ताजा अपडेट »

आर्थिक अभावले अवसर पाउँदैनन् थारु तथा मधेसी महिला

सोमबार, ११ भदौ २०८०

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ४ की कान्तिदेवि तेलिनले आर्थिक अभावका कारण नेतृत्व तहमा मधेसी महिलाले अवसर नपाएको गुनासो गछिन् । रातदिन नभनि हरेक क्षेत्रमा योगदान पु¥याएका महिलाहरु आर्थिक अभावले नेतृत्व तहमा पुग्न नसकेका उनले गुनासो गछिन्।

शिक्षा र कमजोर आर्थिक अवस्थाका कारण राजनीतिमा महिलााहरु मुख्य पद पाउनबाट बन्चित भएको उल्लेख गर्दै उनले मधेशी समुदायका महिलालाई राजनितिमा आउन पारिवारिक सहयोग नमिलेको बताइन्। तेलिनले मधेशी महिलाका लागि हरेक क्षेत्रमा कोटामा मात्र सिमीत राखेर पद दिने गरेकोले धेरै महिला पछि परेको भन्दै आफु सक्षम हुँदाहुँदै पनि ‘पुरुषवादी सोच’ले महिला तल्लो तहमा बस्नुपर्ने बाध्यतामा रहेको आरोप लगाए।

राजनीतिमा तल्लो तहबाट सक्रिय रुपमा पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै हाल एमाले गैडहवा गाउँ कमिटी सदस्य रहि दुई कार्यकाल उहाँले काम गरेको अनुभव छ । तेलिनले भनिन्—‘स्थानीय तहमा महिलालाई प्रमुख पदका लागि पार्टीले टिकट दिदैन, उपप्रमुख पदका लागि राजनीतिक दलका नेताका नजिकका आपmन्तलाई नै टीकट दिइएको हुन्छ ।’ ४० वर्षिया तेलिन एकल महिला हुन् । पाँच वर्ष अघि मात्रै उनको श्रीमानको निधन भएको थियो । उनका परिवारमा दुई छोरा र एक छोरी छन् । अपाङ्गताको समेत समस्या झेलिरहेकी तेलिन विगत २० वर्ष देखि नेकपा एमालेमा आबद्ध छिन्।

त्यस्तै रुपन्देहीको रोहीणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमारले राजनितिक यात्रा सुरु गरेको करिब १५ भयो । रोहीणी गाउँपालिका १ घर भएकी ४० वर्षीया चमार राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउनुअघि घरेलु जीवनमा व्यस्त हुने गर्थिन् । मधेशी समाज र त्यसैमाथि, महिला, महिलामा पनि दलित महिला । विशेषगरी केही वर्ष अघिसम्म मधेशी महिला, छोरी वा बुहारी बाहिर निस्केर केही गरौँ भन्ने वातावरण नै नभएको उपाध्यक्ष चमारको भनाइ छ । उनी भन्छिन—“ छोरी मान्छे पढ्न हुन्न, बुहारीहरु घुम्टो ओढेर बस्ने, घरधन्दा राम्रोसँग चलाउनुपर्छ भन्ने संस्कार थियो, जसले गर्दा म पनि परिवार सम्हाल्न र छोराछोरी हुर्काउन व्यस्त भए ।

यद्यपि, उनको परिवारमा श्रीमान् र ससुरा भने राजनितिमा सक्रिय थिए । समय परिवर्तन हुँदै गएपछि परिवारपनि राजनीतिमा भएका कारणले उनीलाईँ पनि राजनीतिमा लाग्न प्रेरणा मिल्यो् । उनले दलितलाई कोटामा मात्र सीमित गर्ने परम्परा महिलाहरुले तोड्न आवश्यक रहेको उल्लेख गरिन् । कक्षा ५ सम्म अध्ययन गरेकी चमार दोस्रो पटक रोहीणी गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर काम गरिरहेकी छिन् । उपाध्यक्ष भइसकेपछि महिलाहरुका लागि छोरी जन्मिदा रु.२० हजार बराबरको बीमा, सुत्केरी भत्ता र आय आर्जनमा जोड्नका लागि सिलाई कटाई तालिम सञ्चालन गरिरहेको जानकारी दिइन्। त्यस्तै समस्या सैनामैना —२ की ४४ वर्षीया विष्णु थारुको पनि छ । राजनीतिमा नेतृत्व गर्न नपाउँदा काममा सन्तुष्टी नमिलेको उनी बताउँछिन्।
राजनीतिक तहको पदीय दायित्वबाट बञ्चित हुनुपर्ने बाध्यताले नेतृत्व तहमै पुगेर काम गर्ने इच्छा अधुरो भएको उनले सुनाइन् । सामान्य परिवारमा जन्मिएकी थारुको बाल्यवस्थामै विवाह भयो । सोही ठाउँ निवासी राम बहादुर थारुसँग १५ वर्षको उमेरमै विवाह वन्धनमा बाधिनुका साथै सानै उमेरमा नै आमा समेत बनिन् ।

