२८ लाख ४५ हजार छ सय ४१ लोकप्रीय मतका साथ २०७९ मा नेकपा एमाले देशकै पहिलो पार्टी बन्यो समानुपातिकतर्फ । हुन त यो मत २०७४ को तुलनामा ६ दशमलव ३० प्रतिशतले कम हो । गत निर्वाचनको तुलनामा नेकपा एमालेको मत किन कम आयो सबैलाई थाहा भएकै विषय हो । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीका गठबन्धन हुनु, नेकपा एमाले चोइटिएर नेकपा एस पार्टी बन्नु र पार्टीभित्र नै अन्तर्घात लगायतका अनेक कारण छन् । केही नयाँ पार्टीका उदय हुनु र राप्रपाजस्तो राजावादी पार्टीसँगको चुनावी गठनबन्धन पनि एमालेका निम्ति प्रयुत्पादक भयो कि भन्ने राजनीतिक विश्लेकषकका तर्क आफ्नै ठाउँमा छन् ।
२०८० लाई नेकपा एमालेले आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरि अघि बढिसकेको छ । यही भाद्र १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सभा हलमा सम्पन्न हुँदैछ । नेकपा एमालेको आफ्नो पार्टी जीवनमा यो प्रादेशिक अधिवेशन विविध पक्षका कारणले महत्वपूर्ण र ऐतिहासिक हुँदैछ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो अधिवेशन गर्ने भएकाले पनि नेकपा एमालेको पार्टी जीवनमा नयाँ सन्देश प्रवाह गर्नेछ ।
भौगोलिक रुपमा १२ जिल्लामा विभाजित यो प्रदेशमा एक सय नौ पालिकाहरु छन् । २२ हजार दुई सय ८८ वर्ग किलोमीटर क्षेत्रफलमा रहेको यो प्रदेशको नक्सा करिव नेपालसँग मिल्दाजुल्दो भएकोले मिनी नेपालको संज्ञा दिने गरिन्छ । पूर्वी रुकुमको पुथा हिमालदेखि नवपरासीको सुस्तासम्मको भूभाग यसै प्रदेशमा समाहित छ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये २०७९ को निर्वाचनमा गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु, बाँके, दाङ र प्यूठान गरी सात वटा जिल्लामा पहिलो पार्टी बन्ने अवसर प्राप्त गरेको थियो । २६ वटा संघीय निर्वाचन क्षेत्रमध्ये ११ जना प्रत्यक्ष र ११ जना समानुपातिक सांसदहरु छन् । प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकतर्फ गरी २९ जना सांसदहरु छन् । २०७४ सालमा नेकपा एमालेका वर्तमान महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । २०७९ को निर्वाचनपछि पार्टीका पोलिटब्यूरो सदस्य लिला गिरी छोटो समयका लागि मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको कार्यभार र त्यसको दिशानिर्देश अन्य प्रदेशका लागि मात्र होइन, देशकै निम्ति सन्देशमूलक हुन सक्छ । गौतम वुद्धको जन्मस्थल एवम् पवित्र भूमि लुम्बिनी प्रदेशले नेकपा एमालेको पहिलो अधिवेशनले चुनिने र चुन्ने अवसरमात्र दिने छैन । यसले सिंगो राष्ट्रलाई नै नयाँ सन्देश र जिम्मेवारी थप्ने देखिन्छ ।
लुम्बिनी प्रदेश नेकपा एमालेको पकड भएको क्षेत्र हो । पहिलो अधिवेशनले सही नीति तय गर्दै अब्बल नेतृत्व दिन सकेमा पार्टीले सञ्चालन गरेको मिसन ८४ को लक्ष्य पूरा गर्दै देशकै बलियो खम्बा बन्न सक्ने देखिन्छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरु यतिबेला पार्टीको केन्द्रीय नेतृत्वमा देखिन्छन् । उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा लुम्बिनी प्रदेशकै हुन् । कर्मथलो जहाँ भएपनि लुम्बिनीकै बीऊ हुन् उनीहरु । लुम्बिनीलाई कस्तो बनाउने योजना उनीहरुसँगै पक्कै होला ।
