माघ १५,
काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनि हाल अस्ट्रेलिया पुगेकी छिन् ।
लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् । पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उनि पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन् ।
नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन् । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन । –गोरखापत्र दैनिक
प्रतिक्रिया