क्यानेडियाली प्रध्यापक एवम् व्यवसाय र व्यवस्थापन सम्बन्धि पुस्तकहरुका लेखक हेनरी मिन्जबर्ग भन्छन् – ‘कला, विज्ञान र र्सिजनालाइ एकै ठाउँमा ल्याउने अभ्यास नै व्यवस्थापन शिक्षा हो ।’ बिजनेश एजुकेशन अर्थात् व्यवसाय शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाइ व्यवस्थापन र उत्पादन कार्यसँग सम्बन्धित आधारभूूत सिद्धान्त सिकाइन्छ । यस्ता कार्यक्रमको उद्देश्य व्यवस्थापनसँग सम्बन्धित निर्णय प्रक्रिया, दर्शन, सिद्धान्त र मनोबिज्ञान तिनीहरुको व्यवहारिक प्रयोग र नयाँ व्यवसाय शुरुवात कसरी गर्ने, संचालन कसरी गर्ने भन्ने विषय अध्यापन गरिन्छ ।
सन् १९५४ ( वि.सं.२०११) बाट नेपालमा व्यवस्थापन शिक्षा शुरु भएको हो । खास गरेर बैंक, सरकारी निकाय र औद्योगिक एबम् व्यवसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले । त्यो बेला राजनीतिशास्त्र, इतिहास, अंग्रेजी साहित्य र अर्थशास्त्र जस्ता विषयहरु प्रतिको रुचि बढी थियो । वाणिज्य/व्यवस्थापन शिक्षा कम प्राथमिकतामा पर्दथ्यो । सरकारी/निजामती सेवामा लेखापाल (एकाउन्टेन्ट)को जागिर/पेशालाई हेयको दृष्टिले हेरिन्थ्यो । वा भनौ कम प्राथमिकताको क्षेत्र थियो । व्यवसाय गर्ने पेशालाई तल्लो दर्जामा राखिन्थ्यो । खास गरेर भारतमा भएको आर्थिक विकास र उद्योग कलकारखानाको बृद्धि र विकासँगै वाणिज्यशास्त्रका स्नातकहरुलाई महत्व दिन थालियो । त्यसैको प्रभाव स्वरुप नेपालमा त्रिभुवन विश्वबिद्यालयले व्यवस्थापन र वाणिज्य संकायका कार्यक्रम शुरु गरेको हो । यो भन्दा अघि नेपाली विद्यार्थीहरु वाणिज्यशास्त्रको उच्च शिक्षा हासिल गर्न भारतका शहरहरु कलकत्ता, बनारस, पटना, इलाहाबाद र लखनउ जाने गर्थे । आजकल व्यवस्थापन शिक्षा प्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ । त्रिभुवन विश्वविद्यालयमा भर्ना (इनरोल) हुने कूल विद्यार्थी संख्यामा व्यवस्थापन संकाय रोज्ने विद्यार्थीको संख्या करिब आधाजसो देखिन्छ । इञ्जिनियरिङ्ग र मेडिकल शिक्षामा जस्तै आकर्षण देखिन्छ यो विधामा पनि ।
व्यवस्थापन कला हरेक क्षेत्रमा उत्तिकै महत्वपूर्ण ठहँरिदै आएको छ । नेपालमा अहिले धेरैजसो विश्वविद्यालयहरुले व्यवस्थापन बिषयका विभिन्न नामका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्रिविले फ्याकल्टी अफ म्यानेजमेण्ट अन्तर्गत बिबिए, बिबिएस, एमबिए, एमबिएस, जस्ता शुद्ध ब्यवस्थापन शिक्षाका कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्यस्तै जनप्रशासनमा (एम पि ए), स्नातक तहमा बिबिए, बिसिए, बिएचएम, बिटिटिएम, र बिआइएम जस्ता मिश्रित कार्यक्रम सञ्चालित छन् । ब्यवस्थापन शिक्षा बास्तवमा बहु–विषयगत (मल्टी डिसीप्लीनरी) प्रकृतिको हुन्छ । ब्यवस्थापकिय सीप जीवनका हरेक मोडमा उत्तिकै काम लाग्दछ । अबको व्यवस्थापन र बाणिज्य शिक्षा परम्परागत नभएर अझ बढी गतिशील हुनुपर्दछ । यसलाई अब रि-ओरिन्टेशन अर्थात् पुनः अभिमुखीकरण गर्नु पर्दछ । हेनरी मिन्जबर्गले भने जस्तो व्यवस्थापन शिक्षाले कला, बिज्ञान र