दाङ । पत्रे खोलाले बगाउँदा बेपत्ता भएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका ११ झमरे बस्ने ६४ वर्षीय तिलकराम बिकलाई शौच गर्न गएको बेला पत्रे खोलाले बगाएको थियो ।
आइतबार बिहान खोलाको किनारमा शौच गर्न गएको बेला बेपत्ता भएको उनी दिउँसो साढे २ बजेतिर खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
घोराही ९ तेघरा स्थित हापुर खोलाको किनारमा घोप्टो परेर घाँसमा अडकिएको अवस्थामा फेला परेका थिए । उनी सधैँ खोलाको किनारमा शौच गर्न जाने गर्दथे । आज पनि खोलाको किनारमा शौच गर्न गएको र अबेरसम्म घरमा नफर्किएकोले उनका घरका परिवारले खोलाको किनारमा गएर हेर्दा त्यस ठाउँमा छाता, चश्मा र लट्ठी फेला परेको हुँदा उनलाई खोलाले बगाएको हुन सक्ने भनी प्रहरीलाई खबर गरेका थिए ।
अस्थाई प्रहरी पोष्ट बेलझुण्डी, इप्रका नारायणपुर दाङ, इप्रका मलवार दाङ, प्रहरी चौकी बिजौरी दाङबाट गरी १७ जनाको टोली खटिएर खोज तलास कार्य जारी राखेको र जिप्रका दाङबाट ११ जनाको टोली उद्धारका सामान सहित खोज तलासको लागि प्रहरी टोली खटेको थियो ।
प्रतिक्रिया