बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरकणको अनुसन्धान अघि बढाउने प्रहरी प्रमुखलाई सरकारले ४ महिनामै सरुवा गरेको छ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको छ ।
ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएको बताइँदै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको छ ।
ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ । प्रशासनमा एआईजी मीरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् । राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रतिक्रिया