ताजा अपडेट »

कोशीमा कार्कीले आजै शपथ लिने, मन्त्रीपरिषद् पनि विस्तार गर्ने

शुक्रबार, २२ भदौ २०८०
1 Shares

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ। आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।

सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा ९एमाले० प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको हो ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

‘सर्वोच्चको फैसलाको पत्र प्राप्त भएको छैन,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले भने, ‘फैसला आउनसाथ प्रदेश प्रमुख परशुराम खापुङले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।’

मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेको तयारी छ। एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ। मेन्याङ्गोले कार्की नेतृत्वको सरकारमा यसअघि नै पनि मन्त्री भएर काम गरेका थिए ।

गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन सकेका थिएनन्। त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरेको छ ।