बुटवल । नेपाल अल्प विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि आउने चुनौतिहरुका बारेमा उद्योगी तथा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । प्रयाप्त तयारी नभई विकासशील मुलुकमा स्तरोन्नती गर्दा आत्मनिर्भरता र औद्योगिक विकासको गतिलाई परनिर्भर बनाउने खतरा बढी भएको उनीहरुले बताएका छन् ।
रुपन्देही उद्योग संघको आयोजनामा विहिवार बुटवलमा भएको छलफलमा सहभागी उद्योगीहरुले आफूहरु अल्प विकसित मुलुकबाट विकासशील मुलुक बन्न लागेमा खुशी हुने कि दुःखि हुने दुविधाको अवस्थामा रहेको बताए । उद्योग र औद्योगिक विकासको क्षेत्रमा देखिएका समस्याले उत्पादकत्वमा ह्रास आएको एवं त्यसले विकासशील मुलुकको मापदण्ड कागजी मापदण्ड मात्र हुने टिप्पणी गरे । उनीहरुले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीन वटा सूचक तय गरिएको ति सूचक दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको उल्लेख गरे । यसैगरी उद्योग उत्पादनको क्षेत्र धराशाही बनेको हुँदा पछिका दिन अझ जोखिमपूर्ण रहनेतर्फ सचेत गराए । उद्योगीहरुले अति कम विकसित देशको स्थानमा कायम रहनुभन्दा स्तरोन्नतिमा जानु काकारात्मक भएपनि अस्थिर राजनीति, उद्योग मैत्री कानुनको अभाव, चर्को लगानी ऋण र दक्ष जनशक्तिको पलायनले प्रतिस्पर्धी क्षमता भुत्ते भएर दिगो औद्योगीक विकास नहुने चिन्ता व्यक्त गरे ।
कार्यक्रममा विषय बस्तु प्रस्तुतगर्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले विकासशील मुलुकमा स्तरोन्नती गर्दा आउन सक्ने चुनौतिको बारेमा समयमै सचेत हुनु जरुरी भएको बताए । उपाध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय मञ्चमा कुनै पनि विकासशील राष्ट्रलाई हेर्ने वजन र प्रतिनिधित्वको अंश पनि बढ्नुका साथै त्यसले विदेशी लगानीलाई आकर्षण गर्न बल पुर्याउने बताए । उनले विश्व जगतलाई नेपालको अर्थतन्त्र अग्रगामी छ भनेर राम्रो सन्देश दिन र लगानीकर्ता आकर्षित गर्न पनि अब स्तरोन्नतिमा जानु जरुरी रहेको बताए । यद्यपी त्यसभन्दा अगाडि धेरै कानुनहरु परिमार्जन र निमार्णमा राज्यले ध्यान दिनु पर्ने कुरामा जोड दिए । पाण्डेले नेपालमा उद्योग क्षेत्रका समस्याहरु धेरै रहेको हुँदा स्तरोन्नतिपछि थप संकट आउन सक्नेप्रति उद्योगीहरुले देखाएको चासोलाई उद्योग परिसंघले सरकारलाई अवगत गराएको बताए । सम्पत्तिको संरक्षणमा थप कानून निर्माण तथा तिनको कडाईका साथ लागू गर्न आग्रह गरे ।
उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका लुम्बिनीउद्योग परिसंघका अध्यक्ष एजाज आलम, उद्योग परिसंघ पूर्व अध्यक्ष डम्बरदेव अर्याल, गणेश प्रसाद अधिकारी, सल्लाहाकार भुपालकुमार श्रेष्ठ, कार्य समिति सदस्य चन्द्रकान्त खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराजपोखरेल, उद्योगीहरु कन्हैयालाल कसौधन, मुकुन्द ज्ञवाली, रामप्रसाद खनाल लगायतले जिज्ञाशा र धारणा राखेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया