ताजा अपडेट »

उच्च विचारले कसैको कुभलो गर्दैन

आइतबार, २८ साउन २०८०

चाउ शङफिङ चिनियाँ पत्रकार हुन् । नेपालमा बसेर पत्रकारिता गरेका छन् । उनी लेखक पनि हुन् । मेण्ड एण्ड इन्ड नामक पुस्तकको नेपाली रुपान्तरण नेपाल (सुधार वा समाप्त होऊ) पुस्तकको दोस्रो संस्करण पढेर भ्याएको पनि महिनौं भयो । हिमालय बुक हाउस, बुटवलका सञ्चालक माधव गौतमले उपहार दिएका थिए ।

चाउले नेपालको सविस्तार बयान गरेका छन् पुस्तकमा । हिमश्रृङ्खलाहरुलाई एसियाको जल टावरका रुपमा परिभाषित गरेका छन् । कृषि र पर्यटनलाई नेपाली पाल्ने मूल आधार मानेका छन् । नेपालीहरुको भेषभूषा, रीतिरिवाजले नेपालीपनालाई झल्काएको कुरा उठान गरेका छन् । नेपाली अर्थतन्त्र बलियो बनाउन र समृद्ध नेपाल निर्माणका लागि नेपालीहरु नै कम्मर कसेर लाग्नुपर्नेमा सुझाएका छन् ।

नेपालीका नाडी छामेका उनै पत्रकार चाउले नेपालीहरुसँग भएका साधन, स्रोतको समुचित प्रयोग हुन सकेमा पक्कै पनि नेपालको समृद्धि सोचेभन्दा पनि अघि बढ्न सक्ने कुरालाई पटक पटक पुस्तकमा उठाएका छन् । नेपाली समाज विकास चाहन्छ तर विकासका मोडलहरु जनमुखी हुन नसकेका, योजनाहरु दीर्घकालीनभन्दा पनि क्षणिक र पावरका आधारमा तयार पारिएका हुनाले सोचेजति प्रगति हुन नसकेको उनको तर्क छ ।

यात्राका क्रममा उनले लेखेका छन् “पैदलयात्रीलाई यात्राका अवधिमा लाग्ने खर्चबारे धेरै जानकारी हुँदैन । कम्पनीको अनुरोधमा हामीले प्रतिब्यक्ति रु हजार अग्रिम कर तिरेका थियौं तर पछि वातावरणीय शुल्कका लागि थप रु. एक हजार छुट्टै तिर्नुपर्छ भन्ने थाहा पायौं । वातावरण संरक्षण गर्नु राम्रो पहल हो, दुर्भाग्यवस हामीले फोहोर फाल्नका लागि बाटोमा एउटा फोहोरदानी पनि भेटेनौं । यसले मलाई कर केका लागि लिइएको होला भनेर आश्चर्य चकित बनाएको थियो ।” यो यथार्थ गुनासोले हामी नेपालीहरुको स्वभाव प्रष्ट पार्दछ । जे कामका लागि लिइएको कर हो त्यसैका लागि खर्चिनुपर्छ भन्ने सन्देश हामी सबैका लागि महत्वपूर्ण सूचना स्रोत हो ।

कर्णालीको सम्पत्तिको रुपमा रहेको रारा ताल सुन्दर र मनोरम भएर पनि सोचेजति आम्दानीका लागि पर्यटक तान्न नसकेको उनले खुलेरै लेखेका छन् । त्यतिमात्र होइन रारा ताल नजिकै रहेको ताल्चा विमानस्थलको लापर्वाही र यसका कारण पर्यटकहरुमा पर्न गएको नकारात्मक असरका सन्दर्भमा चाउको कुरा हामी नेपालीहरुका लागि शिरोधार्य छ ।

नेपालीहरुले संविधान सभामार्फत नयाँ संविधान पाए । नयाँ व्यवस्था प्राप्त गर्न सके । नेपालीहरु आफैले लडेर आफ्नै लागि लोकतान्त्रिक गणतन्त्र समेत ल्याए । अब नेपालीहरुले समृद्धिको सपनामात्र देखेर पुग्दैन । त्यसका लागि आर्थिक उन्नतिका लागि दीर्घकालीन योजना तयार पार्नुपर्नेमा सुझाव दिएका छन् । नेपालमा हर क्षेत्रका सुधारको खाँचो औल्याएका छन् उनले । नेपालीहरु अब पनि नसुध्रिने हो भने समाप्त हुने अवस्थामा पुग्न धेरै समय नलाग्ने उनको ठम्याइँ छ । छिमेकी देशको पत्रकारले नेपालको बारेमा यसरी लेखिरहँदा, सुझाव दिइरहँदा हामी सबै नेपालीहरु वाल्ल परेर बस्नुको अर्को विकल्प देखिरहेका छैनौं ।