सिर्जनालाई एकै ठाउँमा ल्याउने अभ्यास गर्नु पर्दछ । यसले व्वसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष व्यवस्थापक, लेखापाल लगायतका जनशक्ति उत्पादन गर्ने, व्यवस्थापन कन्सल्टेन्टको रुपमा परामर्शदाताको कार्य गर्ने उच्च दक्ष जनशक्तिको माग स्वदेशमा नै पूूरा गर्न सक्नु पर्दछ । वर्तमानको आवश्यकता भनेको टाई-शुट लगाएर ९-५ को जागिर गर्ने मात्रै नभएर उद्यमी जनशक्ति उत्पादन गर्ने दिशामा अभिमुख बाणिज्य शिक्षा हो ।
उद्यमशिल भावना जागृत गराउनुपर्दछ । २१औं शताब्दीको व्यवस्थापन शिक्षा केवल ब्यवस्थापन र वाणिज्यशास्त्र अध्यापनमा मात्र सिमित हुनुहुैन । अध्ययन अध्यापनका क्षेत्रमा ब्यापक बिस्तार भइरहेको हुँदा आजभोलि यसलाई व्यवसायिक शिक्षा (बिजनेश एजुकेशन) भनिन्छ । त्यस्तै शिक्षालयहरुलाई बिजनेश स्कुल । व्यवसायिक शिक्षाको विकास बाह्य वातावरणमा आएका परिवर्तनबाट प्रभावित हुँदै गएको छ खास गरेर व्यवसाय बिकास, उत्पादन, प्रविधि र उद्यमशिलता जस्ता ट्रेण्डबाट । जागिरे हुने या उद्यमी ? व्यवस्थापन संकाय अध्ययन गर्दै गरेका स्नातक र स्नातकोत्तर तहका बिद्यार्थीहरुलाई अक्सर सोधिने प्रश्न हो यो । कक्षाकोठामा बारम्बार विद्यार्थीहरुलाई जागिरे हुनुभन्दा उद्यमी हुनु वेस हो भनेर सिकाइन्छ तर, बिडम्बना, अध्ययन पूरा गरेर बजारमा आउँदा बित्तिकै धेरैलाई सजिलो र आकर्षक लाग्ने पेशा प्रतिष्ठित कम्पनी वा संस्थामा आकर्षक तलब/बेतनमा काम गर्न सहज मान्ने परिपाटी छ ।
करिब १० वर्ष अगाडि स्नातकोत्तर तहमा ब्यवस्थापन सङ्कायको विद्यार्थीको रुपमा मैले जे सिके बुँझे अहिले आफूले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन/वाणिज्यशास्त्रका विद्यार्थीलाई बिभिन्न विषय प्रध्यापन गर्ने क्रममा बारम्बार त्यही कूरा दोहोर्याउँछु । कमसेकम सयौंको संख्याबाट एक दुई जना सफल उद्यमी र व्यवसायी भैदिए हुन्थ्यो भन्ने लाग्छ । तर, उर्जावान त्यस्ता कर्णधार भाइ बहिनीहरुलाई अष्ट्रेलिया, अमेरिका जान भौतारिइरहेको, बैंकको सामान्य टेलर भएर बसेको/सहकारीको नाम मात्रको ब्यवस्थापकको रुपमा देख्दा असहज महशुस हुन्छ । देश निर्माण गर्ने, समृद्ध नेपालको चाहना पूरा गर्न यो प्रवृत्ति एउटा ठूलो चूनौती हो । आर्थिक परनिर्भरता हटाई सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न युवा पुस्ता उद्योग, व्यवसाय र उद्धमशिलतामा आकर्षित हुनैपर्दछ ।
चूनौती: नेपाली सन्दर्भमा व्यवस्थापन शिक्षा – व्यवस्थापन शिक्षाको पुन निर्देशन वा कस्तो हुनुपर्छ अबको नेपालको व्यवस्थापन शिक्षा ? यहि प्रश्न नै अहीलेको मुख्य चुनौती हो । हाम्रा पुस्तक र पाठ्य सामग्री त्यहाँ समावेश भएका विषयबस्तु, केस स्टडीहरु र अझै महत्वपूूर्ण अनुशन्धानका कार्यहरु सबै बिकसित पश्चिमा देशमा डिजाईन गरिएका छन् । हाम्रो आफ्नो मौलिकता छैन । हाम्रो आफ्नो माटो सुहाउदा विषयबस्तु ब्यवस्थापकिय र उद्यम/व्यवसायका मौलिक खाले समस्याहरुको समाधान गर्ने क्षमता बिकास गर्नु अहिलेको मुख्य चूनौती हो । अब पनि हामी सगरमाथा, गौतम बुद्ध र वीर गोर्खाली भनेर कति चिनिइने ? अब हामी मौलिक सृजनशिल, इन्नोभेटिव (स्टार्ट–अप) युवा उद्यमीको देश भनेर किन नचिनिने ? के स्टीभ जब्स, बिल गेट्स, वारेन बफेट, जुकरबर्ग, ज्याकमा नेपालमा उत्पादन हुन सक्दैनन र ? एक प्राज्ञ एकेडेमिकको रुपमा सम्बन्धित सरोकारवालाहरुलाई देश निर्माणमा अग्रसर हुने जनशक्ति तयार गर्न समय सान्दर्भिक दिशा निर्देशन दिनु जरुरी हुन्छ ।