पार्टीको पहिलो अधिवेशनका लागि एक हजार चार जना प्रतिनिधिहरु भाद्र ९ गते नै छनौट भइसकेका छन् । उनीहरु पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने पहिलो अधिवेशनमा सहभागिता जनाउन भाद्र १६ गते विहान बुटवल आइपुग्ने छन् । अधिवेशनमा पेस हुने प्रगति प्रतिवेदन सुन्ने छन् । भावी योजनाहरुका बारेमा छलफल गर्नेछन् । आफ्ना विचारहरु प्रस्तुत गर्ने छन् । नीति, योजना र कार्यक्रमहरु पास गर्दै नयाँ नेतृत्वका निम्ति अघि बढ्ने छन् ।
नेतृत्व, सामुहिक हुनेछ । नेतृत्वका लागि सहभागी प्रतिनिधिहरु सबै योग्य हुनेछन् । कसैले कसैलाई नेतृत्वबाट रोक्ने कुरा हुने छैन । नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकोले लोकतान्त्रिक विधिलाई प्राथमिकताका साथ लागू गर्नु उसको दायित्व हुनेछ । दुई दिने अधिवेशनमा सहमतिका नाममा हप्ता दिनसम्म लाग्ने गरी प्रतिनिधिहरुलाई बन्धक बनाउँदै सीमित नेताहरुले कोठामा बसेर नेतृत्व चयन गर्नु कुनै हालतमा पनि हितकर हुने छैन । लोकतन्त्रकै सुन्दरता भनेको निर्वाचन हो । चाहे त्यो पार्टी जीवनमा होस् वा संसदीय फाँटमा किन नहोस् ? इच्छुक प्रतिनिधिहरुले बाक्सा थाप्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हुनेछ । यतिबेला केन्द्रीयता प्रयोग हुनु उत्तम ठानिदैन । यसो भनिरहँदा नेतृत्वका लागि नेताहरुले सहमतिका लागि पहल र अभ्यास गर्नुमा अनौठो मान्नु हुँदैन ।
नेतृत्वमा प्रतिशत्का आधारमा महिला, दलित, आदिवासी र युवाहरुको प्रतिनिधित्व हुने बाटो खुलेको छ । यसले पनि नेकपा एमालेलाई नयाँ उर्जा दिन सक्ने छ । तर कस्ता प्रतिनिधिहरुलाई पार्टीको नेतृत्वमा लैजाने भन्ने कुरा प्रतिनिधिहरुको कर्मशीलता, जिम्मेवारीवोध, कर्तव्यनिष्ठा र योग्यता एवम् क्षमतालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यतिबेला प्रतिनिधि बन्न नपाउँदा पार्टीका केही नेता, कार्यकर्ता र सदस्यहरु दुःखी भएका छन् । प्रतिनिधि बन्नका निम्ति छनौटका आधार तयार नहुँदा उनीहरुमा पार्टी र नेतृत्वप्रति घृणा जागेको छ । पार्टी नै छाड्नेसम्मका गतिविधिहरु हुन थालेका छन् ।
एउटा नेता वा कार्यकर्ता बनाउन वा जन्माउन कति समय लाग्छ होला ? उनीहरुको योगदान पार्टीमा कति रह्यो होला ? पार्टीका निम्ति दिएको आर्थिक सहयोग कति पुग्यो होला ? पार्टीले प्रतिनिधि छनौटका आधारहरु स्पष्ट तय गर्न सकेको भए पार्टीका साथीहरुले आफ्नो मूल्यांकन आफै गर्थे र प्रतिनिधि हुने वा नहुने आफै निधो गर्थे । न आधार तयार गर्ने न चुनिनका लागि बाक्सा थाप्न दिने ? यसै कारणले समेत मिसन ८४ लाई घाटा पुग्न सक्नेछ । बेलैमा नेतृत्वले बुझेन भने पार्टीको क्षयीकरण हुन सक्छ !
