ताजा अपडेट »

भ्रष्टाचार विरुद्धको अभियानमा पछि नहट्न माओवादी केन्द्रलाई जनवर्गीय संगठनहरुको सुझाब

बुधबार, ०६ भदौ २०८०
2 Shares

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीका जनवर्गीय संगठन प्रमुख र केन्द्रीय नेताहरुले वर्तमान सरकार भ्रष्टाचार विरुद्धको अभियानबाट पछाडि नहट्न नेतृत्वलाई सुझाव दिएका छन् । बुधबार जिल्ला पार्टी कार्यालयमा आयोजित जनवर्गीय संगठनको बैठकमा उपस्थित प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी मार्फत प्रधानमन्त्री प्रचण्ड र मन्त्रीपरिषद्लाई कार्यकर्ताको तहबाट सुझाव दिएका छन् ।

भ्रष्टाचार विरुद्धको अभियानले कार्यकर्ता र जनस्तरमा ठूलो उत्साह आइरहेको बेला विभिन्न राजनैतिक दलका नेताहरुले आफ्ना मान्छे बचाउनका लागि अनेकन बहानाबाजी गरेको, विभिन्न माग गर्दै भाँजो हाल्ने लगायतको प्रवृतिबाट सरकार पछि हट्न खोजेकोप्रति निराशा छाएको कार्यकर्ताहरुको गुनाँसो थियो । जवाफमा माओवादी केन्द्र गुल्मीका पूर्व संयोजक समेत रहेका प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ वृद्धि जिसिले प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकार एक वर्ष बसे पनि सुशासनका पक्षमा काम गर्ने, भ्रष्टाचार विरुद्धको अभियानबाट पछाडि नहट्ने बताए । ‘यो कुरामा ढुक्क हुनुहोस् । सरकार एक वर्ष एक, महिना, वा एक घण्टा मात्रै टिकोस् भ्रष्टाचारका थप ठूला–ठूला फाइल खोलेरै छाड्ने छ ।’–उनले भने ।

यसैगरी पार्टीले तीन महिने अभियानका क्रममा आफ्नै पार्टीका कार्यकर्ता मात्र नभई सबै पार्टीमा आस्था राख्ने जनताको घरघरमा पुगेर उनीहरुका समस्या बुझ्ने र समाधानको पहल गर्ने अभियान भएको जिसीले बताए । बैठकमा सहभागी नेताहरुले भदौ १६ गतेदेखि सुरु हुन गइरहेको ‘जनतासँग ‘माओवादी विशेष रुपान्तरण अभियान’ मा केन्द्रीत हुन सबै जनवर्गीय संगठनलाई निर्देशन दिएका छन् । संयोजक युवराज केसीले अगुवा कार्यकर्तालाई यस तीन महिने अभियानमा खट्न आलटाल गर्ने बहानाबाजी बनाउने काम नगर्न निर्देशन दिए ।

अभियान कर्मकाण्डी मात्रै बनाएर उम्कीन्छु भन्ने नसोंच्न समेत अगुवा कार्यकर्तालाई चेतावनी दिए । पालिकास्तरीय बैठक भदौ १४ भित्र सकिसक्नुपर्ने, भदौ १६ गते देशैभर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित सबै नेता प्रत्येक वडामा पुग्ने ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नारा साकार पार्न सबै ज्यान एक ढिक्का भएर लाग्नुपर्नेमा केसीले जोड दिए ।

बैठकमा केन्द्रबाट गुल्मीका लागि स्थायी कमिटि सदस्य जोखबहादुर महरासहित केन्द्रीय सदस्यहरु कमल चुँदाली, भविश्वर तिवारी, गुल्मी जिल्लाका पूर्व इन्चार्ज निमाकान्त डाँगी र प्रदेश कमिटी सहसचिव पार्वती विक तीन महिने अभियानका लागि गुल्मी जिल्लामा खटिएको पार्टी सचिव अशोक थापाले बताए ।