ताजा अपडेट »

कोरोना भाइरस संक्रमण : चीनमा रहेका नेपाली सुरक्षित

सोमबार, १३ माघ २०७६

माघ १३,

काठमाडौं । विश्वमै सबैभन्दा धेरै मानवले आवतजावत गर्ने चिनियाँ वसन्त चाडमा नोवल कोरोना भाइरसको संक्रमणका कारण यो पटक निकै कमले यात्रा गरे । यस चाडको अवधिमा झन्डै ४ करोड चिनियाँले यात्रा गर्ने अनुमान थियो तर चाडको दुई दिन अगाडि बेइजिङ नगरपालिकाले बेइजिङका विभिन्न भागमा लाग्ने मेला रद्द गरिदियो।

बेइजिङको केन्द्रभागमा पर्ने तिथानमा लाग्ने मुख्य मेलासँगै मान्छेको भिड लाग्ने ठाउँहरु ग्रेटवाल, फर्बिडन सिटी र चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडका अवसरमा बेइजिङमा आयोजना हुने टेम्पल फेयरहरु सबै रद्द भए । लाखौं मानिस भेला भएर सात दिनसम्म चल्ने यस्ता मेलाको प्रवेश शुल्क, त्यहाँभित्र हुने मनोरञ्जनात्मक खेल लगायतबाट करोडौंको आर्थिक कारोबार हुने गथ्र्यो। यात्रा गर्न लिइएका रेल र हवाइजहाजका टिकर रद्द गरिएका छन् भने होटल बुकिङ पनि सबै रद्द भएका छन् । रद्द गर्दा सम्बन्धित व्यक्तिले सबै रकम फिर्ता पाउने व्यवस्था चीन सरकारले गरेको छ। समग्रमा यो वसन्त चाडबाट चीनलाई ठूलो आर्थिक क्षति पुगेको छ।

कोरोना भाइरसका पीडितको उपचार गर्न उहानमा दुई सातामै चीनले अत्याधुनिक अस्पताल तयार पार्न काम सुरु गरिसकेको छ। उहानबाटै नेपाल फर्किएका एकजना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तको नेपालीले चिन्ता गर्न थालेका छन् । तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले आफूहरु सुरक्षित रहेको बताएका छन्।

उहानमा मात्र सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती दुई वर्षअगाडि चीन आएका हुन् । पहिले क्यान्टिनमा खाने गरेको तर यति बेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफूहरुले पकाएर खाँदै गरेको उप्रेतीले बताए । बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उनले बताए। उप्रेतीले भने, ‘अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन् । विमानस्थलदेखि रेलवे स्टेसनसम्म बन्द छ।’

चीनमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न बेइजिङस्थित नेपाली दूतावास र चीनका विभिन्न क्षेत्रमा रहेका महावाणिज्य दूतावासहरुले सार्वजनिक सूचना र सचेतपत्र जारी गरिसकेका छन् । त्यस क्षेत्रका विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको र चीनको परराष्ट्र तथा सार्वजनिक सुरक्षा मन्त्रालयसँग पनि नियमित समन्वयमा रहेर जानकारी लिइरहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले बताए । -नागरिक दैनिक