भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ बस्ने दिनेश कुमार मल्लाह गाउँ नजिकै चण्डीघाटमा बर्षायाममा डुङ्गा चलाएर जिविकोपार्जन गर्दै आएका छन् । नेपाल भारतको सीमाको रुपमा रहेको डण्डा खोलामा डुङ्गा सञ्चालन गर्ने उनलाई अहिले भारतीय सुुरक्षाकर्मिले भनेको समयमा मात्र डुङ्गा सञ्चालन गर्ने अनुमति छ ।
चण्डीघाटमा भारतीय सीमा सुरक्षाको लागि बसेका एसएसबीले निश्चित समयको लागि मात्र उनलाई डुङ्गा सञ्चालन गर्ने अनुमति दिएका छन् । मल्लाहले भारतीय एसएसबीको इच्छा अनुसार डुङ्गा संचालन गर्न पाएको बताए । “एसएसबीले भनेको बेला डुङ्गा सञ्चालन गर्छु, मनाही गर्दा बन्द गर्छु ।” उनले भने “कहिलेकाही त एसएसबीले महिलाहरुलाई मात्र वारपार गर्न भन्छ, सोही अनुसार गर्नुपर्छ ।” केही आगाडी डुङ्गा संचालन गर्न भारतीय एसएसबीले अवरोध गरेपनि स्थानीय सरकारको अनुरोधमा अहिले उनीहरुको डिउटीको समय मात्र डुङ्गाबाट वारपार गर्न पाइएको उनले बताए ।
नियमित डुङ्गा संचालन नहुँदा आम्दानी न्यून भएको मल्लाहको गुनासो छ । मर्चवारी गाउँपालिका वडा नम्बर १ की संगीता लोनिया भारतीय सीमा नजिकै रहेको घरमा मदिरा पसल थापेर घर परिवार पाल्दै आएकी छन् । उनको पसलको अधिकांश ग्राहक भारतीय नागरिक हुन । तर डण्डा खोलामा आएको बाढीको कारण अहिले लोनियाको आम्दानी पनि घटेको छ । पहिला डण्डा खोलामा डुङ्गा चल्ने गरेको थियो । जसले गर्दा उनको पसललाई कुनै असर परेको थिएन । तर अहिले एसएसबीले माथिको आदेश भन्दै सो क्षेत्रमा डुङ्गा चलाउन दिएको छैन । डुङ्गा नचल्दा खोला वारपार हुने सम्भावना छैन ।
नेपाल भारतको सीमामा बस्ने मर्चवारवासी अहिले एसएसबीको ज्यादतीको शिकार भएका छन् । दैनिक उपभोग्यको सामाग्री देखि लिएर औषधी उपचार सम्म गर्न भारतमै सहज हुने भएकोले मर्चवारका बासीन्दा अहिले डुङ्गा सञ्चालन हुन नसक्दा मर्कामा परेका छन् ।
रुपन्देहीमा नेपाल र भारतको करिब ५९ किलोमिटर सीमा जोडिएको छ । पूर्वि क्षेत्रमा बेलहिया लगायतको सीमा दशगजाले जोडे पनि पश्चिम तर्फ ककरहवा बाहेक अन्य अधिकांश नाका डण्डा खोलाले नै छुट्टयाएको छ । मर्चवारवासीलाई नजिकैको नेपाली बजार भैरहवा पुग्न करिब ३० देखि ३५ किलोमिटर सम्म दुरी पार गर्नुपर्छ । भारतीय बजार भने ३ देखि ५ किलोमिटरको दुरीमा रहेको छ ।
भारतीय बजार नजिकै रहेको कारण उनिहरु जोखिम मोलेर भए पनि उतै जाने गरेका छन् । एसएसबीले डुङ्गा चल्न नदिएपछि स्थानियहरु अहिले बस, ट्रयाक्टर लगायतको ट्युबमा हावा भरि सोहीमा बसेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर १ भंसारटोल बस्ने मिश्रीलाल लोनिया नदीमा डुङ्गा बन्द भएपछि धेरै समस्या खेप्नुपरेको बताउछन् । “भारतसंग हाम्रो रोटी बेटीको सम्बन्ध छ ।
अहिले हाम्रो छोरी बुहारीलाई ट्रेक्टरको ट्यूबमा बसी जोखिम युक्त तरिकाले खोला वारपार गरिरहेका छन् ।” उनले भने “हामी अतिआवश्यक सामान पनि भारतको कुल्हुई बजारकै भरमा छौ, भैरहवा जादा ३५ किलोमिटर जानु पर्छ, भारतको कोल्हुई गइयो भने ४ किलोमिटर मै पुगिन्छ । ” भारतीय एसएसबीले नदीमा चल्ने डुङ्गा बन्द गरेपछि बैकल्पिक उपाय अपनाइ आवतजावत गर्ने गरेको उनको भनाई छ । मर्चवारको समस्या बारे नेपाल सरकारको कुनै पनि निकायले पहल नगरेको उनले गुनासो गरे ।
सीमा नजिकै बसेका अधिकांश नेपाली पहिलैदेखि भारतीय बजारमा निर्भर रहेका छन् । जसले गर्दा अहिले घरायसी समान ब्यवस्थापन संगै भारतमा रहने आफन्त कहाँ जान आउन समेत चुनौती रहेको स्थानियहरुको भनाई छ । “डुङ्गा बन्द हुदा ट्यूबमा आफु संगै साइकल पनि राखेर ओसार पसार गर्ने र एसएसबी आउदा भागाभाग हुने गरेको छ ।
मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले डुङ्गा संचालन गर्न भारतीय एसएसबीसंग समन्वय गर्दा डुङ्गा संचालन गर्न नमानेको बताए ।
डुङ्गा संचालन नहुँदा स्थानीयहरुलाई धेरै समस्या खेप्नु परेको उनको भनाई छ । “म भारतीय सिमा सुरक्षा बलको विभिन्न कार्यालयमा डुङ्गा संचालन गर्न अनुरोध पत्र सहित पुगेको थिए ।” बरईले भने “तर एसएसबीका प्रमुखले माथिको आदेश अनुसार डुङ्गा बन्द गरेको बताए, यस बारे दिल्ली नै पहल गर्नु पर्ने उनिहरुको भनाई छ ।”जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले यस बारे आफुलाई कुनै आधिकारीक जानकारी नभएको बताए ।
उनले अन्र्तराष्ट्रिय सीमा भएको कारण आधिकारीक नाका बाहेक अन्य नाकाबाट हिडडुल गर्न अनाधिकृत भएको बताए । “भारतीय पक्षले ट्यूब प्रयोग गरि तस्करी हुने गरेको बताउदै सो रोक लगाएको सुनिएको छ ।” उनले भने “ यो सीमापारिको बिषय हो, यसमा हामीले के नै गर्न सक्छौं ।” नेपालको तर्फबाट कुनै रोक नलगाईएको बताउदै उनले भारतीयले रोकेको भए यसबारे आफुले बुझ्ने आश्वासन दिए ।
प्रतिक्रिया