ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक सुरु

आइतबार, २४ भदौ २०८०
1 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन्। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन्। सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन्। प्रधानमन्त्री दाहालले आजै परराष्ट्रविज्ञहरुसँग छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।