ताजा अपडेट »

राज्य सञ्चालकहरु गैरजिम्मेवार बन्दा अराजगता फैलिँदै छ : एमाले सचिव अर्याल

सोमबार, ११ भदौ २०८०
1 Shares

बुटवल । नेकपा एमाले केन्द्रीय सचिव एवम् लुम्बिनी इन्चार्ज पदमा अर्यालले राज्य सञ्चालकहरु नै गैर जिम्मेवार बन्दा मुलुकमा चरम आर्थिक संकटले जनतामा निराशा र अराजकता पैदा भएको आरोप लगाएकी छन् । सरकारको असफलताले मुलुक पनि असफल बन्दै गएको टिप्पणी गर्दै अर्यालले चरम आर्थिक संकटका कारण नागरिकहरु विदेशीनु पर्ने तथा व्यवसायीहरुले आत्महत्याको बाटो रोज्नु पर्ने परिस्थितीको सिर्जना भएको बताउँदै चिन्ता व्यक्त गरिन् ।

बुटवलमा आयोजना हुन लागेको पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशन बारे सोमबार विहान यहाँका सम्पादकहरुसँगको छलफल अर्यालले देशको अर्थतन्त्र उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरिन् । नेतृ अर्यालले अहिलेको परिस्थिती सिर्जना हुनुमा गठबन्धन सरकारनै प्रमुख कारक भएको उल्लेख गरिन् । ‘मुलुकमा जे दूरदशा हुँदै छ, यो सम्पूर्णको कारकतत्व गठबन्धन नै हो । राज्यको मिसन मुलुक बनाउन हैन एमाले सिध्याउने तर्फ छ ।’-अर्यालले भनेन् ि।

पूर्व मन्त्री समेत रहेकी अर्यालले सरकारलाई भ्रष्टारसम्बन्धी सबै फाइलहरु खोलेर अनुसन्धान गर्न आग्रह गरेकी छन् । सरकारले एमालेलाई जोडेर भ्रष्टारका एकपछि अर्को फाइल खोल्दै गएपनि गल्ती भेट्न नसकेको बताउँदै उनले अरु फाइलहरु पनि खोलेर पार्टीको कही कतै कमजोरी भएर बाहिर ल्याउन चेतावनी दिए । सरकारले सुनकाण्डको अनुसन्धानमा आफ्ना मान्छेका खल्ती तिर सोझिएपछि त्यसलाई रोकेको समेत आरोप लगाइन् । सरकारले आफ्ना मान्छेहरुको बचाउमा लागेको आरोप लगाउँदै उनले एमालेलाई सिध्याउने खेलमा लागेको आरोप लगाइन् । ‘एमालेसँग जोडेर जे प्रचार गरिँदै छन् सकेको गर । सबै फाइल खोल ।’–भ्रष्टार सम्बन्धि अनुसन्धानमा सरकारलाई कमजोरी भेटाउन चुनौती प्रस्तुत गर्दै उनले भनिन् ।

यसैबीच लुम्बिनी प्रदेश अधिवेशनको सन्दर्भमा अर्यालले प्रदेश अधिवेशनबाट नेतृत्व चयन गर्दा केन्द्रको नेतृत्व कुनै उम्मेदवारको पक्षमा नलाग्ने बताएकी छन् । उनले पार्टीभित्र कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । अर्यालले सकेसम्म सहमतिमा नेतृत्व चयन हुने र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामा चुनाव हुने स्पष्ट पारिन् । शीर्ष नेताहरू स्वयम कुनै गुट नबनाएको तर बीचका नेताहरुले आफ्नो स्वार्थ पुर्तिका लागि आफू अनुकुलका उम्मेदवारको पक्षमा लबिङ गरेको बताइन् ।

सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा संगठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको बताइन् । ‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन ’– उनले भनिन् –‘ उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले गुट बनाउने कुरा असम्भव हो ।’

उनले गुट सिर्जना गर्न खोजको हल्ला वाहियात भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दाबी गरिन् । तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्, त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत र वाहियात छ, त्यो हुनै सक्दैन’ उनले भनिन् ।

एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्न लागेको विषयमा नेतृ अर्यालले रुपन्देहीमा रहेका विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तर संवाद गरेकी हुन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने उनले जानकारी दिइन् ।