ताजा अपडेट »

ऐया, आत्थु नभनी निराकार भयो..

मंगलबार, ०५ भदौ २०८०

दाहसंस्कार पहिले गर्नुपर्ने सम्पूर्ण धार्मिक विधी सम्पन्न भइसकेका थिए । शव दाहसंस्कारको पर्खाइमा थियो । जीवनदानको कुनै सम्भावना थिएन । दैवीय चमत्कारको आशा थिएन । एकजना पुरुष चिरनिद्रामा थियो । मुढो सरी शवदाहगृहमा आफ्नो पालो पर्खेर पल्टिरहेको थियो । उसको नाममा दर्ज भएको जीवनको अन्तिम शुल्कको चिर्कटो साथमा थियो । यो नै उसका लागि गरीएको अन्तिम भुक्तानी थियो । उप्रान्त उसको नाममा कुनै पनि बिल भुक्तान गर्नुपर्ने छैन । उसको नाममा कुनै व्ययभार वहन गर्नु पर्ने छैन । उसले कुनै पनि चिजको माग गर्ने पनि छैन । बस, उसलाई जतिसक्दो छिटो जल्नु थियो । भष्म हुनु थियो । खरानी बन्नु थियो । यो भौतिक संसारबाट मुक्ति पाउनु थियो ।

त्यहाँ खटिएका कर्मचारीहरुले शव जलाउन तर्फ तयारी गरे । शवलाई ट्रलीमा राखेर अगाडि बढाउन खोजे । ‘एकछिन…..!’ ‘रोक….!’ मलिन अनुहारमा रहेका एक जना वृद्धको चीत्कार सुनियो । झुत्रो जुत्ता र थोत्रा, गुजमुजिएका कपडा लगाएका उनी एकोहोरो लास तिर हेर्दै बरबराउदै थिए । उनमा होस हवास थिएन । घरी घरी भक्कानिइरहेका थिए । उनको मुखबाट ‘उसलाई नजलाउ…..! उसलाई नलैजाउ…..!’ भन्ने वाकांशहरुमात्र निस्किरहेको थियो । दोहोरीइरहेका थिए ।

‘मलाइ पनि सँगै लैजाउ….किन एक्लै जान लाको ? किन हामीलाई टुहुरो पारेको ?’ अर्को कुनाबाट एक अधबैँसे महिला बरबराएको स्वर गुन्जियो । अत्यन्त विक्षिप्त अवस्थामा उनी घरी चक्कर आएर पल्टने, घरी बिउझिने गरेकी थिइन् । उनीहरु जस्तै त्यहाँ रहेका परिवारका सदस्यहरु पनि विलाप गर्दैै थिए ।

तर उनीहरुका रोदन कसैले सुनेन । अनुनय विनय कसैले टेरेन । टेर्ने कुरा पनि भएन । विद्युतीय सवदाहगृह बाहिर लासका लस्कर थिए । तिर्न पर्ने दस्तुर तिरेर पालो पर्खेर बसेका । एउटा जलाएर नसकी अर्को भित्र लग्न नमिल्ने । शव जलाउन खटाइएका कर्मचारीहरु कसैको मनोभावनामा बग्ने सम्भव थिएन । मृत्यु नै मृत्युले घेरीएका उनीहरुलाई शव जलाउनु सामान्य नै भइसकेको थियो । बिहान उज्यालो हुँदादेखि रातिसम्म एकनास मानिसहरु पोल्ने उनीहरुको जिम्मेवारी थियो ।

त्यसकारण पीडाले भरिएका चिच्याहटलाई वास्ता नगरी इलेक्ट्रिक शवदाहको ट्रली क्रमशः अगाडि बढ्यो । त्यहाँ लम्पसार भएको एक प्राणहीन मानवको शव विद्युतीय भुङ्ग्रो भित्र छिराइयो । क्रमशः सन्नाटा छायो । सबैका आँखा रसाय । त्यो कारुणीक दृष्य बाहिरबाट सबैले नियालीरहे । अलिअलि देखिएको पार्थिव शरिर पनि क्रमशः हराउदै गयो । अब कहिल्यै देख्न नपाउने गरी हराएको त्यो अनुहार सबैको आँखामा झल्झली आयो ।

