ताजा अपडेट »

बुटवल रक्सले मनायो पाचौं वार्षिकत्सव

आइतबार, १७ भदौ २०८०

बुटवल । बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम बुटवलको कन्सेप्ट क्लबमा सम्पन्न भएको छ। कार्यक्रममा अग्रज संगीतकर्मी सुरेश सेन्चुरी, नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईको पनि उपस्थिति रहेको थियो।

बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रममा संगीतकर्मी, संगीत पारखीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सिन्थेसिस नेपाल व्याण्डको प्रमुख भूमिका थियो भने विभिन्न संगीतकर्मीहरुद्वारा आफ्नो प्रस्तुती संयुक्त रुपमा प्रस्तुत गरेका‌ थिए। कार्यक्रमलाई थप उत्साह बनाउन राफल चिठ्ठाको पनि आयोजना गरिएको थियो।‌ ड एज व्याण्ड, रकजिन, म्युजिक हब, सिम्फोनी म्युजिक, म्युजिक सप‌, हाम्रो बुटवल खस्यौलीबाट गिफ्टहरु सहयोग स्वरुप प्राप्त भएको जानकारी बुटवल रक्सका सचिव अनुप प्रधानले‌ गराए।

बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम सुरज हितानको संयोजकत्वमा भएको थियो भने लाइट र एलइडि स्क्रिन धिरज सुनार,‌ लोगो डिजाइनमा‌ सुजन‌ मानन्धर, साउण्ड टेक्निसियन लब श्रेष्ठले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सुरेश सेन्चुरीज्युलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रम स्थल सहयोग प्रदान गरिएकोमा‌ कन्सेप्ट क्लबलाई सम्मान स्वरूप फ्रेम्ड सर्टिफिकेट प्रदान गरिएको थियो।

कार्यक्रममा कन्सेप्ट क्लबका संचालक अतित थापाले कलाकारहरुलाई निरन्तर साथ गरिरहने प्रतिबद्धता जनाएका थिए भने प्रमुख अतिथि सुरेश सेन्चुरीज्यु द्वारा पुराना संगीत, पुराना व्याण्डहरुको र अहिलेको युवा व्याण्ड,‌फरक कला‌ शैली, ती दिनहरुमा प्रयोग हुने म्युजिक सिस्टम, कार्यक्रम स्थल र अहिलेको सहजीकरण विच निकै फरक र सहज पनि रहेको जानकारी गराए।

कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको र आगामी दिनमा अझै कलात्मक कार्यक्रमहरु आयोजना गरिने र यसमा सम्पूर्ण संगीतकर्मीहरुको साथ, सल्लाह रहिरहन्छ भन्ने कामना बुटवल रक्सका‌ अध्यक्ष बसन्त श्रेष्ठले बताए ।