ताजा अपडेट »

तिलोत्तमाको टाईगर प्यालेस : २ महिना भित्र पूर्ण क्षमतामा सञ्चालन हुने, देवी पूजाको तयारी

शुक्रबार, ०१ भदौ २०८०

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्टमा भित्रीएको नयाँ समुह हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले २ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको छ । विदेशमा बस्ने गैरआवासीय नेपालीले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन ल्याउन लागेको हो ।

रिसोर्ट सञ्चालन बारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले व्यवस्थापन क्षेत्रमा सकेसम्म पुरानै जनशक्तिलाई प्रयोग गरिने बताए । यसैगरी रिसोर्टलाई थप ४ अर्व लगानी गरि सञ्चालनमा ल्याउने तयारी भैरहेको उनले बताए । रुपन्देही तिलोत्तमा–१४ मा अवस्थित टाइगर प्यालेस रिसोर्ट यसअघि अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो ।

कम्पनीमा गैरआवासीय नेपालीहरु भित्रिएपछि पहिलो पटक रिसोर्ट भित्र देवीको पूजा समेत हुने भएको छ । रिसोर्ट निमार्ण हुनुअघि त्यस क्षेत्रमा एक देवीको मन्दीर समेत भएको जानकारी गराउँदै अध्यक्ष सुवेदीले केही समयमा विधिपूर्वक मन्दी प्रस्तिस्थापन गरी पूजा गरिने उल्लेख गरे । धार्मीक परम्परालाई समेत बचाई राख्नका लागि पनि देवीको मन्दीर प्रतिस्थापन गरिने उनले उल्लेख गरे । रिसोर्टमा गैरआवासीय नेपालीहरुको लगान िरहेको भएपनि नेपालमा रहेका कुनै पनि व्यक्तिको लगानी नरहने सुवेदीले बताए । कम्पनीमा हालसम्म गैरआवासीय नेपालीहरु सुवेदीसहित दिपक गौतम, कुल आचार्य, देब भुसाल र रामजी मरासिनी लगायतको लगानी लगानी रहेको छ । अन्य केही लगानीकर्ताहरुले पनि जोडिने आस्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

अष्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब पाँच अर्ब लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । प्रत्येक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द हुने अवस्थामा पुगेको थियो । विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएका सबै शेयर खरिद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

यसैगरी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियाली कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको सञ्चालक दीपकदत्त गौतमले बताए । उनले भने, “अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ, विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।”

उक्त रिसार्टले नेपाल सरकारलाई करोडौँ रकम राजस्वसमेत तिर्दै आएको र कोभिड महामारी तथा रिसोर्ट सञ्चालनका क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको पनि करोडौँ रकम राजस्व गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, व्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको सञ्चालक गौतमले बताए ।

रसोर्टको लगानीकर्ता अष्ट्रेलियाली कम्पनी आर्थिकरूपमा धरासायी भएको र टाइगर प्यालेस पनि बन्द हुने अवस्थामा पुगेको अवस्थामा एक करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको बताइएको छ । यसैगरी रिसोर्टले सर्वाजनिक जग्गा तथा नहर मिचेको विषयमा प्रस्ट पार्दै सञ्चालक गौतमले रिसोर्ट स्थापना हुनुपूर्व नै क्षतिपूर्ति स्वरुप १६ कट्ठा जग्गा रिसोर्टको तर्फबाट सट्टापट्टा गरी उपलब्ध गराइएको बताए । रिसोर्ट सञ्चालनसँगै गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्येक्ष वैदेशिक लगानीको वातावरण समेत निर्माण हुने उनले बताए ।