मेशिनको ढोका बन्द भयो । त्यसपछि त्यो प्यारो शरिर भष्म भयो । हावा र खरानीमा विलिन हुनपुग्यो । यत्रो वर्षसम्म विभिन्न संघर्ष गर्दै आएको शरीर क्षणभरमा नै स्वाहा भयो । ऐया, आत्थु समेत नभनी निराकार भयो ।

सबैलाई ज्ञात थियो कि अब उ फर्कनेछैन । केही क्षण अगाडिसम्म सँगै रहेको त्यो अनुहार । त्यो सुन्दर शरिर । एउटा मुढोमा परिणत भयो । मुढै भएपनि नजलाउँदासम्म स्पर्श गर्न मिल्ने । देख्न मिल्ने थियो । सँगै छ भन्ने अनुभुति हुन्थ्यो । मृत शरिर रहेसम्म देख्न पाएरै भएपनि केही सान्त्वना मिल्दो रहेछ । स्पर्श गरेर भएपनि माया दर्शाउन पाइदो रहेछ । मन थाम्न केही सहज हुँदो रहेछ । क्षणिक भएपनि सामिप्यताले राहत मिल्दो रहेछ ।

सबैलाई थाहा छ कि उ ब्युँझिदैन । तरपनि मनका अन्तरकुन्तरमा कतै केही आश्चर्य भइ ब्यँुझिइहाल्छ कि भन्ने लाग्दो रहेछ । असम्भव नै भएपनि आखाँ खोल्लाकि भन्ने आश जाग्दो रहेछ । उप्रति माया भरिएको मनले असम्भव पनि सम्भव तुल्याउन खोज्दो रहेछ । तर बिजुलिको लप्कामा छिराइएपछि त उ अलप भयो । कहिल्यै देख्न नपाइने गरी । भष्म नै भइसकेपछि सबै आशाहरु निराशामा परिणत हुँदा रहेछन् ।

पहिला अलिअलि सम्हालिएर बसेका आफन्तहरु शव दृष्यविहिन भएपछि थप भावविहल भए । उनीहरु विक्षिप्त हुदै बरबराउन थाले । भावावेशमा आएर त्यो निर्दोश शवलाई उल्टो दोष दिन थाले ।

‘उ(मुर्दा) कठोर बन्यो । उ ब्युँझिएन । मायाले कसैलाई वोलाएन । हजार विलाप गरेपनि उसले सुनेन । हाम्रो बिलौनालाई स्वीकारेन । रोदनलाई सुनेन । उप्रति दर्शाइएको अपार मायालाई मतलव राखेन । सहानुभुति दिएन । कसैको पुकारलाई वास्ता गरेन । एकपटक मात्रै एकपटक भएपनि सबैसँग अंकमाल गर्छु भनेन । त्यसैगरी आफू जल्दिन भनेन । मलाई यही संसारमा राख भन्न सकेन । जलाउन ठिक्क पारिएको विद्युतीय सवदाहको ट्रली रोक्न कसैलाई अह्राएन । आनाकानी नगरी त्यो भतभती पोल्ने हजारौं भोल्ट भएको भुङ्ग्रोमा पस्न तम्तयार भयो । पस्यो । मानौकि उसलाई पृथ्वी भन्दा परलोक प्यारो छ । हामीभन्दा स्वर्गका दुतहरु मायालु छन् ।’

आत्तिएका आफ्नाहरुको वर्वराहट यत्तिमै रोकीएन । उनीहरु थप्दै गए । ‘उफ् ! उ निर्दयी बन्यो । उसले कठोर तबरले हामी र आम मानवसँगको भौतिक सामिप्यतालाई तोड्यो । सांसारीक मायाजालबाट मुक्त भयो । अब उसलाई गरिदिनुपर्ने केही रहेन । न त उसले अन्यलाई गर्न केही बाँकी नै रह्यो । ’

