ताजा अपडेट »

लुम्बिनी वर्ल्ड स्कुलमा नमूना निर्वाचनसहित बालक्लब गठन

शनिबार, २७ साउन २०८०

तिलोत्तमा । रुपन्देहीको लुम्बिनी वर्ल्ड स्कुलमा नमूना निर्वाचन कार्यक्रम सम्पन्न गरी बालक्लबको गठन भएको छ । विद्यालयका सामाजिक विभागका शिक्षक कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा गठित ६ सदस्यीय निर्वाचन आयोगले कक्षा १ देखि ९ सम्मका विद्यार्थीलाई सहभागी गराई उक्त निर्वाचन सम्पन्न गराएको थियो ।

गठित निर्वाचन आयोगले बालक्लबका पदाधिकारीहरुको साथै विद्यालयमा रहेका ४ सदनका नेतृत्वकर्ता पदहरु, अध्यक्ष र उपाध्यक्षका लागि पनि हरेक सदनका विद्यार्थीलाई आ-आफ्नो सदनको बुथमा लामबद्द गराई मतदान प्रक्रियाद्वारा नेतृत्व चुन्ने अवसर श्रृजना गराएको थियो । हरेक कक्षाबाट (१ देखि ९) एक-एक जना प्रतिनिधि चुनिने गरी सम्पन्न मतदानबाट बालक्लबको अध्यक्षमा सन्दर्भ पाठक निर्वाचित भएका छन् । साथै चार सदनहरु सगरमाथा, ल्होत्से, मनास्लु र मकालुबाट पनि एक एक जना अध्यक्ष र एक एक जना उपाध्यक्ष निर्वाचित भएको स्कुल निर्वाचन समिति ले जनाएको छ ।

झट्ट हेर्दा नेपाल सरकारको निर्वाचन आयोगले गर्ने आम निर्वाचनको झल्को दिने गरी सम्पन्न उक्त निर्वाचनमा सम्पूर्ण चुनावी प्रक्रियाहरू अपनाईएको थियो । यो निर्वाचनको उद्देश्य नेतृत्व चुन्ने मात्र नभई गरेर सिक्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ । विद्यार्थीमा नेतृत्व विकास गर्नु तथा शैक्षिकसत्र भरि विभिन्न शैक्षिक र अन्य अतिरिक्त क्रियाकलापहरूमा समेत सहभागी गराई उत्प्रेरणा उत्प्रेरणा प्रदान गर्ने लक्ष्य रहेको छ ।

निर्वाचनको पर्यवेक्षकको रूपमा विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकाल रहेका थिए । निर्वाचन स्वच्छ वातावरणमा विद्यार्थीलाई सिक्ने मौका प्रदान गर्दै सम्पन्न भएको उनले बताए । कार्यक्रम सम्पन्न गर्नको लागि सह-प्राचार्यद्वय रमेशमणी सुवेदी र लजिता शर्मा तथा सम्पूर्ण शिक्षक शिक्षिकाहरू, विद्यार्थी स्वयंसेवक र अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।