ताजा अपडेट »

बाख्रालाई ‘माता’ मानेर पूज्ने गुल्मीको गाउँ

सोमबार, ११ भदौ २०८०

गुल्मी । केही समयअघि धरानमा गौहत्याको घटनापछि फैलीका विभिन्न टिकाटिप्पणी अझै पनि कायम नै छ । धार्मिक तथा सामाजिक परम्परासँग जोडेर उक्त घटनाको समर्थन र विरोधमा आवाज उठाउनेहरु अझै पनि मत्थर भएका छैनन् ।

तर, गुल्मीमा यस्तो समाज पनि छ जहाँ बाख्रालाई ‘माता’ मानेर पूजा गर्ने गरिन्छ । उक्त समाजले बोका बाख्राको हत्या गर्दैनन्, बरु उनीहरुलाई पूज्ने गर्दछन् । गुल्मीको कालिगण्डकी गाउँपालिकामा रहेक केही मगर समुदायले बाख्रालाई माता समान मानेर पूज्दै आएका छन् ।

वडा नम्बर–५ फोक्सिङ्गका चितैरे थरका राना मगर समुदायले बाख्रा तथा खसी बोकाको हत्या नगर्ने परम्परा रहेको वडाका वडाध्यक्ष दानबहादुर रानाले बताए । उनका अनुसार परापूर्व कालमा नवजात शिशुकी आमाको मृत्युपछि बाख्राको दूध खुवाएर ती शिशुलाई हुर्काइएको थियो । उक्त घटनापछि त्यस समुदायले बाख्रालाई भगवान सरह मानेर पूज्न थालिएको उक्त समूदायका मानिसहरु बताउँछन् । घरमा बोका बाख्रा पालन गरे पनि किन्न आउने ग्राहकलाई समेत मासु प्रयोजनका लागि विक्रि नगर्ने उनीहरु बताउँछन् ।

चितैरे थरका मात्रै होइन अन्य रानाहरु समेत बाख्राका हत्या नगर्ने परम्परा रहेको गाउँपालिका अध्यक्ष बेद बहादुर थापा बताउँछन् । उनका अनुसार कालीगण्डकी वडा नम्बर ४ पुर्तिघाटका राना समुदायले बाख्रालाई आमा वा दिदि मानेर पूज्ने प्रचलन रहेको छ । यसैगरी वडा नम्बर–३ जयखानीका श्रीस मगर र वडा नम्बर–२ अर्बेनीका पुन मगरहरुले समेत बाख्राको हत्या नगर्ने प्रचलन रहेको उनले बताउ ।

उक्त समुदायिमा पूजापाठ गर्दा चामलको पिठो भिजाएर गाई, गोरुको पर्तिमूर्ती र दाम्लो बनाई तिनै प्रतिमूर्तिलाई बलि चढाएर मात्र अन्य पूजापाठ गर्ने प्रचलन रहेको छ । यहाँ पाका पूर्खाहरुको भनाई अनुसार जनजाती बाहुल्य रहेको यस ठाउँमा कुनै समय सुङ्गुरको बलि दिने प्रथा थियो । यहाँका आदिबासी जनजातिहरुले दशैमा चामलको सेतो टीका लगाउने प्रचलन थियो । आर्यमुलको बाहुल्यता बढेपछि भने बिजया दशामीका रुपमा राँगा, पाठाको बली दिने प्रचलन सुरुभयो ।