माघ १३,
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता-२०७६ अन्तर्गत सोमबार सम्पन्न ग्रुप डी अन्तर्गतको खेलमा तिरुपति क्लब भैरहवा विजयी भएको छ ।
तिरुपतिले वेस्टर्न क्रिकेट क्लब बुटवलाई ८ विकेटले पराजित गरेको हो । सोमबारको खेलमा पराजित भएसंगै वेस्टर्न क्रिकेट क्लब डिभिजन 'बी' मा घटुवा भएको छ । निर्धारित ३० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको वेस्टर्नले १४ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४४ रन बनायो । उसका लागि दिप्शन थापाले ८ र रञ्जित खड्काले ६ रनको योगदान दिए । वेस्टर्नले २० रन अतिरिक्त रनको रुपमा पाएको थियो । बलिङमा तिरुपतिका महेन्द्र सुवेदीले ४, तुल बहादुर थापाले ३, सुलभ ढुंगानाले २ र राजेश रानाले १ विकेट लिए । जवाफमा तिरुपतिले ९ दशमलव ३ ओभरमा ४५ रन बनायो । उसका लागि शुशान्त सिंह थापाले २० र राजेश रानाले ११ रनको योगदान गरे । बलिङमा वेस्टर्नका अभिषेक गौतम र हर्जित सिंहले १/१ विकेट लिए । खेलमा तिरुपतिका महेन्द्र सुवेदी म्यान अफ म्याच घोषित भए । मंगलबार गु्रप सी अन्तर्गतको खेल देवदह क्रिकेट युनिट देवदह तथा साई ग्लोबल क्रिकेट क्लब भैरहवाबीच हुनेछ । नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् । -रविन्द्रप्रताप गुप्ताको सहयोगमा
प्रतिक्रिया