बिहानपख करिव तीन बजेतिर गड्याङ् गुडुङ्गको आवाजसँगै मुसलधारे पानीले यात्रालाई बिथोल्छ कि भनी मनमा चिसो पस्यो ! दलबहादुर गुरुङ सरसँग महिना दिन अघिको सल्लाह अनुसार श्रावण ९ गते बुटवलबाट पाल्पाको पूर्वखोलाको जल्पा, ढोलीमारा जाने निधो गरेको थिएँ ।
दिउँसो एक बजे बुटवल बसपार्कमा भेट्ने कुरो थियो । धेरै पानी परेका कारण बाटो बिग्रिएर ढोलीमाराबाट बस आएको रहेनछ । ढोलीमाराको लागि बस नआएपछि हामी पाल्पा बसपार्क दुई बजेसम्म पुग्नै पर्ने भयो । मौसम फेरबदलसँगै हाम्रो समयतालिका पनि फेरियो । दिनको एघार बजे पाल्पारोड भानुपार्क पुगेर बस चढ्ने सल्लाह भयो । दल सर पुगी सक्नुभएको रहेछ । सकभर पोखरा जाने बस पाए आर्यभन्ज्याङसम्म छिटो पुगिन्थ्यो कि भन्ने थियो ।
समय घर्किरहेको थियो । आखिरी पाल्पा जाने हिउँदे बसमा चढ्न बाध्य भयौं । आकाशबाट पानी बर्षेकै छ । बसभित्रै सिटमा यात्रुले पानीकागज, छाता ओढ्न पर्ने स्थिति ! बर्षादको समयमा पनि चल्ने बस हुन्थ्यो भने बसलाई मर्मतसम्भार गर्थे कि !
दुईदिनको कार्यक्रमको खाका तैयार भैइसेकोले पाहुनाले समयमा गाडी नपाउँदा दुःख होला भन्ने चिन्ताले दल सरलाई ढोलीमाराबाट तारन्तार फोन आईरहेको थियो । गन्थनमन्थन गर्दै पाल्पा बसपार्क समयभन्दा केही ढिलो पुग्यौं । जीपले पर्खिएको थियो ।गुरुजीसँंग हामी थोरै फ्रेस हुने बतायौं । नजिकै जल्पा ग्यालेक्सी रेष्टुरेण्टमा फ्रेस पश्चात जे पाकेको छ त्यै खाने भनेर मोःमोः डल्लोलाई छिनमै क्वापकुप्प पारि जीपतिर लागियो ।
जीपको सीटबोडी केहि पुरानो देखिए पनि इन्जिन मर्मत गरिरहेको भएर होला ! आर्यभन्ज्याङदेखि हुमिनसम्म साँघुरो पक्की सडक त्यसपछि बर्खेपानीले बिगारेको कच्ची सडक खाल्टाखुल्टी छिचोल्दै देवीनगर लेमधेम, काफलडाँडा, जल्पा हुँदै गन्तव्य स्थान ढोलीमारा साँझको पाँच बजे गुरुजीले सकुशल पुर्याए । सामाजिक अभियन्ता माया राना घरमै हाम्रो प्रतिक्षामा भेट्यौं ।
चिनाजानका साथी भएकाले दल सरलाई सजिलो भएतापनि मलाई अप्ठ्यारो थियो । म नयाँ अनुहार थिएँ । घोलमिल हुन केही समय लाग्यो । बसाई हाम्रो त्यही हुने हुँदा झोला बिसायौं । मौसम सफा थिएन । चिनजानपछि हामी तातोपानी पिएर त्यहाँको रमणीय स्थल पैतालीस मिनेटमा पुगिने चुलीडाँडातिर हिडियो । टुरगाइड माया मेडमले गर्नुभयो । साथमा तुलसा बस्याल मेडम पनि । मकै, भट्मास चपाउँदै लाकुरीडाँडामा स्व. उमादेवी घर्तीको स्मृतिमा उनका श्रीमान डोलबहादुर घर्तीले निर्माण गरेको प्रतिक्षालयमा पुगेर केहीवेर गफियौ । तुलसा मेडम उकालो चढ्न आँट गर्नुभएन । खाना पकाउन भन्दै त्यहीबाट फिर्ता हुनुभयो ।
