ताजा अपडेट »

एनप्याब्सन फुटवलको उपाधि स्कलर्सलाई

शनिबार, ११ माघ २०७६

माघ ११,

ग्लोबल आवाज

बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय फुटवलको उपाधि बुटवलको स्कलर्स होम बोर्डिङ्ग स्कुलले जितेको छ । बुटवल स्थित कालिका मानवज्ञान खेल मैदानमा शनिबार भएको फाइनल खेलमा सालझण्डीको नवप्रभात बोर्डिङ्ग स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै स्कलर्स होमले उपाधि चुमेको हो । उपाधि सहित स्कलर्स होमले शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भएको जिल्ला स्तरीय मावि फुटवल प्रतियोगितामा देवदहका न्यू नमूना बोर्डिङ्ग स्कुल र देवदह बोर्डिङ्ग स्कुल तृतीय बने । उनीहरुले क्रमशः शिल्ड, मेडल, प्रमाणपत्र हात पारेको खेल संयोजक तथा नेशनल प्याब्सनका पूर्व अध्यक्ष देउप्रकाश राइले जानकारी दिए । यस्तै प्रतियोगितामा स्कलर्स होमका युकेश सुनार वेष्ट फर्वाड, जीवन राई वेष्ट डिफेन्डर, अभिषेक सुनार वेष्ट किप्पर र बिज्ञान गुरुङ्ग वेष्ट प्लेयर बने भने उपविजेता नवप्रभातका एरोन थापाले वेष्ट मिड फिल्डर बने । विजयी विद्यालय तथा उत्कृष्ट खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै प्रदेश ५ का प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले विद्यार्थी जीवनको खेलको महत्व धेरै भएकाले शैक्षिक संस्थाहरुले समयसमयमा खेलकूदका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु विद्यालय स्तरमा निरन्तर हुनुपर्ने उनको जोड थियो ।

नेशनल प्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, बालाकृष्ण तिवारी, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल, जिल्ला सचिव बाबुराम बञ्जाडे लगाएतले विजयी विद्यालय तथा उत्कृष्ठ खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।