बुटवल । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आकांक्षीहरूले निर्वाचनको तयारी गरेका छन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दावी गर्दै चुनावी तयारीमा लागेका हुन् ।
अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल दावेदार छन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पुर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आज बिहान बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमतिमा नेतृत्व चयनको सम्भावना करिब करिब टरेको नेताहरुको भनाई छ ।
रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य,भूमिश्वर ढकाल,शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् । उनले आफ्नो कुनै गुट नभएको बताउंदै आएका छन् ।
दुवैले अडान नछाडेपछि निर्वाचनमा जाने करिब निश्चित भएपनि नेताहरू सहमतिको लागि प्रयासमा लागिरहेका छन् । केन्द्रीय सदस्य भूमिश्वर ढकालले सहमतिमा जाने संभावना कम भएकाले निर्वाचन हुनसक्ने संभावना बढेको बताए ।अहिले जिल्लागत रूपमा प्रदेश कमिटीमा जाने सदस्य टुंगो लगाउन सबै जिल्लाबाट छानिएका प्रतिनिधिहरू १२ वटा समूहमा अलग अलग बसेका छन् । केही जिल्लाले सहमतिमा प्रदेश कमिटी सदस्य टुंगोमा पुराएको केन्द्रीय सदस्य चेतनारायण आचार्यले बताए ।
२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६,अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् । जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक शुरु भएका हुन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुनेछ ।
निर्वाचन मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रकृया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए ।यद्यपी प्रदेश कमिटीमा क्लष्टरगत पदाधिकारी र सदस्य कतिजना रहने भन्ने यकिन नभएकाले अन्य निर्वाचन प्रकृया लम्बिएको उनले बताए । मतदान भएको खण्डमा भोलि बिहान मात्रै शुरु हुने भण्डारीले बताए ।धेरै अधिवेशन प्रतिनिधिले पार्टी नबिग्रने गरी, कार्यकर्ता नभांडिने र पार्टी एकतावद्ध बनाउन सक्ने नेतृत्व सहमति आउन सके मान्य हुने अन्यथा निर्वाचनबाट छान्नुपर्ने बताएका छन् ।
अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।
अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । यसअघि १६ र १७ गतेलाई तोकिएको अधिवेशन मिति सहमति नहुने भएसँगै लम्बिने भएको छ ।
प्रतिक्रिया