बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र धेरै निराश हुनु पर्ने अवस्थामा नरहेको दाबी गरेका छन् । निराशाको बहसलाई अन्त्य गरी सकारात्मक बहसको खाँचो औल्याउँदे उनले अब मुलुकको अर्थतन्त्र उठ्ने दाबी गरे ।
'अर्थतन्त्रमा केही समस्याहरु भए पनि निराशाको बहसको अन्त्य हुन जरुरी छ । अब सकारात्मक बहस गरौं ।'-महतले भने, 'म अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिरहेको छु ।' बुटवलमा शुक्रबारआयोजित बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा बोल्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र यसभन्दा तल झर्ने ठाउँ नभएकाले माथि उठ्ने पक्का भएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सुधारका लागि सम्पूर्ण क्षमता लगाई रहेको बताउँदै उनले सुधारको दाबी गरे ।
कोरोना महामारीको समयमा करिब २/३ वर्ष ठप्प हुँदा त्यसको असर अहिलृ देखा परेको बताउँदै उनले पुन लयमा फर्किने क्रममा रहेको दाबी गरे । यसैगरी अर्थतन्त्र बिग्रीएको भन्दै आयात रोक्दा धेरै नकारात्मक सन्देश गएको उनले उल्लेख गरे । यसैगरी राष्ट्र बैंकले ब्याजदरमा कसिलो नीति ल्याउँदा थप समस्या पैदा भएको बताउँदै उनले ती सबै कुराहरुलाई सम्बोधन गरेर सरकार अघि बढिरहेको बताए ।
अर्थमन्त्री महतले कतिपय पूर्वाधार निर्माणमा भएका धिलासुस्तीप्रति समेत चासो व्यक्त गर्दै साना तिना कुराहरुले पनि बिकासमा अवरोध हुने गरेको गुनासो गरे । 'निर्माण हुँदै गरेको बुटवल-नारायणगढ सडकको स्तरवृद्धिमा भएको ढिलासुस्ती वा अन्य योजनाहरुमा समेत साना तिना कुरालाई अघि सारेर बिकासलाई अबरोध गर्ने काम राम्रो होइन ।'- उनले भने ।
यसैगरी बुटवल र समग्र रुपन्देहीले आर्थिक बिकासमा प्रशस्त सम्भावना बोकेको बताउँदै प्रदेश राजधानी दाङ सर्दैमा कुनै असर नगर्ने र नगरेको दाबी गरे । भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल पूर्ण क्षमतामा सञ्चालन आउने आश्वासनसहित बुद्ध जन्मस्थल लुम्बिनीको बिकाससँगै पर्यटकीय र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । यश क्षेत्रमा अवसरै अवसर भएको बताउँदै उनले ती अवसरहरुलाई सदुपयोग गर्न आग्रह गरे ।
'सधै हामीले खराब छ, खराब छ भनेर हुँदैन, अब सकारात्मक बहसको सुरुवात गरौं ।'-उनले भने ।
प्रतिक्रिया