँ अधिकारीले जानकारी पठाएको सुरक्षा निकायले बताएको छ ।
सामान लिन रसुवागढी पुगेका मितेरी पुल नजिकै रहेको चिनियाँ गढीबजारसम्म जान भने स्थानीयवासी पाउने जानकारी आएको सीमा क्षेत्रका सुरक्षा निकायले जनाएको छ । रसुवागढी केरूङको आवतजावत नहुने भएपछि कामको सिलसिलामा केरूङबाट घर आउन चाहने नेपाली भने मङ्गलबार साझ नै नेपाल भित्रिसकेको स्थानीयवासीले बताएका छन् । -रासस
प्रतिक्रिया