माघ १५,
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता- २०७६ अन्तर्गत बुधबार सम्पन्न ग्रुप ए अन्तर्गतको खेलमा लुम्बिनी खुकुरी क्लब बेलहिया विजयी भएको छ ।
लुम्बिनी खुकुरीले शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई २५३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । बुधबार भएको खेलमा पराजयसंगै शंकरनगर क्रिकेट क्लब डिभिजनन ‘बी’ मा घटुवा भएको छ । निर्धारित ४६ ओभरको खेलमा टस जितेर व्याटिङ गरेको लुम्बिनी खुकुरीले ४६ ओभरमा ७ विकेट गुमाउँदै ३०८ रनको योगफल बनायो । उसका लागि शंकर रानाले १७४, अन्तिम थापाले २५, प्रज्जवल थापा र सन्दिप रजालीले १८/१८, मान बहादुर थापाले १४ र लाल बहादुर अधिकारीले १३ (नटआउट) रनको योगदान गरे । बलिङमा शंकरनगरका कमल ओली र नितेश थापाले २/२ तथा राजविर सिंह र जगत क्षेत्रीले १/१ विकेट लिए । जवाफमा शंकरनगरले १७ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५५ रन बनायो । उसका लागि राजविर सिंहले १६ तथा नरेश ठकुरी र अखिलेश यादवले ७/७ रनको योगदान गरे ।
बलिङमा लुम्बिनी खुकुरीका अजय कुमार लोनियाले ३, दुर्गेश गुप्ता र मान बहादुर थापाले २/२ तथा धिरज शाही, साहब आलम र लाल बहादुर अधिकारीले १/१ विकेट लिए । खेलमा लुम्बिनी खुकुरी क्लबका शंकर राना म्यान अफ द म्याच घोषित भए । बिहीबार ग्रुप डी अन्तर्गतको खेल शिवशक्ति क्रिकेट क्लब भैरहवा तथा बुटवल–११, बुटवलबीच हुनेछ । नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।
प्रतिक्रिया