ताजा अपडेट »

रोजगार, स्वरोजगार र युवा

मंगलबार, २३ साउन २०८०

नेपालमा बेरोजगारी आजकोे प्रमुख समस्या हो । देशमा रोजगारीको अभावमा लाखौँ युवाहरू विदेशिन बाध्य छन् । उच्च शिक्षाको बहानामा होस, या श्रमका लागि होस वर्षेनी पाँच लाख बढी युवाहरुले देश छोड्नु परेको छ । नेपालको आन्तरिक श्रमबजार ज्यादै साँघुरो छ । देशको आन्तरिक श्रम बजारले वार्षिक चानचुन ५० हजार बाहेक अतिरिक्त जनशक्तिलाई रोजगारी दिन सक्दैन ।

युवाहरूको श्रम, सीप, दक्षता सिर्जनात्मकताको उपयोग गरेर नै देश समृद्ध बन्न सक्ने कुरामा दुई मत छैन । नेपालको कुल जनसंख्यामा श्रमयोग्य युवाहरूको हिस्सा उच्च भएपनि यसको उपयोग हुन सकेको छैन । विज्ञहरू युवाहरूको यो संख्यालाई जनसांख्यिक लाभको रूपमा परिभाषित गर्ने र यसको सदुपयोग गर्नुपर्ने बताउँछन् । यस्तो जनसाङ्ख्यिक लाभांश समुन्नत र समृद्ध नेपालको आधार बन्ने उच्च सम्भावना हुँदाहुँदै पनि युवालाई देशमै जनशक्तिको सिर्जनात्मक उपयोग गर्न सकेको छैन ।

विभिन्न सीमितताका कारण उत्पादनशील उमेरका युवाहरू अनिश्चित जीवन बाँच्न अभिशप्त छन् । यसले युवाको समग्र विकासमा नकारात्मक प्रभाव पारेको छ । युवा विकास सूचकांक गणना गर्दा युवाहरूको स्वास्थ्य, शिक्षा, रोजगारी र अवसर, समानता र समावेशिता, राजनीति र नागरिक सहभागिता, शान्ति तथा सुरक्षा जस्ता विषयहरूलाई आधार बनाइएको हुन्छ । देशमा विभिन्न राजनीतिक परिवर्तनका बाबजुद नेपाली युवाको अवस्थामा खासै सुधार हुन सकेको छैन । दैनिक झन्डै १५०० बढी युवा कामको खोजीमा विदेशिन बाध्य छन् । अर्कोतर्फ असुरक्षित श्रमका कारण वर्षेनी हजारौँ युवाले ज्यान गुमाउनुपरेको अवस्था छ ।

देशमा रोजगारीका अवसर सीमित छन्, श्रमका लागि विदेशिने युवाहरूलाई आवश्यक सीप तथा तालिमको व्यवस्था हुन सकेको छैन जसले गर्दा अदक्ष कामदारका रूपमा विदेशिन बाध्य युवाहरूको पारिश्रमिक पनि न्यून हुनुका साथै जोखिमयुक्त श्रम गर्नुपर्ने बाध्यता पनि रहेको छ । करिब २४ लाख नेपाली युवाहरू (भारत बाहेक) श्रमका लागि विदेशीएका छन् । यसमा अध्ययनका लागि विदेशिएका युवाहरूको संख्या पनि उच्च छ । त्यसोत यसरी विदेशीएका युवाबाट प्राप्त विप्रेषणले देशको कुल ग्रार्हस्थ्य उत्पादानमा झण्डै एक चौथाई योगदान दिने गरेको छ । विप्रेषणले अर्थतन्त्रलाई वर्तमानमा ठूलो टेवा पुर्याए पनि यो दिगो हुन सक्दैन । त्यसैले यी युवाशक्तिलाई देशमा नै श्रम गर्न सक्ने वातावरण निर्माण आजको प्रमुख आवश्यकता हो ।

सामान्यतः १८ वर्ष देखि ६० वर्ष उमेर समूहलाई श्रमका लागि योग्य उमेरका रूपमा लिने गरिन्छ भने यस उमेरका जनशक्तिको उत्पादकत्व पनि उच्च हुन्छ । तर सामाजिक मनोविज्ञानका कारण पनि युवाहरूको प्राथमिकता विदेश पर्दै आएको छ । यो मनोविज्ञानलाई चिर्दै र देशभित्रै रोजगारी लगायत व्यवसायको अवसर सिर्जना गर्नु चुनौतीका रूपमा रहेको छ । नेपाली युवाहरूको ठूलो हिस्सा स्वरोजगारका साना तर दिगो विकल्पलाई छोडेर आन्तरिक वा विदेशी श्रमबजारमा श्रम बेच्न प्राथमिकता दिन्छ । त्यस्तै गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, व्यवसायिक सीप र प्रविधिको पहुँचबाट टाढा, गन्तव्य विहीनता, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, राजनीतिक अस्थिरता, युवाको कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी तथा उद्यम वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय विभेद र बहिष्करण, विश्वव्यापीकरण तथा उदारीकरणको प्रभावले ल्याएका चुनौती रहेका छन् ।

युवा प्रतिभा पलायन रोक्न नसक्नु, युवा लक्षित नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वय हुन नसक्नु, जनशक्तिको बजार माग र आपूर्तिबीच सामाञ्जस्य हुन नसक्नु, युवा विकासका लागि ठोस योजना नहुनु, समाजमा विभेद, अन्धविश्वास जस्ता कुरीति विद्यमान हुनु, युवासँग सम्बन्धित तथ्यांकीय आधार नहुनु जस्ता सीमितता रहेका छन् । यि विविध सीमितताका बाबजुद पनि देशमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि सरकारी तवरबाट विभिन्न प्रयास हुँदै आएतापनि प्रभावकारी हुन सकेको छैन ।

यसमा एकातर्फ सरकारी प्रयासमा पनि केही र कहीँ कमजोरी रहेका छन् भने रोजगारीको सन्दर्भमा नेपाली समाजको मनोविज्ञान पनि संकुचित घेरामा अल्झिएको छ । नेपालको सन्दर्भमा युवा विकासका लागि संवैधानिक व्यवस्था हुनु, यी अवसरहरूलाई अझ विस्तार गर्दै युवाहरूको क्षमतालाई देशभित्रै उपयोग गर्न सके देशको आर्थिक वृद्धि र समृद्धिले गति लिन सक्नेमा विश्वस्त हुन सकिन्छ ।