सम्भावना: उदाहरणको रुपमा एउटा सम्भावनाको क्षेत्र कृषि–पर्यटनलाइ लिन सकिन्छ । कृषिलाई पर्यटनसँग मर्ज गर्ने अवधारणा । जहाँ पर्यटकले हाम्रो परम्परागत कृषि प्रणाली जसले पारिस्थितिक प्रणाली अर्थात् इको सिस्टममा कुनै पनि नकारात्मक प्रभाव पार्दैन । हुन त कृषि र पर्यटन आफैमा भिन्न प्रकृतिका ब्यवसाय हुन जो व्यवस्थापन शिक्षाको क्षेत्र भित्र पर्दैनन भनेर तर्क र बहस गर्न पनि सकिएला । तर व्यवस्थापनले सबै क्षेत्रका कार्यलाइ समिश्रण गर्ने सिप प्रदान गर्दछ । कृषि सम्बन्धि प्राविधिक ज्ञान र पर्यटन सम्बन्धी सैद्धान्तिक ज्ञानलाइ एकिकृत गरि कृषि–पर्यटन स्थापना गर्न सकिन्छ । यहाँ उल्लेख गरिएको कृषि–पर्यटन कोषको अवधारणा त एउटा उदाहरण मात्र हो । नेपालको बिशिष्टता र माटो सुहाउँदो यस्ता थुप्रै नयाँनयाँ सम्भाव्य कोषका आइडियाहरु विकास गरेर लैजान सकिन्छ । व्यवस्थापन क्षेत्रका आशावादी युवाहरुलाई अरुले बनाएको बाटो हिड्नु भन्दा आफैले बिकास गरेको बाटोमा बढी भरोसा र बिश्वास हुन्छ । आफैले खनेको बाटो हिड्नु रोमान्चक हुन्छ । तसर्थ, व्यवस्थापन शिक्षा अध्यापन गराउने बिजनेश स्कूूलहरु र प्राज्ञहरुको अबको कार्यभार यो दिशातर्फ निर्देशित हुुनुपर्दछ । यसैबाट दायित्वबोध पूरा हुन्छ र सन्तुष्टी पनि मिल्छ । नियमनकारी निकायहरुले पनि कुन विद्यालय/विश्वबिद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीले कति प्रतिशत वा उच्च ग्रेड ल्याए भन्ने नहेरेर उनिहरुले उद्यमी समाज निर्माण गर्न र उद्यमशिलताको माहोल सिर्जना गर्ने दिशामा के कति योगदान दिए त्यसैको आधारमा उत्कृष्ट कार्य गर्ने शैक्षिक संस्थाहरुलाई ‘उत्कृष्ट स्कूूल अवार्ड’ दिने परिपाटी शुरुवात गर्नु पर्दछ ।
अब व्यवस्थापन अध्यापन गराउने शिक्षालयहरु, प्राज्ञहरु र व्यवस्थापन/वाणिज्यशास्त्र अध्ययन गर्ने बिद्यार्थीहरु सबै अहिलेको बर्तमान धरातल भन्दा माथि उठेर फरक ढङ्गले सोच्नुपर्दछ । ब्यबस्थापन शिक्षाको विश्वव्यापी दृष्टिकोण सँगँंगै ‘सोचाइमा विश्वव्यापी दृष्टिकोण, काम गराइ र ब्यवहारमा स्थानीयता/मौलिकता’ (थिङ्क ग्लोबल्ली, एक्ट लोकल्ली) भन्ने अवधारणालाई आत्मसाथ गर्दै नव–प्रवर्तनको माध्यमबाट अब ब्यवहारमा उतार्न ढिलो गर्नु हुँदैन । पाठ्यक्रम र शिक्षण पद्धतिमा समयानुकुल परिमार्जन गर्दै जानु पर्दछ । यो नै व्यवस्थापन शिक्षाकोतर्फबाट देश निर्माण गर्ने कार्यमा महत्वपूर्ण योगदान हुन्छ । ब्यवस्थापन शिक्षालाई सैद्धान्तिक भन्दा एप्लाइड(व्यवहारिक) बनाउनु पर्दछ । -लेखक पौडेल प्राध्यापन पेशामा संलग्न छन् ।
प्रतिक्रिया