ताजा अपडेट »

लुम्बिनी प्रदेशसहित ३ प्रदेशमा भारी वर्षाको सम्भावना

मंगलबार, १९ भदौ २०८०
1 Shares

बुटवल । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

नेपालको मौसम प्रणालीमा बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले बताएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।