ताजा अपडेट »

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

आइतबार, १० भदौ २०८०

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदैछ ।

आजका लागि अन्तिम पेसीका रुपमा निर्धारण गरिएको उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज सुनुवाई हुने भएको छ ।

सन्दीपविरुद्ध एक युवतीले बलात्कार भएको भन्दै मुद्दा दिएकी थिइन् ।

यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ र उनको आमाको समेत उमेर विवाद देखिएको भन्दै गत साता गौशाला २६ को परिवारले बसाईसराई गर्दा पेश गरेको कागजातको प्रमाणित प्रतिलिपि र उनकी आमाको उमेर खुल्ने कागजात अदालतमा पेश गर्न आदेश दिएका थिए । 

त्यससँगै क्रिकेटर सन्दीप लामिछानेले बयानका क्रममा अदालतमा बुझाएको किशोरीको जन्म दर्ता किताबको प्रतिलिपिको जाँच गर्न पनि इजलासले आदेश दिएको थियो । 

अदालतको आदेशअनुसार सन्दीपले बयान दिने क्रममा किशोरीको जन्म दर्ता किताबको प्रतिलिपि आफूलाई कुनै शुभेच्छुकले दिएको र त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए ।