मदन भण्डारीलाई आफ्नो आदर्श मान्ने युवाहरू ‘जबज’लाई कथा उपन्यास बनाउनतर्फ लाग्ने कि मुलुकलाई नयाँ विचार दिन आफूलाई सक्षम बनाउने भन्ने विषय आज प्रश्न बनेर जबर्जस्त उठेको छ । तर जे भए पनि पुस्तान्तरणको बहस नेपाली राजनीतिमा पुनः एकपटक मुखरित भएर आएको छ। पुस्तान्तरण अनुहार फेर्ने बहाना मात्र बन्छ अथवा पुरानो प्रवृत्तिमै परिवर्तन आउँछ ? यो प्रश्न झन् जटिल रूपमा उठेको छ । गुलामीको दौडबाट लाभको पद हासिल गर्न आफ्नो क्षमता र दक्षता खर्च गर्नतिर लाग्नुभन्दा आफैंलाई विश्वास गर्न सक्नुपर्छ।
मुलुकका यी प्रमुख राजनीतिक दलभित्र अबको नेतृत्व युवाहरूले लिनुपर्छ भन्ने मत बाक्लो र बलियो बन्दै गएको छ । तर, आफूलाई युवा भन्ने तप्का भने नेतृत्व लिन अझै तयार छ कि छैन ? यो प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ । यदि तयार भए पनि सामान्य हिसाबले मागेको भरमा पुरानो पुस्ताले बाटो खाली गरिदिने देखिंदैन । पार्टीभित्र पुरानो पुस्तासँग लड्ने साहस नयाँ पुस्तामा छ कि छैन ? जिम्मेवारी लिन युवा पुस्ता आफैंमा परिपक्व र सक्षम छ कि छैन ? तिनलाई पुरानो पुस्ताको टेको आवश्यक पर्छ या पर्दैन ? यस्ता सवाल त छँदैछन् ।
पुरानो पुस्ताको जयजयकारमा आफ्नो सामर्थ्य खर्च गर्नुभन्दा विचार/राजनीतिलाई हतियार बनाएर चुनौती दिन युवा पुस्ता लाग्नु पर्छ। नयाँ पुस्ता समयानुकूल दर्शन र सिद्धान्तको विकास गर्न आफूलाई समर्पित गर्न सक्नुपर्छ । देश र जनताको आर्थिक र सामाजिक विकासका लागि एउटा नयाँ दृष्टिकोण दिन सक्नुपर्छ । राष्ट्रियता र जनजीविकाका सवाललाई मौलिक ढंगले परिभाषित गर्न सक्नुपर्छ ।
युवाहरूले आफ्नो पार्टीमा वास्तवमै पुस्तान्तरण उठाएको हो भने नयाँ राजनीतिक संस्कारको विकास गर्न सक्नुपर्छ । राजनीतिप्रतिको वितृष्णाले वाक्क भएको ठूलो युवा समूहलाई राजनीतिप्रति आशावादी बनाउन सक्नुपर्छ। मागेर होइन आफ्नो क्षमताले नेतृत्व लिन सकिन्छ भन्ने आम मनोविज्ञान स्थापित गर्न सक्नुपर्छ । पुस्तान्तरणको संघर्षमा इच्छाशक्ति नै सबैभन्दा ठूलो हतियार हो ।
त्यसका लागि कुनै नेताको फेरो समात्न भन्दा आफ्नै योग्यतामा विश्वास गर्नुपर्छ । ३३ वर्षमा अलेक्जेन्डर विश्वविजेता बन्न सक्छन्, २८ वर्षका चे र ३३ वर्षका फिडेलले क्युबामा समाजवादको झण्डा फहराउन सक्छन् भने हामी युवाहरूमा पनि त्यो क्षमता छ भन्नेकुरा पुराना पुस्तालाई बताउन सक्नुपर्छ । तर, त्यसका लागि इमान्दारिता, लगनशिलता, प्रतिबद्धताको खाँचो छ । त्यसैले म सक्छु, हामी सक्छौं भन्ने विश्वास हामि आफैंभित्र जाग्नु जरुरी छ। उहि ब्यक्ति केन्द्र, प्रदेश, जिल्लाको प्रतिनिधि जानु अलि जायज हैन । अब पुराना पुस्ताले केहि हदसम्म नयाँलाई पनि विश्वास गर्ने र आफू बसेर वा सँगसँगै समेटेर नयाँलाई पनि अवसर दिने बानि बसाल्नु पर्ने छ।
अबपनि पनि हामि नै हुनु्पर्छ पुराना नै जानुपर्छ भन्ने धारणा रोकिनु पर्छ। हो अग्रज र नेतृत्वको पार्टीप्रति लगानी धेरै छ र तुलनात्मक रुपमा नयाँ पुस्ता भन्दा पुराना ब्यक्ति बढी हुनु स्वभाविक हो । नीति सिद्दान्त एउटा बनाउने ब्यवहारमा पुरानै कुरा दोहोर्याउने हो र कुनै परिवर्तन आभास भएन भने अब कोहि झुक्किने वाला छैनन् । अब पनि जे गरे पनि हुन्छ भन्न थालियो भने २०८४ मा २०७९ को कथा नदोहोरियला भन्न सकिँदैन । अवस्था परिस्थिति फरक हुँदै छ र त्यो अनुसार पार्टी गतिविधी भएन भने रिजल्ट प्रतिकुल हुने निश्चित छ। तीतो यथार्थ अब सदै आस्वासन लिएर, कुरेर र दबेर कोही रोकिने छैनन् यस कुरामा नेतृत्वले विशेष ध्यान दिन जरुरी छ।
अब केहि हदसम्म लचक भएर नेतृत्व र पुरानो पुस्ताले अभिभावकिय भूमिका निभाउँदै युवाहरुलाई पनि नेतृत्वमा ल्याउन सकेमा पार्टीप्रति युवाको चासो र भरोसा पनि बढ्दै जानेछ । युवाहरुमा पार्टीले हामीलाई पनि अवसर दिन्छ है भन्ने कुरा भान हुन्छ जसले धेरै क्षमतावान युवाहरु पार्टीमा आवद्ध हुनेछन् । पुराना र अग्रज नेताको अनुभव र नयाँको विचार कार्यशैली र सोचको मिश्रण हुन सके मात्र पार्टी बलियो हुनेछ। पुराना मात्र नेतृत्वमा हुनुपर्छ भन्दैगर्दा नयाँ नअटाउने, नयाँ नजोडिने भएका पनि हराउने र पुराना एक्लै हुने हुन सक्छ। अब केही हदसम्म पुराना पार्टीले पनि युवा तथा नयाँ पुस्तालाई अवसर दिन सकेमा मात्र पार्टी अझ मजवुद हुनेछ।
अन्ततः नेकपा एमाले लुम्निबी प्रदेशको प्रथम महाधिवेशन भव्य र सब्य रुपमा सम्पन्न होस। नयाँ नेतृत्व आउँदै गर्दा पुराना पुस्तासँग सँगै नयाँ पुस्तालाई पनि उचित व्यवस्थापनसहित उर्जावान र सक्षम नेतृत्व चयन होस शुभकामना !
प्रतिक्रिया