कोही बार्दलीमा उभिएर गफ चुटिरहेका छन् । कोही भरेङमा ठडिएर मुखामुखा अवस्थामा कुरा गरिहेका छन् । कोही कोठाकोठामा आ–आफ्ना काम गरिरहेका छन् । बजार नै लागेको छ । भीड उस्तै छ । अभिवादनको साटफेर भइरहेका छन् ।
केन्द्रीय नेतादेखि लुम्बिनी प्रदेशको पहिलो अधिवेशनका लागि छनौट भएका नेता, कार्यकर्ताहरु नै बढी देखिएका छन् । शुभचिन्तक, स्वयम् सेवकका निम्ति तयार भएका साथीहरुको पनि उस्तै घुइँचो छ । बर्दियादेखि सुस्तासम्मका साथीहरु भेटिएका छन् । पूर्वी रुकुमदेखि मर्चवारसम्मका साथीहरुले दरोगरी हात मिलाइरहेका दृश्यहरु बुटवल, सुख्खानगरमा रहेको नेकपा एमाले पार्टी कार्यालयको हो ।
पार्टीको प्रदेशस्तरीय अधिवेशनका लागि एक हजार चार जना प्रतिनिधि छनौट भइसकेका छन् । बुटवल अन्तर्राष्ट्रिय सभा हलमा भाद्र १६ र १७ मा हुन गइरहेको उक्त प्रदेश अधिवेशन लुम्बिनी प्रदेशका एमाले समर्थक एवम् शुभचिन्तकहरुका लागि एउटा उल्लासमय पर्व वा चाड हो । पार्टीले कस्तो नीति, विचार पास गर्ला, पार्टीले कस्तो नेतृत्व चयन गर्ला भन्ने सबैका निम्ति चासोको विषयसमेत बनेको छ ।
पार्टी कार्यालयको प्राङ्गणमा उभिएर नेता, कार्यकर्ताहरु आ–आफ्ना डम्पूm बजाइरहेका छन् । कोही भन्छन्-नेतृत्व चयन गर्ने अवसर हललाई दिनुपर्छ । कोही भन्दैछन् -नेताहरुले नेतृत्वको चयन आफै गर्नेछन् । आ–आफ्ना भाग आफै लगाउने छन् । हामीले बोल्न बेकार छ ।
एमालेजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुलाई अन्यथा मान्नु हुँदैन । मदन भण्डारीले प्रतिपादन गरेका जनताको बहुदलीय जनवादमा समेत निर्वाचनलाई प्राथमिकता दिइएको कुरालाई भुल्नु हुँदैन । निर्वाचनमा श्रेष्ठता हाँसिल गर्नेले नै नेतृत्व गर्ने हो र आफ्ना विचार लागू गर्ने हो । सधैंभरि टीके प्रथाले नेतृत्व विकास प्रायः असम्भव हुनेछ ।
पार्टी कार्यालयमा पार्टीका नेतामात्र होइन, कर्मचारी, पत्रकारहरुको समेत बाक्लो उपस्थित देखिएको छ । उनीहरु पनि आआफ्ना तरिकाले पार्टीको पहिलो अधिवेशनमा जोडिएका छन् । आफ्ना मत राखिराखेका छन् । दुई दिनसम्म पार्टी कार्यालय पुगेर, घुमेर, डुलेर यी कुराहरु लेखिरहँदा मैले नभेटेका केही कुराहरु नि छन् ।
अधिवेशनमा कस्तो खालको प्रतिवेदन आउला ? प्रतिवेदनमा लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने कार्योजना आउला कि नाइँ ? युवालाई समेट्ने खालका योजना पार्टीले ल्याउला कि नाइँ ? लुीम्बनी प्रदेशबाट पढ्न वा वैदेशिक रोजगारीका लागि विदेश जाने विद्यार्थी एवम् युवाहरुलाई रोक्न लुम्बिनी प्रदेश एमालेको विशेष योजना के छ ? यस्ता विषयमा विमर्श गरेको वा कुरा गरेको सुन्न पाइनँ । कोठरी बैठकमा खासखुस गरेको धेरै देखियो । प्रतिनिधिहरु नेतृत्वकै कुरामा अल्झिएका छन् । अनि आफू कमिटीमा कसरी पर्ने च्याँखे दाऊ लगाइरहेका छन् ।