‘उफ् ! काल निर्दयी बन्यो । एउटा लिष्ट बोकेर आयो । अनि हाम्रो प्यारो मानिस टप्प टिपेर लग्यो । जति कोशिस गरेपनि अब उ सँग भलाकुसारी गर्न मिल्ने सवाल भएन । उसँग कल्पनामा बाहेक वर्तमानमा रमाउन सम्भव रहेन । उसँग गासिएका माया प्रेम अब केवल काल्पनिक उपन्यासका कहानी सरह भए । जति विलाप गरेपनि त्यो कसैले सुन्ने छैन । सुन्न सक्ने छैन । दैव नै आएपनि अब उसलाई जिउँदो बनाउन सक्ने छैनन् ।’ उनीहरुले मृत्युप्रतिको आक्रोश पोख्दै गए ।

‘वास्तवमा उ सँग बिगतमा बिताएका सबै पलहरु अब हिजो भए । विगत भए । भुतकाल बने । बाआमाले नखाइ नखाई हुर्काएको एउटा नक्षत्र विलिन भयो । श्रीमती, बालबच्चा, घरपरिवार, इष्टमित्र, साथिभाइको अपार मायामा कुठाराघात भयो ।’ मलामी आएका एकजनाले वेदना पोखे ।

त्यहाँ उपस्थित एउटा विद्धान जस्ता व्यक्ति भन्दै थिए, ‘मानव जीवन एक अनौठो अवयव रहेछ । नाङ्गै आयो । नाङ्गै गयो । जीउँदो हँुदासम्म बिभिन्न हण्डरहरु खायो । वाधा अडचन व्यहोर्यो । सफल असफल भयो । कैयौ पटक लड्यो । पूनः उठ्ने प्रयास गर्यो । फेरी हिड्यो । प्राणी रहेसम्म यो चक्र चलिनै रहने छ । जबसम्म कालले टिपेर लग्दैन । जब काल आउछ अनि नाइनास्ति नभनी त्यसलाई सहर्ष स्वीकार गर्यो । बस जीवन चक्र नै यही रहेछ ।’

‘यही नियति भोगेको थियो उसले । उसका आफन्तहरुले कैयन कुराहरु गर्न बाँकी थिए होलान् । कैयन पटक मायाले स्पर्श गर्ने चाहना थियो होला । उस्लाई वास्तविक खुसी बनाउन मन थियो होला । उसँग लडीबुडी खेल्ने चाहना थियो होला । उभित्र डुब्न मन थियो होला । उसँग उटपट्याङ गर्न इच्छा थियो होला । उसको मायामा हराउन मन थियो होला ।’ अर्का मलामीले थपे

उनले पुनः थपे, ‘कसको के नै लाग्छ र मृत्युसँग ? यसलाई सकारात्मक रुपमा लिन सके बाच्नेहरुको लागि भलाई नै हुन्छ । मृत्युले जीवनको अन्त गर्ने हो, सम्बन्धको हैन । त्यसैले मृत्युपश्चात पनि मृतव्यक्तिसँगको भावनात्मक सम्बन्ध टुटेर जाँदैन । अझ प्रगाढ बनेर मन मस्तिष्कमा रहन्छ । मृत्यु स्थायी हो । जीवन अस्थायी । त्यसैले वालहठ गरेर अस्थायी चिजलाई स्थायी बनाउन खोज्नु किमार्थ सम्भव छैन । ब्रह्माण्डको सृष्टीदेखि नै चलेको जन्ममृत्युको चक्रलाई कसैले वदल्न सक्दैन । कसैले रोक्न सक्दैन । त्यसैले कुनै पनि हालतमा शाश्वत सत्यलाई स्वीकार्नुको विकल्प हुँदोरहेनछ ।’