ताजा अपडेट »

तातोपानी नाका आजदेखि खुल्दै, सिन्धुपाल्चोकका स्थानीयले एक वर्षको पास पाउने

शुक्रबार, १५ भदौ २०८०

काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रवार)देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो । गत मंलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

'नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौं ।’-उनले भने । विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रवारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।