बुटवल । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कानुनी अधिकार हनन भएको भन्दै मानवाधिकारकर्मी आपत्ति जनाएका छन् । तेस्रो लिङ्गी भएकै कारण आफूहरु समाजबाट अपहेलित भएकोे र राज्यको दृष्टिमा समेत उपेक्षित हुनुपरेको उनीहरुको गुनासो छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवल अन्तर्गत कानुनका विद्यार्थीहरुको ‘लिगल एण्ड सिभिक इस्युज’ नामक संस्थाको आयोजनामा बिहीबार सम्पन्न नेपालमा समलिङ्गी विवाहको वैधानिकीकरण विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले एउटै कानुनमा एक आपसमा बाझिने प्राबधानका कुराले नागरिकले समस्या भोग्नुपरेको बताएका थिए । उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले काननुले कसैलाई भेदभाव गर्न नहुने भन्दै सबैलाई समान व्यवहार हुनुपर्ने बताए ।
सो अवसरमा साहसी कदम नेपालका अध्यक्ष एवम् मानव अधिकारकर्मी तथा तेस्रो लिङ्गी आनिक राना मगरले हालै सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई दर्ता गर्न अन्तरिम आदेश दिएको तर काठमाडौ जिल्ला अदालतले एक समलिङ्गी जोडीको विवाह दर्ता गर्न अस्वीकार गरेको घटनाले आफूहरु न्यायालयबाटै उपेक्षित हुनुपरेको गुनासो गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका कानुन तर्फका सहप्रध्यापक अधिवक्ता बद्रीप्रसाद शर्मा गौतमले समलिङ्गी विवाहका दार्शनिक र ऐतिहासिक पाटो उल्लेख गर्दै सबैको मानवअधिकारको रक्षा हुनुपर्ने बताए ।
सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्रकुमार न्यौपानेले समलिङ्गी विवाहको कानुनी पाटो केलाउदै कानुनकै विद्यार्र्थीद्वारा सञ्चालित कार्यक्रमले कानुनी चेतना फैलाउन मद्दत पुगेको बताए । कानुनका विद्यार्थीकै पहलमा सम्पन्न भएको कार्यक्रममा समलिङ्गी विवाहबारे विज्ञहरुले आफ्ना अनुभूती र कानुनी एवम् व्यावहारिक पाटोबारे प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष अमर पाण्डेले समलिङ्गी विवाहबारे आम नागरिकमा भएका भ्रम चिर्दै कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रम बिजय सुनारको संचालन , विद्यार्थी मन्जिला ज्ञवालीले सहजीकरण गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रश्न संकलन गरी तीनजना फरकफरक क्षेत्रका विज्ञहरुलाई प्रश्न सोधिएका थिए ।
प्रतिक्रिया