ताजा अपडेट »

तस्करी नियन्त्रणमा रुपन्देही प्रहरी, कुखुरा उल्टो झुण्ड्याउनेलाई पनि मुद्दा

आइतबार, २१ साउन २०८०

भैरहवा । नेपाल भारतको खुल्ला सीमा रुपन्देही प्रहरीको टाउको दुखाईको बिषय हुने गरेको छ । करिब ६० किलोमिटर लामो सीमामा तस्करी नियन्त्रणको लागि प्रहरीले बिभिन्न उपायहरु अपनाउने गरेको छ । सीमामा रहेका प्रहरी चौकीहरु छलेर आएका तस्करीका समान प्रहरीले बरामद गरि भन्सार बुझाउने गरेको थियो ।

अवैध समानहरु भन्सार बुझाए पनि ओसार प्रसारमा संलग्नहरु थोरै मात्र पक्राउ पर्ने गर्दथे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी उपरिक्षकको रुपमा भरत बहादुर विश्वकर्माको आगमन संगै तस्करीका समान संगै तस्करहरु पनि पक्राउ पर्न थाले । तस्करले प्रयोग गर्ने गाडीहरु पनि नियन्त्रणका लिई प्रहरीले अवैध कारोबार नियन्त्रणको प्रयास थाल्यो । यसले तस्करीमा केही कमि त आयो तर सीमामा कारोबारीहरु सक्रिय नै रहे ।

प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको अनुसार प्रहरी अब तस्कर प्रति अझै कडा रुपमा प्रस्तुत हुनेछ । “यसको लागि अब तस्करीमा संलग्नहरुलाई मुद्दा नै चलाउदैछौं ।” विश्वकर्माले भने “यस अघि बरामद सामाग्री एवम ब्यक्ति भन्सार कार्यालयलाई बुझाउने गरेका थियौ, अब मुद्दा चलाउने छौं ।”

रुपन्देही प्रहरीले यसको सुरुवात पनि गरेको छ । सुरुमै परेका छन कोटहीमाई गाँउपालिका वडा नम्बर ३ बस्ने १८ बर्षिय दिलिप लोध । लोध सीमा क्षेत्रबाट अवैध रुपमा कुखुरा तस्करीमा संलग्न ब्यक्ति हुन् । मोटरसाईकलमा कुखुरालाई झुण्ड्याएर नेपाल छिराउने उनलाई प्रहरीले पशुपंक्षी सम्बन्धि कसुरमा मुद्दा चलाएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी विश्वकर्माका अनुसार लोधलाई पशुपंक्षी प्रति निर्दयी ब्यवहार गर्न नहुने ब्यवस्था अनुसार मुद्दा दर्ता गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लोधलाई साउन १६ गते लु४प २९९३ नम्बरको मोटरसाईकलमा ५२ थान कुखुरा खुट्टामा रस्सीले बााधेर उल्टो झुण्ड्याएर ल्याउदै गरेको अवश्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । “भन्सार छली चोरी पैठारीमा संलग्नलाई भन्सार कार्यवाही अतिरिक्त पशुपंक्षीलाई क्रुर ब्यवहार देखाउनेलाई मुद्दा दर्ता गरि प्रक्रिया अगाडी बढाएका छौं ।” विश्वकर्माले भने “यसलाई अभियानकै रुपमा अब निरन्तर लैजाने छौं ।”

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत आर्थिक बर्षमा ६ करोड बढीको अवैध समान बरामद गरि भैरहवा भन्सार कार्यालय पठाएको थियो । सोही अवधिमै प्रहरीले ४९ वटा मोटरसाइकल, २ वटा छोटा हात्ती, ४ वटा ट्रक, २ वटा बोलेरो, १ वटा बस, १ वटा ट्याङ्कर, ३ वटा ट्याक्टर र साईकल १९ वटा नियन्त्रणमा लिएको थियो ।