सत्य एक्लो, कठिन र बलिदानी हुन्छ। परिवर्तित नयाँ सोचका साथ अघि बढ्न, विद्यमान परिपाटीमा समय सापेक्ष परिवर्तन ल्याउन, सत्य न्याय र विधि स्थापित गर्न उच्च साहस, धैर्य, मजबुत आत्मवल र कुर्बानी अपरिहार्य हुन्छ। किनकी त्यस क्रममा अनर्गल, तथ्यहीन, आधारहीन, अपमानजनक मिथ्या आरोप खेप्नु पर्ने अवस्था आउन सक्छ। सत्य र न्यायको स्थापना, विधानको भावनानुरूप निरन्तर अक्षरशः पालना र मौजुद परिपाटीमा समयानुकूल रूपान्तरण सबैको चाहना एवं प्राथमिकताको विषय हो।तथापि शीर्ष पदमा आसिन नेताको सामु घुँडो टेकुवा, परिक्रमी, लालची, झोलेहरु खाइपाइ आएको पद, सुविधा, समर्थन र आशीर्वाद गुम्ने डरले रूपान्तरणको बुलन्द आवाजको निर्लज्ज विरोध गर्दछन्। जसको कारण रूपान्तरणकार नेताको करियर जोखिममा पर्ने, एकलो जस्तै हुने अवस्था पैदा हुन सक्छ।
आस्था, विश्वास र भक्तिमा आधारित सत्य, न्याय, परिवर्तन र रूपान्तरणको अभियान सुरूवातमा सदैव एक्लो हुन्छ। जसो जसो परिवर्तन र रूपान्तरणको रंग र दायरा गाढा एवं फराकिलो हुदै जान्छ। तसो तसो समर्थकहरूको लर्को लाग्दै जान्छ। उपनिवेश विरूद्ध भारत स्वतन्त्रताको लागि माहात्मा गांधीले जतिपनि मूवमेंट्स थालनी गरे ती सबैको सुरूवात थोरै समर्थकहरूबाट भएको थियो। रविन्द्र नाथ टैगोर लिखित गीत " एकला चलो रे " बाट गांधी निकै प्रभावित थिए।" तिम्रो आवाजमा कसैले ध्यान दिदैनन्। कोही आउदैनन भने एक्लो चल । कोही बोल्दैनन्। डरले मुख मोड्छन भने तिमी डर नमानी मुक्तकण्ठले आफ्नो कुरा एकलो बोल।" गांधीले त्यो गीतको भावलाई उत्साह र उर्जाको रूपमा ग्रहण गरेका थिए। ब्रिटिस सरकारको नुनमा कर लगाउने कानून विरूध्द माहात्मा गांधीको बहुचर्चित साबरमती आश्रमदेखि दांडीसम्म २४० माइल दुरीको-सुरूवातमा ७८ स्वयंसेवक सहभागी रहेको- दांडी कुच १९३०( लङ्ग मार्च ) मा लाखौँ समर्थकहरू गांधीको साथ लागेका थिए। परिणामतः ब्रिटिस शासक नतमस्तक हुन बाध्य भयो।
मुलुकको राजनीतिमा नेपाली कांग्रेस पार्टी भित्र विगतको घटनाक्रमको अध्ययनबाट ज्ञात हुन्छ कि गिरिजा कालमा वर्तमान कांग्रेस सभापति शेर बहादुर देउवा पार्टी भित्र अत्यन्त घुटनको अवस्थामा हुनुहुन्थ्यो। सत्यमा आधारित समयानुकूल परिवर्तनको आफ्नो ऐजेण्डा स्थापित गर्न पार्टी भित्र एक्लो चल्न सक्नु भएन। सन् २००२ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को नेतृत्व गर्नु भयो। त्यो पार्टीलाई टिकाउनुको साटो गिरिजा नेतृत्वको मूल पार्टी नेपाली कांग्रेसमा सन् २००७ मा मर्ज गर्नु भो। वर्तमानमा गिरिजा शैलीमा देउवाले पार्टीको एकछत्र नेतृत्व गर्दै हुनुहुन्छ। पार्टी विधानको भावनानुरूप निरन्तर अक्षरशः पालना र मौजुद परिपाटीमा समयानुकूल रूपान्तरणको प्रस्तावित ऐजेण्डालाई कार्यरूपमा परिणत गर्न महामन्त्री गगन थापा पार्टी भित्र एकलो जस्तै हिँडि रहेका छन्। तर नेपाली कांग्रेस (प्रजातान्त्रिक) को नेतृत्व गरेर देउवाले अबलम्वन गरे जस्तो चरमवादी एक्शनको तिकडम थापाले गरेनन्। थापाले केन्द्रीय कार्यसमितिको बैठकमा अभिव्यक्त गरिसके कि "म बदल्न लागिरहेको छु। सक्ने भए बदल्छु। नसक्ने भए चुप लागेर बस्छु।"
कुरो देउवा र थापाको जित हारको होईन्। प्रसङ्ग प्रतिबद्धताको हो। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने संस्थापन पक्षका लगभग सबैले विभिन्न शैलीमा थापाको विरोध गरे आरोप पनि लगाए तापनि उनको प्रस्तुति, ऐजेण्डा र प्रतिबद्धताले (नेपाली कांग्रेस बदल्ने हो। बलियो बनाउने हो। २१औं शताब्दीको अनुकूल पार्टी बनाउने हो।) सबैको मन मस्तिष्कमा सुक्ष्म छाप छोडेको छ। छापको रंग अहिलेको अवस्थामा फिका होला। तर त्यो छापको रंग निश्चय नै दिनप्रतिदिन गाढा हुँदै जाने छ।
प्रतिक्रिया