बर्खाको बेला मौसम अर्कोदिन झन खराब हुने हो कि भनेर चुत्रो, घोगारी, वनमाराको झाँडी फाँडेर २८ हेक्टरमा फैलिएको डाँडो जमिनमा ढोलीमारा कवुलयती वन समूहले लगाएको आयमूलक व्यवसायिक अम्रिसो खेती नियाल्दै उकालो चढियो । यो वर्ष पाँच लाख साठी हजारको आम्दानी गरेछन् । उकालो गोरेटोमा ठाउँठाउँमा प्राकृतिक कलात्मक ढुङ्गाहरु छन् । त्यस्मा टाढा टाढाबाट देखिने सेतो रंङ लगाउदा राम्रो हुने दल सरले मायालाई सुझाउँदै हुनुहुन्थ्यो । वालुवाको खहरे थुप्रो ठानेर अगाडि बढ्दा मेरा खुट्टासंगै जुत्ता हिलोमा च्वाम्मै डुब्यो । साथीहरुले के भो सर, भन्दै थिए । केही नभएको भान पार्दै अगाडि बढे । हामीले स्याँस्याँ–फ्याँफ्याँ गर्दै जनतन चुलीडाँडालाई चुम्न सकियो । प्रदेश सरकारको सहयोगमा स्वागत गेट बनेको रहेछ ।
गेट प्रवेशसंगै उक्त ठाउँबाट हिमश्रृखलादेखि तराई मधेशका मनोरम फाँटसम्म दृश्यावलोकन सहजै गर्न सकिंदो रहेछ । समुद्र सतहदेखि एकहजार सात फिट अग्लो प्राकृतिक उचाई हुँदाहुदै पनि कृतिम भ्यूटावर निर्माण भएको रहेछ । माथि चढेर सबैतिर दृश्यावलोकन गरियो । तस्बिर खिचियो । झर्नेक्रममा खुट्टो झण्डै भाँचिएन । फलामको सिंढीमा रहेको एउटा टेक्ने ग्रीलपट्टी बदमासहरुले टुटालेर मिल्काइ सकेका रहेछन । बाँदरे प्रवृत्ति जहाँ गयो त्यतै देखिने ! पानीपोखरी, स्मारक, गोलघर संग्रहालय, सेल्फी लभ स्ट्याण्ड, शान्तिका अग्रदूत गौतमबुद्धका प्रतिमा, घामपानी पर्दाको बखत ओतिने छाता, पर्यटकहरु भिरपाखाबाट झुक्किएर लड्छन् कि भनेर लगाईएको तारजाली,जंगलबाट निस्कदै गरेको बाघको मूर्ति हेर्न र बुझ्न लायक छ ।
चिसो सिरेटोले हानिरहेको थियो । मनमा शितलता छाएपनि अक्सिजनको मात्रा कमी भएर हो कि के हो ? टाउको मन्द गतिमा दुखिरहेको थियो । झमक्क साँझ परिसकेकोले विस्तारै हामी घरतिर ओरालो लाग्यौं । दल सर र माया मेडम मभन्दा अगाडि हुनुहुन्थ्यो । हाम्रो आवाज सुनेर बाटोमाथि रुखमा भुटुट्ट ठूलो आवाज आयो । म तर्सेर चिच्याएँ ! डरले । मुटु काप्यो ! बास बसेका दुई जोडी कालिज पो उडेका रहेछन् ।
भर्खर खुलेको गग्रेटो कच्चीबाटो । ठाउँठाउँमा पहिरो गएको । ओरालो झर्दैगर्दा टुरगाइड माया मेडमको चप्पल चुड्यो । खहरे बाटोमा खालीखुट्टा कति दुःख भयो । स्वयम्लाई थाहा होला । चुडेको चप्पल फाल्दिउँ ? भन्नु भयो । मैले सुझाए नफाल्नु । सिलाएर प्रयोगमा आउँछ । शरीरमा पहिरेको चुन्निलाई इँकित गर्दै खालीखुट्टा हिड्नुभन्दा चुन्नीलाई खुट्टामा बाँधेर हिडे जाति हुन्थ्यो कि ! दल सरको गनगन थियो । बल्तल्ल ओह्रालोमा चिप्लेटी मार्दै अँध्यारोमा घरमा पुगियो ।