पाँच खण्डमा विभक्त गरी उनले आफ्नो पुस्तक पूरा गरेका छन् । पहिलो खण्डमा उनले नेपालको राजनीति, दोस्रो खण्डमा नेपालको आर्थिक परिवेश, तेस्रो खण्डमा नेपालको संस्कृति र शिक्षा, चौथो खण्डमा नेपाली समाज र पर्यावरण र पाँचौ खण्डमा नेपालको यात्रा तथा पर्यटनलाई मिहिन तरिकाले अध्ययन गरी विश्लेषणात्मक प्रस्तुति दिएका छन् ।

पुस्तक पढिरहँदा उनको लेखाइमा नेपालप्रतिको सहानुभूति झल्किन्छ । माल पाएर पनि चाल नपाएका हामीले आफूलाई बिचरा भन्नु सिवाय अरु केही भेट्दैनौं । नेपालमा हामीले नेतालाईमात्र दोषी देख्यौं, कर्मचारीलाई भ्रष्ट भेट्यौं र आफूलाई पानीमाथिको ओभानो ठानिरह्यौं । समृद्ध नेपाल, सुखी नेपालीको सुन्दर सपना पूरा गर्न आफ्नो क्षमता, योग्यता प्रयोग गर्न कञ्जुसाईमात्र गरिरह्यौं कि ? पुस्तक पढेपछि यिनै कुराहरु खेलिरहन्छन् ।

नेपालमा चिनियाँ पर्यटकहरु किन आउँदैनन् धेरै, नेपालीहरु किन पर्यटन प्रवर्द्धन गर्न सकिरहेका छैनन् ? पुस्तक पढेपछि छर्लङ्ग हुन्छ । नेपाली अर्थतन्त्रको नालीबेली विश्लेषण गरेका छन् उनले । नेपालीहरु काम गर्न रुचाउँछन् तर रोजगारी दिने ठूला उद्योग खोल्न सक्दैनन् किन ? नेपालीहरु वैदेशिक रोजगारीका लागि तयार छन् तर आफ्ना जग्गा बाँझो राखेर किन परदेशिएका छन् ? नेपालको दलालपुँजीवादी अर्थतन्त्र र यसको असर कसरी नेपाली समाजमा परिरहेको छ भन्ने कुराको हेक्का राख्न उनको पुस्तक पढ्नैपर्छ ।

नेपालबाट वर्षेनी हजारौंका संख्यामा नेता, कार्यकर्ता, व्यापारी, विद्यार्थी चीन जान्छन् तर त्यसको उपलब्धि नाप्न अहिलेसम्म सकिएको अवस्था छैन । खास के कारणले नेपालको अर्थतन्त्र बलियो हुन सकेको छैन ? राज्य र सरकारको अर्थराजनीतिमा कस्तो सोंच र योजना छ भन्ने कुरा नै प्रष्ट नभएको कारण हामीहरु गरिव हुँदै गएका छौं प्रतिदिन । यो साँचो कुरो चाउको पुस्तकले सिकाउँछ ।

हाम्रा देशका नेताहरु, योजनाविदहरु, उच्चस्तरका कर्मचारीहरुका सोच, विचार, योजना दक्षतायुक्त वा तार्किक नभएर होइनन् बरु हामीले उनीहरुका उच्च विचार वा तर्कहरु हाम्रै लागि हुन् भनेर सोचेनौं कि ! उनीहरुका उच्च विचार वा भावनाहरुलाई खिसिट्यूरीको विषय बनाइरहेका छौं । त्यस्तो सोचले कसैको भलो हुने छाँट देखिन्न । नेतृत्वप्रति सकारात्मक हुन सिकौं । गलत प्रवृत्ति विरुद्धमा एकजुट हौऔं । उच्च विचारले कसैको कुभलो हुँदैन । सत्यलाई अनुशरण गरौं ।