ताजा अपडेट »

मानवता भन्दा ठूलो धर्म केही छैनः प्रदेश प्रमुख शेरचन

बुधबार, ०६ भदौ २०८०

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक कुमार शेरचनले मानवता भन्दा ठूलो धर्म केही नभएको बताएका छन् । उनले मानवताको रक्षाका लागि गरिएका मानवता प्रवर्द्धन अभियानले ठूलो धर्म कमाएको भन्दै मानिसको सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रीय पात्र बन्ने बताए । नेपाल मानव सेवा आश्रमको आयोजानमा रुपन्देहीमा सुरु भएको सप्ताहव्यापी १३ औं ज्ञान हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै शेरचनले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

वि.स. २०८२ साल भित्र नेपालाई सडक सहयोगापेक्षि मानव मुक्त घोषणा गर्ने महान अभियान लिएर अगाडि बढिरहेको मानवसेवा आश्रमको उद्देश्य र योजानको विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुर्याउने प्रतिवद्धता जनाए । वर्तमान समयमा दुःखि, गरिब, सहयोगको अपेक्षा गरेका व्याक्तिहरुको सहयोग गर्नुनै मुख्य धर्म भएको भन्दै उनले सोही अनुसार योजना बनाएर लाग्नको लागि स्थानीय पालिका, सरकारलाई आग्रह गरे । कार्यक्रममा नेपाल मानवसेवा आश्रममका संरक्षक डा. गोविन्द टण्डनले मानवता प्रवर्द्धन अभियान नेपालबाट सुरु भएर अव विश्वभर नै फैलिने बताए । उनले स्थानीय पालिकाहरुले मानवताको क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै हालसम्म १६ सय बढी व्यक्तिलाई मानवसेवा आश्रमले सेवा प्रदान गरिसकेको बताए ।

वि.स. २०६९ भदौ २३ गते स्थापना भएको संस्थाले छाटो समयमा नै देशका विभिन्न स्थानमा शाखा स्थापना गरी काम गर्दै आएको बताए । मानवसेवा आश्रम नेपालका अध्यक्ष तथा अभियान्ता रामजी अधिकारीले सबैको साथ र सहयोग भएमा नेपाल वि.स. २०८२ साल भित्रमा सहयोगापेक्षी मानव मुक्त सडक घोषणा हुने बताए । उनले घोषणा मात्रै नगरेर यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानव भएपछि मानवको सेवा गर्नुनै सबैभन्दा ठूलो पुन्यको काम भएको बताए । यस्तै सिद्धार्थनर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई प्रदान गर्दै आएको सहयोग अर्को वर्ष अझ बढाउँदै लैजाने बताइन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका प्रशिक्षक रमण भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष कमला दिदी, राष्ट्रिय अनुसन्धान कार्यालय रुपन्देहीका प्रमुख हुमाकान्त पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष राम राज पोखरेल, प्रशिक्षक डा. नेत्र आचार्य, लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुषाल, अभिभावकहरु लोकनाथ भुषाल, राजन आचार्यल लगायतले शुभकामना दिएका थिए ।

मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीका अनुसार ७ दिनसम्म चल्ने ज्ञान हस्तान्तरण कार्यक्रममा देशका ३६ वटा जिल्लाबाट १ सय ५ जना युवा युवतीहरुको सहभागीता रहेको छ । मानिस असल बनाउनको लागि के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ, समाज सेवा के हो, समाज सेवासँगैका अन्य क्रियाकलपा के के हुन लगायतका विषयमा विभिन्न प्रशिक्षकहरुले सहजीकरण गर्ने नेपाल मानवसेवा आश्रमका उपाध्यक्ष सुशिला केसीले जानकारी दिईन ।