भैरहवा । उप-प्रधान एवम रक्षा मन्त्री पूर्ण बहादुर खड्काले गठबन्धन चुनावको लागि नभई संविधान रक्षाको लागि भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले सिंगो मुलुकको जनताको अधिकारलाई हातमा लिने नियत रोक्नको लागि तत्कालीन आवश्यकताको कारणले गठबन्धन गरिएको उनको भनाई छ ।
नेपाली कांग्रेस ठूलो दल भएपनि पुष १० पछि कांग्रेस कार्यकर्ताहरुमा निराशा छाएको बताउदै उनले तत्कालीन प्रतिकुलतालाई सफलतापूर्वक अनुकुलतामा परिवर्तन गरेको जिकिर गरे । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को क्षेत्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपति देखि ४ वटा प्रदेशमा नेतृत्व समेत गरेको बताए ।
“प्रतिकुलतालाई अनुकुलतामा बदलेर नेपाली कांग्रेस सहितको सहभागीतामा पुष्पकमल दहालको नेतृत्वमा संघ देखि प्रदेश सम्म अभियान चलायौ ।” उनले भने “यो ४ महिना हामी सरकारमा रहेपछिको उपलब्धि समिक्षाको बिषय हुनुपर्छ, केही कमिकमजोरी भए यसलाई सच्चयाउनु पर्छ ।”
कार्यक्रममा बोल्दै मन्त्री खड्काले संघले बनाउनु पर्ने सबै संघिय ऐनहरुलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसदमा लैजाने बताएका छन् । उनले संघिय शिक्षा ऐन, संघिय निजामति सेवा ऐन र संघिय प्रहरी ऐन समानान्तर रुपमा अगाडी बढेको र चाडै नै संसदमा पेश गरिने बताए ।
मुलुकको अर्थतन्त्रको कारण ऐन पेश गर्न ढिलाई भएको उनले बताए । “मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराहरु बाहेक अरु सबै कुराहरु मिलाएर संघिय शिक्षा ऐन, संघिय निजामति सेवा ऐन र संघिय प्रहरी ऐन सबै अगाडी बढ्दैछ ।” उनले भने “यस मध्ये निजामति सेवा ऐन लोक सेवा आयोगको परामर्श आउने बित्तिकै तुरुन्तै संसदमा दर्ता भएर छलफलको प्रक्रियामा अगाडी जानेछ ।”
उप–प्रधानमन्त्री खडकाले ढिलोमा ८-१० दिन भित्र संघिय शिक्षा ऐन पनि संसदमा जाने बताए । उनले आवश्यक ऐनहरुलाई सकिए यसै अधिवेशनमा एवम अन्यलाई हिउदे अधिवेशनमा पेश गर्ने लक्ष्य सहित सरकार अगाडी बढेको बताए । ऐनहरु संसदमा पेश गर्नु अघि सरोकारवाला निकायहरुसंग आवश्यक छलफल गरि अगाडी बढ्ने उनकोे भनाई छ ।
भैरहवामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वतमान गृहमन्त्री समेत रहेका कांग्रेस नेतालाई नियतवश फसाईएको बताउदै उनलाई बाहिर बसेर मुद्दा लड्न पाउनु पर्ने माग राखेका थिए । सरकारमा कांग्रेस रहे पनि खाँणलाई चाहिने आवश्यक सहयोग नगरेको कार्यकर्ताहरुको गुनासो थियो । सो बिषयलाई सम्बोधन गर्दैै कांग्रेस उपसभापति समेत रहेका खड्काले “ खाँण प्रतिकुलतमा न्यायिक संघर्षमा रहेको” टिप्पणी गरे । उनले खाँण संगको भेटको क्रममा उनले सोही कुराहरु भन्ने गरेको बताए ।
खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताए । उपसभापति खड्काले भने, “जिम्मेवारीमा रहेका नेताहरुसँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौं ।”
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या चाँडै समाधान गर्ने बाटोमा अघि बढ्ने पनि बताए । उनले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानूनले अफठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने बताए ।
प्रतिक्रिया