ताजा अपडेट »

ऊर्जा दक्षतायुक्त र वातारवरणमैत्री घर निर्माणमा जोड

बुधबार, २४ साउन २०८०

बुटवल । घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने गरी एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । युरोयिन युनियन अन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा लुम्बिनी प्रदेशका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले सो धारणा व्यक्त गरेका हुन् ।

तीव्र सहरीकरण र आनधुनिक जीवनशैलीका कारण निर्माण गरिएका घर तथा भवनभित्र तताउन वा चिस्याउन कूल ऊर्जाको झन्डै ६० प्रतिशत खपत हुने गरेको बताइएको छ । स्थानीय सरकारले भवनको आचारसंहिता तर्जुमा वा कार्यान्वयन गराउँदा भूकम्पीय सुरक्षाजस्तै ऊर्जा दक्षतामा पनि ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

कार्यक्रममा बुटवल उपहानगरपालिका प्रमुख खेलराज पाण्डेयल मानिसको अधिकांश समय घर वा भवनभित्र नै व्यतित हुने हुँदा घरलाई ऊर्जा एवं वातावारणमैत्री राख्न आवश्यक भएकाले पालिकाले अब बन्ने नयाँ घरहरुमा यस विषयलाई महत्व दिनु पर्ने बताए । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पहिला माटोबाट घरहरु निर्माण भए स्वास्थ्य अनुकुल हुने गरेको बताउँदै अहिले बनेका घरहरुमा स्वास्थ्यका दृष्टिकोणले प्रतिकुल हुने गरेकाले यसमा नयाँ घर बनाउँदा विशेष ध्यान दिनु पर्ने बताए ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जलवायु परिवर्तनका समस्या न्यूनीकरण र दिगो विकासका लक्ष्य हासिल गर्न सहरलाई दिगो र ऊर्जा दक्षतायुक्त बनाउनुपर्नेमा जोड दिए । सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका अधिकृत छविकिरण पौडेलले देशभरि एउटै ढाँचाको नभई ठाउँ, त्यहाँको हावापानीअनुसार घर वा भवनहरु निर्माण गर्नु पर्ने बताए ।

बिनका पोजेक्ट प्रमुख डेनियल नेयरले सन् २०२२ देखि कार्यान्वयनमा आएको यस कार्यक्रममार्फत ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित २०० वटा भवनहरू निमार्ण गर्न सहजीकरण गर्ने, ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग गरी आठ वटा नमुना भवन निर्माण गर्न सहयोग गर्ने, यसका लागि जनशक्ति विकास वित्त व्यवस्थापन एवं बजारीकरणमा जोड दिइएको जानकारी दिए ।

कार्यक्रममा बिनकी सहयोग मोडालिटी उषा मास्के मान्धरले अहिले निर्माण भएका भवनहरुमा उर्जाको धेरै खपत भएकाले सरकारले नीतिगत रुपमा नै उर्जालाई कम खपत गर्ने गरी काम गर्नु पर्ने बताइन् । यस्तै वैकल्पिक उर्जा प्रबन्धन केन्द्रका सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले भवन निर्माण गर्दा उर्जा कम खपत र वातावरणमैत्री बनाउनु पर्ने बताइन् ।

विभिन्न विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा लुम्बिनी प्रदेशका २१ पालिकाका प्रमुख, उपप्रमुख र प्राविधिकहरुको सहभागिता रहेको थियो ।