ताजा अपडेट »

निजामती विधेयकमा ट्रेड युनियन अधिकार यथावत् : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २२ भदौ २०८०
1 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको जानकारी दिएका छन् ।

निजामती सेवा दिवस २०८० को अवसरमा आज बिहान सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।

उनले सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे ।

‘यहाँ ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौ’, प्रचण्डको भनाई छ। यद्यपि उनले प्रशासनलाई बलियो बनाउने संहिताबारे भने सबैले विचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए। उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी दिए। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको थियो ।