ताजा अपडेट »

ज्ञानपुञ्जमा खेल सप्ताह, ५० भन्दा बढी खेलमा प्रतिष्पर्धा

आइतबार, १२ माघ २०७६

माघ १२,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल- ११, नहरपुरमा रहेको ज्ञानपुञ्ज ईङ्गलिश बोर्डिङ्ग स्कूलमा खेल सप्ताह- २०७६ सुरु भएको छ । सप्ताहको एक समारोह बीच आइतबार उद्घाटन गरिएको छ । विद्यालयका कोर्डिनेटर सूूर्य पाण्डेको अध्यक्षता, संस्थापक प्राचार्य तोयराम पौडेलको प्रमुख आतिथ्यता, र चर्चित पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको विशिष्ट आतिथ्यतामा भएको समारोहमा प्रमुख अतिथि पौडेल, विशिष्ट अतिथि गौचन लगाएतले समारोहको उद्घाटन गरे ।

सो अवसरमा विद्यालयका संयोजक सूर्य पाण्डेले शैक्षिक क्रियाकलापसँगै शारीरिक विकासका लागि र शिक्षाबाट केही दिन विश्राम लिन खेलकूद सप्ताहले सहयोग पुग्ने बताए । त्यसैगरी संस्थापक प्राचार्य पौडेलले विद्यार्थीलाई उनीहरुको रुचि अनुसार पठनपाठनसँगै खेलकूद गतिविधिमा पनि सक्रिय बनाउनका लागि हरेक वर्ष खेल सप्ताह आयोजना गर्दै आएको बताउँदै सफल बनाउन सबैलाई आग्रह गरे । मन्टेश्वरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु सम्मिलित खेलसप्ताहमा सिनियर र जुनियर गरी दुई विधाबाट प्रतियोगिताका गराइने अतिरिक्त क्रियाकलाप प्रमुख हरि भट्टराइले बताए । ५० भन्दा बढी खेल प्रतियोगिता समावेश गरिएको खेल सप्ताहको १५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयका कोर्डिनेटर पाण्डेले बताए ।

त्यसैगरी १६ गते वसन्त पञ्चमीको अवसरमा विशेष सरस्वती पूजा तथा नयाँ बालबालिकाहरुको अक्षराम्भ तथा भर्ना कार्यक्रम रहेको विद्यालयका संस्थापक प्राचार्य तोयराम पौडेलले जानकारी गराए । खेल सप्ताह अन्तर्गत आइतबार ६ देखि ९ कक्षा सम्म क्बड्डी, हाईजम्प, लङ्जम्प र कक्षा १ देखि ५ सम्म मार्वल कलेक्सन, स्पोन रेस, स्विट्स रेस लगाएतका खेलहरु सम्पन्न भएका छन् ।