धेरैको बुझाइ, प्रदेश कमिटी नेताहरुलाई थन्को लगाउने ठाउँ हो । समन्वयकारी भूमिका निर्वाह गर्ने संगठन हो । थानको मान राख्ने थलो हो । काम गर्नु नपर्ने तर मर्यादामा माथि नै पर्ने प्रदेश कमिटी हो भन्नेहरु प्रशस्तै भेटिन्छन् । प्रदेश कमिटीमा रहनुभन्दा बरु गाउँ वा नगर कमिटी नै ठीक भन्नेहरु पनि छन् । त्यसो हो भने प्रदेश अधिवेशनका लागि प्रतिनिधिहरु आउनका लागि किन छिनाझपटी त ? कि स्यालले चील आयो भनेर कराउने र कुखुरा झम्टिने योजना हो नेताका ? प्रदेश कमिटीलाई पार्टीको विधानले पक्कै कमजोर बनाएको छैन र हैन पनि ।
अझ प्रदेश कमिटीका अध्यक्षको हैसियत पार्टीमा पोलिट् ब्यूरो सदस्य सरह हुने भएपछि केन्द्रीयस्तरका नेताका आँखा लाग्न थालेको छ । नेतृत्वका लागि नेताहरु तयार हुनुलाई अन्यथा ठान्नु हुँदैन । पार्टीको काम नेतृत्व तयार पार्नु र हस्तान्तरण गर्दै जानु समेत हो । त्यसका लागि पनि समय, अवस्था र परिस्थिति आउनु पर्ने देखिन्छ ।
यतिबेला लुम्बिनी प्रदेशको पार्टी इन्चार्जमा केन्द्रीय सचिव पद्मा अर्याल आइपुगेकी छन् । केपी ओलीको मन्त्रीमण्डलमा मन्त्री रहेकी उनी अनुशासनमा कडा र व्यवहारमा नरम छिन् । अधिवेशनमा कुनैपनि गुट नचल्ने भन्दै सम्पादकहरुसँग बुटवलमा कुरा गरिसकेकी छन् । पार्टीको प्रदेश अध्यक्षमा पाका पुराना नेता राधाकृष्ण कंडेल छन् । २०७० सालमा पूर्वी पाल्पाबाट चुनाव जितेर संघीय सांसद भइसकेका छन् । सीधा कुरा, प्रष्ट विचारका धनी कंडेल शालीन नेताका रुपमा परिचित छन् ।
भाद्र १६ र १७ गते पहिलो अधिवेशनले नेतृत्व छनौट गर्नेछ । त्यसका लागि सबै प्रतिनिधिहरुले आफ्नो मत प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने देखिन्छ । सहमति वा निर्वाचन दुबै विधि प्रयोग हुन सक्नेछन् । यसका लागि निर्वाचन मण्डल र नेतृत्वका बीच आवश्यक प्रक्रियाका कामहरु हुनेछन् ।
प्रतिनिधिहरु थपडी बजाउने र नेतृत्व थपडी खाने खालकोभन्दा पनि अब्बल नेतालाई (जसले पार्टीको नीति, सिद्धान्त, विचार, कार्यक्रम र पार्टीका कार्यकर्ताहरुको भावना बुझेको हुनुपर्नेछ ।) नेतृत्व दिन सकेमा नेकपा एमाले, लुम्बिनी प्रदेशको मुहार उज्यालो हुनेछ । मिसन ८४ मा लुम्बिनी प्रदेशले संघीय सरकार बनाउन सहज गराउन सक्ने छ । आफ्नै नेतृत्वमा प्रदेश सरकार स्थायी रुपमा पाँच वर्षसम्म सञ्चालन गर्नका लागि स्पष्ट बहुमत ल्याउन सक्नेछ । स्थानीय तहमा भारी मतका साथ धेरै पालिकाहरुको नेतृत्व गर्नेछ ।
नेकपा एमालेप्रति चौतर्फी घेराबन्दीको अवस्थामा नेतृत्वको भूमिका उत्कृष्ट र अब्बल हुनुपर्छ । नेकपा एमालेको आफ्नो राजनीतिक जीवनमा यतिबेला विषमपरिस्थिति छ । केन्द्र र प्रदेश सरकारबाट पार्टी विमुख भएको अवस्था छ । संख्यात्मक रुपमा स्थानीय सरकारमा नेतृत्व कम छ । शक्ति राष्ट्रहरुको साथ र समर्थन खासै छैन तरपनि प्रिय नेपाली जनताहरुको अपार स्नेह र ममता भने नेकपा एमालेप्रति घटेको छैन ।
लुम्बिनी प्रदेशको राजनीतिक विरासतलाई जोगाउँदै देशकै नमूना एवम् समृद्ध प्रदेशका रुपमा लैजाने खालको नेतृत्व अब आउला ? प्रतिनिधि बनेर आएका नेता, कार्यकर्ताहरुले त्यस्तो खालको नेतृत्व चयन गर्ने अवसर पाएमा गर्लान् ? वा अवसर नै नपाउलान् ? प्रश्न धेरैका यहीनेर छन् । भलै जे होस् । नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनले सुझबुझका साथ आफ्नो नीति पास गर्दै अब्बल नेतृत्व चयन गर्ने छ भन्ने आशा र अपेक्षा गरौं ।
प्रतिक्रिया