बिजुलीवत्ती दिउँसैदेखि गएको रहेछ । चकमन्न अँध्यारो । वर्खामा पहिरोले बिजुलीको पोल ढलेर एकआपसमा तार खप्टिएर लाईन गएको रहेछ । गाउँकै युवा अगुवा जीवन भाइ र ज्ञानु राना सरको टीम बिजुली वत्ती बनाउन खटिनु भयो । नाम्लो रसीले मर्मत गरेपछि बत्ती आयो । जीवन भाइको हात मर्केछ । हामी खाना पकाउनमा व्यस्त थियौं । दल सरले प्याज ,लसुन, टमाटर काट्नमा सहयोग गर्नुभयो । मैले स्थानीय कुखुराको मासु पकाएँ । माया मेडमले सेतो मकैको आँटो पकाउनु भयो । सबै खाना तैयार गरेसी गफिदै ढिका परेको दहीमही सिस्नो–आटोसहित पारिवारिक वातावरणमा सबैले अर्गानिक खान्की खायौं ।
पहिलो दिन,साउन १० गते विहान होमस्टे सम्बन्धि आधारभूत तालिम थियो । तालिममा जानु अघि माया मेडमको चुडेको चप्पल मर्मत गरिदिएँ । मेरो साथमा सिलाउने सामग्री थियो । माया मेडमको घरनजिकै ढोलीमारा सामुदायिक भवनको हलमा तालिम थियो । भवन स्थानीय युवा क्लब र वडा कार्यालयको सहयोगमा बनेको रहेछ । प्रमुख अतिथिको ढिलो आगमन हुने भएकाले परिचयात्मक कार्यक्रमबाट अनौपचारिक रुपमा तालिम सामाजिक अभियन्ता माया रानाले संचालन गर्नुभयो । मुख्य सहजकर्ता दल सर हुनुहुन्थ्यो । परिचय पश्चात मायाको चिनो तैयार पार्न दल सरलाई ईशारा गरी म बाहिरिएँ । स्थानीय प्रस्तर चेप्टो ढुङ्गामा स्थानीय गाउँकै दृश्यचित्र एक्रेलिक रङबाट तैयार पारें । हलभित्र दल सरले तालिममा सहभागीहरुलाई कलात्मक तरिकाले हँसाई फकाई प्रोजेक्टर प्रयोगबाट बेजोड तरिकाले सहजीकरण गर्नुभएको थियो । यद्यपि मभित्र गएर बुझ्न सुन्न पाइनँ ।
म आफ्नै कामना ब्यस्त रहें । बीचमा मुख्य मान्छेको उपस्थिति पछि औपचारिक कार्यक्रम पनि सुरु भयो । कार्यक्रमको अन्त्यतिर ढोलीमारा सामुदायिक होमस्टेका अध्यक्षलाई मायाको चिनो प्रदान गर्ने अवसर मिल्यो । उपस्थित महिला दिदीबहिनी दाजुभाइहरुले जोगाईराखेको परम्परागत संस्कृतिको दम्फु मादलसहितको झ्याउरे, चुड्का भाका उधुम गाए । जीउ हल्का भएर हो कि ! यो अधवैंसे पनि के कम फनफनी नाँच्यो । दोस्रो दिनको तालिम सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धि टीम विल्डिङ तालिम थियो । दश बजेबाट संचालन हुने भएकोले बिहानको समय किवि व्यवसायिक खेती हेर्न उकालो लागियो । हामीलाई गाईड गर्नुभएको थियो माया मेडमका श्रीमान ज्ञानु रानाले । शारीरिक रूपमा केही अस्वस्थ हुनुहुँदो रहेछ । सात वर्ष भएछ प्यारालाइसिस भएको ।
