ताजा अपडेट »

सैनामैना व्यापार संघको अध्यक्षमा सुरेन्द्र पौडेल

शनिबार, २३ भदौ २०८०

बुटवल । आत्मनिर्भर अर्थतन्त्र विकासको लागि राज्यले उद्योगी/व्यवसायीलाई संरक्षण गर्दै अगाडि बढनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् । आर्थिक विकासका लागि राज्यको सहयोगी बन्न आफूहरु तयार रहेको उनीहरूको जोड छ । सैनामैना व्यापार संघको सातौं साधारण सभा तथा पाँचौ विशेष अधिवेशनमा बोल्दै कोरोना कहर र आर्थिक मन्दीले व्यवसायिक क्षेत्र प्रभावित भएको बताउँदै व्यवसायिक हितको लागि राज्यले पनि सघाउनुपर्ने सरोकारवालाले जोड दिए ।

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले राज्यले उद्योगी व्यवसायीलाई संरक्षण गर्न सक्ने खालको नीति बनाउनुपर्नेमा जोड दिए । ढकालले व्यवसायीमैत्री नीति नबन्दा पलायन हुने अवस्था आएको बताए । संघका सल्लाहकार एवं सैनामैनाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले सहज र सुलभ ऋण पाउने ब्यवस्था नहुँदा व्यवसायी तथा उद्योगीहरु धरासायी हुँदै आएको बताए ।

अधिवेशनको उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक टंकप्रसाद पोखरेल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, उद्योग वाणिज्य संघ सैनामैनाका अध्यक्ष प्रेम बहादुर खड्ल गायतले बोल्दै सैनामैनाको समृद्धिमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

अधिवेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, द्वितीय उपाध्यक्ष हरिलाल न्यौपाने, महासचिव भिम प्रसाद सुबेदी, कोषाध्यक्ष पुष्पा पौडेल, सह-कोषाध्यक्ष प्रेम थापा, उपमहासचिव गोविन्द पोखरेल, सचिव चाम बहादुर क्षेत्री र सहसचिव खिमलाल घिमिरे रहेका छन् ।

सदस्यहरुमा चन्द्र प्रकाश वन, जनक गौतम, रमेश बस्याल, माधव पौडेल, कमला अधिकारी, डण्डापानी ढकाल, गंगाराम अर्याल, माया पन्थी ज्ञवाली, विष्णु प्रसाद घिमिरे र ज्ञानेश्वर पौडेल रहेका छन् । अधिवेशनले शिव प्रसाद भुषाल संयोजकत्वमा रहेको तीन सदस्य लेखा समिति चयन गरेको छ ।