आर्थिक अभाव र बाल्यवस्थामै विवाह गरिदिने प्रचलनले विष्णुले माइतीघरबाट सामान्य लेखपढको शिक्षा समेत पाउन सकिन् । हाल उहाँको परिवारमा श्रीमान र पाँच छोरी छन् । विष्णुको परिवारमा श्रीमान राम बहादुरले काठ मिस्त्री गरेरै घर खर्च चलाउछिन् । विष्णु गृहणीसँगै नेकपा एमालेमा वि.स २०७२ सालदेखि क्रियाशिल सदस्यको रुपमा काम गर्दै हाल वडा नम्बर २ को वडा कमिटी सदस्य हुन् । करिब ८ वर्षको समयमा उनले पार्टीका विभिन्न जिम्मेवारी सम्हालेर काम गरेको अनुभव छ । ‘परिवारबाट पनि पूर्ण सहयोग पाउन हाम्रो समुदायमा अझै पनि मुस्किल छ’ उनले भनिन् । शुद्धोधन गाउँपालिकाकी पुष्पा चौधरी लुम्विनी प्रदेशसभाकी पूर्व सदस्य हुन् । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले प्रदेशसभा सदस्यको हैसियतबाट प्रदेशसभामा पहिलो एजेण्डा थारु जातिलाई लाग्ने वंशणुगत रोग सिकलसेल ऐनेमिया, र थालेसेमियाको बारे आवाज उठाएको जिकिर गरिन् ।

सदनमा उठाएको विषयले प्रदेश सरकारको पनि ध्यानाकर्षण भएर राप्ती अस्पताल र लुम्बिनी प्रादेशिक अस्पातलमा रगत परीक्षण औषधी तथा उपचार लगायत निशुल्क सुविधा दिने निर्णय भएको उनले बताइन् । चौधरी भन्छिन् ‘हामीलाई राजनीतिमा नेतृत्व गर्न पुरुषलाई जस्तो सहज अवस्था छैन, त्यसैले त्यसका लागि संघर्ष गर्नुपर्छ ।’ रुपन्देहीको गैडहवा गाउँपालिकाकी उपाध्यक्ष मधुरी जैसवालको परिवार पनि राजनीतिक परिवेशको थियो । जसकाकारण राजनीतिमा आउन उनलाई सहज भयो । ३७ वर्षकी मधुरी जैसवालको पढाइ ८ सम्मको मात्र छ । जैसवालको एक छोरा र एक छोरी छन् । श्रीमान् राजनीतिककर्मी हुन् ।
वि.स २०७४ सालको स्थानीय निर्वाचनमा जैसावालकी सासु उपाध्यक्षमा पराजित भइन् ।

राजनितिक पारिवारिक पृष्ठभुमिमा रहेकी उनलाई २०७९ सालको स्थानीय चुनावमा परिवारको सुझाव, सल्लाह र सहयोगमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय भयो । त्यस समयमा पार्टीमा अवसर पाए चुनावी मैदानमा आउने अठोट राखेर अघि बढ्न थाले । टिकट पाउन पार्टीभित्र पनि महिला महिलाबीच प्रतिस्पर्धा थियो, तर मैले ने उपाध्यक्ष पदको टिकट प्राप्त गरे । उनले महिलालाई पुरुषसरह सहज नभएको आफ्नो अनुभव बताइन् । निर्वाचित भएपछि उहाँले बजेट तथा योजना बनाउने कार्यदेखि महिला लक्षित कार्यक्रमलाई मुख्य प्राथामिकता दिइन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले गैडहवा गाउँपालिकामा महिलाहरुका लागि करिब रु.८० लाख बराबरको बजेट छुट्टाइएको जानकारी दिए । तर जातीगत रुपमा कुन समुदायका महिलाका लागि मात्र भनेर बजेट विनीयोजन निश्चित नगरिएको उनले बताए । उक्त पालिकामा ८० प्रतिशतको हाराहारीमा मधेशी समुदायको बाहुल्य छ । लुम्विनी साँस्कृतिक नगरपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख विनीता शाहले आर्थिक वर्ष २०८०/०८१ मा सो शाखाका लागि रु.७ लाख बजेट मात्र विनीयोजन गरिएको जानकारी दिइन् । उनले पालिकामा उपप्रमुखसँग महिला कार्यक्रम, मेयर कन्या विवाह योजना ( कक्षा ९ सम्म अध्ययन गरेका र २० वर्ष उमेर पुरा भएर विवाह गरि विवाह दर्ता भएको खण्डमा पालिकाले नगद रु.३० हजार प्रदान गर्दै आएको उल्लेख गरिन् ।

