बुटवल । डेङ्गुको संक्रमण फैलिएपछि विभिन्न संघ संस्थाले डेङ्गु नियन्त्रणको प्रयास जारी राखेका छन् । यही क्रममा आइतबार युनिक मुभिजको आयोजनामा बुटवल–१७ मोतिपुरमा रहेको मोतिपुर माध्यमिक विद्यालयमा डेङ्गु नियन्त्रण तथा यसबाट बच्ने उपायको बारेमा पछुतो नामक सडक नाटक गरेर सचेतना फैलाइएको छ ।
सो अवसरमा मोतिपुर माध्यमिक विद्यालयका प्रध्यानध्यापक लक्ष्मण मरासिनीले डेङ्गुलाई महामारीको रुपमा फैलिन नदिन जनस्तरबाटै चेतनास्तर वृद्धि गराउन आवश्यक रहेको बताए । सबै स्थानीय तहले टोल–बस्तीसम्म पुगेर डेङ्गु रोगविरुद्व सचेतना फैलाउनाका लागि यस्ता सडक नाटक देखाउन पर्ने जरूरी रहेको उल्लेख गर्दै उनले सचेतनामूलक नाटकले समाजमा सिधा प्रभाव पार्न सक्ने दाबी गरे । मेतिपुर स्वास्थ्य चौकी इन्चार्ज कल्पना पौडेलले रुपन्देहीका सवै स्थानीय तहहरुमा यसरी नै सडक नाटकको माध्यमबाट सचेतना फैलाउँदा प्रभावकारी हुन सक्ने उल्लेख गरिन् । कार्यक्रममा मदरल्याण्डका सञ्चालक हरिहर श्रेष्ठ, मणिरत्न भण्डरी लागायतले नाटकमाथि टिप्पणी तथा शुभकामना व्यक्त गरेका थिए ।
सडक नाटकले ‘डेङ्गु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो ।’–भन्ने सन्देश दिएको थियो । वर्षात्को समयमा पानी परिरहने र आफ्नो घर वरपर फालिएका खाली बट्टा, सिसी र सिसीको बिर्को, गिलास, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना फालिएका भाँडा, गमला आदिमा पानी जम्न नदिने र यदि पानी भएमा फालेर भाडाहरू सफा गरी घोप्टाउनुपर्छ र सुक्न दिनुपर्छ भन्ने सन्देशसहित कलाकारहरुले प्रस्तुती दिएका थिए।
नाटकको लेखन तथा निर्देशन बाबुराम घिमिरेले गरेका थिए भने अभिनयमा विजय पोखरेल, विरवल शर्मा, कमल गुरूङ, सुमित्रा चापागाइ, विमला गैरे र अन्जु गैरे रहेका थिए । नाटकलाई युनिक मुभिजले संयोजन गरेको थियो ।
प्रतिक्रिया