कोही नेताहरु भन्दैछन्- जम्मा दुई सय पाँच जनाको कमिटी बन्ने हो । नयाँ बन्ने कमिटीले पाँच प्रतिशत् मनोनित गर्नेछ । पुरानो कमिटी नै ६ सयभन्दा बढीको छ । त्यसैले पुराना कमिटीका धेरै साथीहरुले नै अवसर पाउने छन् । प्रतिनिधि भएर आएका नेता, कार्यकर्ताहरु भन्दैछन्- सधैंभरि पुरानाले अवसर पाइरहने हो भने नयाँको अवसर कहिले आउने हो ? प्रतिनिधि छनौटको आधार पालिका हो भने नयाँ कमिटी निर्माण हुँदा समेत पालिकालाई नै किन अधिकार नदिने ? पालिकालाई अधिकार दिएमा सही सदस्यको छनौट हुन सक्ने र जिम्मेवारीवोध हुन सक्ने केही प्रतिनिधिहरुको सुझाव नेताहरुलाई थियो । प्रदेश कमिटी भद्दा भयो । कामकाजी हुन सकेन पनि भन्ने अनि सबैले म पनि कमिटीमा समावेश हुनुपर्छ । कसरी दुई सय पाँच जनामा सबैलाई समावेश गर्ने ?
प्रतिनिधि बन्नेबित्तिकै कमिटीमा बस्नुपर्ने कस्तो मानसिकता होला–नेता, कार्यकर्ताका ? प्रतिनिधि भएपछि चुनिने र चुन्ने दुबै अधिकार प्रतिनिधिहरुमा हुने गर्छन् तर प्रतिनिधि हुनु भनेकै कमिटीमा बस्ने गरी आएको भन्ने मान्यता सत्य नहुन सक्छ । पार्टीको विधानले प्रदेश कमिटीको सदस्यमा जान केही आधार तय गरेको छ । त्यसको पालना होला कि नाइँ ? जेहोस् । म पनि नेतृत्वमा पुग्छु, पुग्नुपर्छ भन्ने विचार नै आफूमा भएको क्षमता वा योग्यताको क्रम बढ्नुको अर्थमा लिन सकिन्छ ।
कुनैपनि कमिटीमा बसेर निर्दिष्ट काम नगर्ने, नेताहरुका अघिपछि लागेर फोटो खिचेर फेसबुकमा पोष्ट्याउनै हतार गर्ने, ग्रासरुट अभियानमा ब्यानरको अघि फोटो खिच्ने तर कार्यक्रममा पूरा समय सहभागी नभएका, अधिवेशनमा अघितिर लाग्ने तर अरुबेला कता हो कता हराएका नेता, कार्यकर्ताका कार्यमूल्यांकन कुन कमिटीले प्रतिवेदनका रुपमा तयार गरेको होला ? कसलाई कहाँ बुझाएको होला ? अनि कसले,कतिबेला पढेर प्रदेशको अधिवेशनमा छनौटका आधार तयार पारेको होला ?
अधिवेशनका बेला पार्टी कार्यालय र नेताका घरमा भैलो खेल्नेहरुलाई कमिटीमा राख्ने कि कर्मशील एवम् कर्तव्यनिष्ट कमरेडलाई कमिटीमा ल्याउने आगे नेतृत्वले बुझ्ने बेला आएको छ । छनौट भएर आएका प्रतिनिधिहरुले जान्ने कुरा यिनै हुन् ।
असल, सवल, सक्षम एवम् पार्टीको नीति, विचार र सिद्धान्त बुझेको ब्यक्तिलाई नै नेतृत्व दिने गरी प्रतिनिधिहरु तयार रहनुपर्छ । गुटगत लबिङ्ग होइन, ब्यक्तिगत सक्षमताका आधारमा नेतृत्वमा पुग्ने पहल नेताले गर्न सक्नुपर्छ । कसैले तानेर वा कसैलाई मानेर नेतृत्वमा जाने प्रवृत्तिको अन्त्य यसै अधिवेशनले गर्न सकोस् ।
प्रतिक्रिया