सुरुमा ओ .के .बाजेको निवास देखाउनु भयो । ढोलीमारा किवी खेती कृषक समूहले २०७० सालमा परीक्षण र २०७७ सालमा व्यवसायिकरुपमा २५ रोपनी जग्गामा हवोर्ड र एलिसन प्रजातिका किवी १३ सय देखि १५ सय मी .उचाईमा लगाईएको रहेछ।जसबाट ६० घरधुरी लाभान्वित हुने ज्ञानु राना सरले बताउनुभयो।किवी खेती अवलोकनपछि बिस्तारै घरतिर झरियो । पहिलोपटक ओ .के .बाजेले ४५ हजारको लागतमा बनाईदिएको विद्यालयको प्राङ्गणमा सामुदायिक होमस्टेद्वारा पाहुनाहरुलाई सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा रहेछन् । सोही विद्यालयमा सीमा बहिनीहरुको समुहले तालिमका लागि पुरी र तरकारी नास्ता तैयार गरिरहेका थिए ।
एकैछिन हामी त्यही गफियौ । तालिम दिने समय भैसकोले घरमा गएर खाना खाई तालिम हलतिर हिड्यौ । बिजुली बत्ती गैइरहेकोले समस्या आइरहेको थियो । त्यो बिचमा माया मेडमले तालिममा अपनाउनु पर्ने नियमहरु हलको भित्तामा टाँगिसक्नु भएर तालिमलाई परिचयात्मक कार्यक्रमसहित अगाडि बढाउनुभयो । लगतै बिजुलीवत्ती आयो । दल सरले तीनवटा सहकारी संचालकहरुलाई तालिमको सहजीकरण गर्नुभयो । म आफ्नै कला सृजना गरी कार्यक्रम व्यवस्थापन गर्नुहुने माया मेडमलाई मायाको चिनोस्वरुप प्रदान गर्नको लागि वहाँकै मुहारचित्र वनाउन व्यस्त रहें ।तालिमको अन्त्यतिर मेरो पनि वर्तमान अवस्थामा सहकारीको चुनौती बारे सहजीकरण थियो ।
समय घर्किरहेको थियो छोटकरीमा छलफल भयो । तालिम उत्साहजनक रहेको सहभागी सबै सहकारी संचालकहरुको भनाई थियो । तीजगीतमा दिदीबहिनीहरुसंग ढोलीमारामा धुलै उडाएरै नाँचियो । बारुले कम्मर भाँचियो ! माया मेडमलाई मायाको चिनो प्रदान गरियो । मन मुटु भरियो । बसाईको तीनदिनपछि १२ गते बिहान सात बजे घर फर्किने समय थियो । हामीलाई आत्मीयताका साथ बास बस्ने कोठा उपलब्ध गराउनुहुने डोलबहादुर भाइको हार्डवेयर तथा सब्जीपसल रहेछ केजीका सयका दरले पाँच किलो टमाटर खरिद गरें ।
माया मेडमले बाटोखर्च भुटेको मकै भटमास, त्योसंग मिल्ने चुत्राको झिल्केपानी र नामै नजानेको फल पनि दिनु भयो । खाँदा मिठो कोशेलीको रुपमा झोला राख्दिनु भयो । बस घर अगाडि हर्न बजाउदै थियो । हतारैमा विदावारी हँुदै बस चढियो । सानो उमेर भएपनि बस चालक सीपले पाका रहेछन् । बटौली राम्रै ल्याए । चालक भाइलाई धन्यवाद ।
दल सर त्यही बसमा घरतिर लाग्नुभयो । म पनि गोलपार्क ओर्लेर माइक्रोबसमा पश्चिम बेलबास घरतिरै लागें । नूनसँगै सुन महँगिएको वेला ! खोई ढोलीमारा र माया मेडम अनि परिवारको गुन कहिले तिरिएला कुन्नि !
प्रतिक्रिया