सुकन्या धन योजना— बालिकाको जन्म भइसकेपछि ३ महिना भित्र जन्म दर्ता बनाएको खण्डमा नगरपालिकाले रु.२० हजार र घर परिवारको रु.५ हजार गरी कूल रु.२५ बराबरको बंैक खाता सञ्चालन गर्ने व्यवस्था ) र महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम रहेको समेत उनले बताइन् । अघिवक्ता गोमती सुनारले नेपालको संविधानले महिला, दलित, सिमान्तकृत वर्ग र पिछडिएको समुदायका लागि अधिकारको व्यवस्था गरेको भएपनि पूर्ण रुपमा कार्यान्यवन नभएको बताइन् । वि.स २०७२ सालको संविधानले नै स्थानीय तहमा प्रमुख वा उप्रमुखमा एकजना महिला अनिवार्य तथा वडामा २ जना महिला अनिवार्य हुनैपर्ने व्यवस्था गरेको छ, तर अर्थपूर्ण सहभागिता हुन नसकेको उनले बताइन् । अधिवक्ता सुनारका अनुसार स्थानीय तहमा सन्तोषजनक देखिएपनि संघ र प्रदेश सभामा ३३ प्रतिशत महिला सहभागिता पुगेको छैन । थारु कल्याणकारिणी सभा रुपन्देहीकी सदस्य प्रेम कुमारी थारुले महिलाहरु अध्यक्ष वा मुख्य पद पाउन योग्य भएपनि सहज रुपमा नेतृत्व पाउन कठिन भएकोे बताउँछिन्।

मधेशी समुदायको हक अधिकार स्थापित गर्नका लागि पछिल्लो समय महिलाहरु पार्टीमा सक्रिए भएको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष सियाराम यादव बताउँछन् । उनले भने— “पार्टीले वडा, नगर, क्षेत्र र जिल्लामा महिला सहभागिता अनिवार्य गरेको छ,भने समानुपातिक कोटामा महिलालाई प्रमुख प्रथामिकता दिइएको छ । नेतृत्व तहमा पुर्याउनका लागि समय समयमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भइरहेको अध्यक्ष यादवको भनाइ छ । नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष तेजेन्द्र केसीले थारु र मधेशी महिलालाई नेतृत्वमा ल्याउनको लागि कार्ययोजना बनाएर पार्टी अघि बढेको बताए ।

नेपाली काङ्ग्रेसले समावेशीतालाई आत्मसात् गरेर अघि बढिरहेको जिल्ला सभापति रामकृष्ण खाँणको भनाइ छ । उनी भन्छन् —काङ्ग्रेस एउटा खुल्ला किताब हो, जहाँ आदीवासी, जनजाती,मधेशी, मुस्लिम, र दलित एवम् खुल्ला रुपमा पनि तल्लो निकायदेखि केन्द्रसम्म आठ कलस्टर रहेको छ । तिलोत्तमाका नगरप्रमुख समेत रहेका खाँणले थारु एवम् मधेशी समुदायबाट जिल्ला, प्रदेश एवम् केन्द्र तहमा महिलाहरुले पनि नेतृत्व लिन सफल भएको छ ।’ पछाडि पारिएका मधेशी, थारु महिलाहरुलाई नेतृत्व तहमा ल्याउन पार्टी प्रतिबद्ध रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष निर्मल जिसीले बताउँछन् ।

रुपन्देहीका सबै पालिकामा महिलाहरुले प्रतिनिधित्व गरेका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीका सबै पालिकामा महिला उपप्रमुख छन् । जसमध्ये थारु एक पालिकामा उपप्रमुख र दुई गाउँपालिका उपाध्यक्ष पदमा छन् । त्यस्ते मधेशी महिलातर्फ एक पालिकामा उपप्रमुख र ६ गाउँपालिकामा उपाध्यक्ष पदमा छन ।