बुटवल । एकीकृत सम्पत्ति कर ७ सय प्रतिशतसम्म बढाएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चौतर्फी आलोचना भएपछि विशेष नगर सभा बोलाएर निर्णय सच्याएको छ । सबै दल, नागरिक समाजबाट अस्वाभाविक कर वृद्धिबारे आलोचना भएपछि बिहीबार १४ औँ विशेष नगर सभा बोलाइएको थियो ।
नगर सभाले यसअघि भएको निर्णय सच्याउँदै २० प्रतिशत मात्रै वृद्धि गर्नेगरी निर्णय पारित गरेको बैठकमा सहभागी एक सदस्यले बताए । यद्यपी असन्तुष्ट पक्षले १० प्रतिशत वृद्धि गर्नुपर्नेमा एक्कासी २० प्रतिशत वृद्धि गरिएको भन्दै बैठक बहिस्कारको घोषणा गरी बाहिरिएका थिए । मेयर इस्तियाक अहमत खाँले बजरजस्ती निर्णय गराएको बैठकमा सहभागी वडा नम्बर ८ का अधयक्ष प्रकाश पाण्डेले बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित युनिक बैंक्वेटमा सम्पन्न नगरसभाले बहुमतको आधारमा निर्णय गरेको हो ।
यसै बीच नगर सभामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि त्यसको आलोचना भएको छ । ‘यो आन्तरिक कार्यक्रम हो’ भन्दै पत्रकारलाई समाचार सङ्कलनका लागि कार्यक्रम स्थलमा जानबाट रोक लगाइएको बुटवल टुडेका पत्रकार शशी पन्थीले बताए । उक्त बैठकमा जनप्रतिनिधिले पत्रकारलाई कार्यक्रममा बोलाएका थिए । तर नगरपालिकाका प्रेस सल्लाहकार सलमान खानले कार्यक्रम स्थलमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई यो आन्तरिक कार्यक्रम हो भन्दै फर्काएको ती पत्रकारले जनाएका छन् । प्रेस सल्लाहकारले कार्यक्षेत्र नाघेर पत्रकारलाई समाचार सङ्कलनमा रोक लगाउनु खेदजनक भएको नगर सभामा जान नपाएका पत्रकार पन्थीले बताए ।
प्रतिक्रिया