ताजा अपडेट »

गुल्मीमा पालिका बाहेकका विभिन्न सरकारी निकायमा करिब एक अर्ब बजेट फ्रिज

आइतबार, १४ साउन २०८०

गुल्मी । गुल्मीमा स्थानीय तह बाहेक संघ र प्रदेशबाट विभिन्न सरकारी कार्यालयमा गत वर्ष विनियोजित कुल बजेटको करिव ९ प्रतिशत काम हुन नसकी करिब एक अर्ब रकम फ्रिज भएको छ । कोष तथा लेखा निरीक्षक कार्यालय मार्फत भुक्तानी हुने उक्त बजेट मध्ये उक्त रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष निरीक्षक छविन्द्र बेलबासेले जानकारी दिए ।

प्रमुख कोष निरीक्षक बेलाबासेद्धारा प्राप्त विवरण अनुसार संघ र प्रदेशबाट गत कुल १० अर्ब ९९ करोड ९३ लाख ७६ हजार ४३४ रुपैयाँ बजेट विभिन्न सरकारी कार्यालयका लागि विनियोजन भएको थियो । जुन बजेटको ९१.८८ प्रतिशत खर्च हुनुलाई राम्रो प्रगतिका रुपमा लिने गरिएको छ । कुल बजेट मध्ये १० अर्ब १० करोड ५६ लाख ८८ हजार ६०३ रुपैयाँ बराबरको काम भएको छ । ८.१२ प्रतिशत काम हुन नसकी ८९ करोड ३५ लाख ८६ हजार ६३१ रुपैयाँ फ्रीज भएको हो ।

सबै भन्दा बढी फ्रिज रकम प्रदेश सरकारबाट विनियोजित बजेटमा रहेको छ । प्रदेश सरकारबाट गत आर्थिक वर्षमा कुल विनियोजित बजेट २ अर्ब ४१ करोड ५ लाख एक हजार १ हजार ६७० विनियोजित भएकोमा १ अर्ब ९१ करोड ५७ लाख ९८ हजार ५५ रुपैयाँ कुल खर्च भएको छ । कुल रकमको खर्च प्रतिशत ७९.४८ प्रतिशत हुन आउँछ । कुल बजेटको २०.५२२८ प्रतिशत खर्च हुन नसकी ४९ करोड ४७ लाख ३ हजार ६१५ रुपैयाँ फ्रिज गएको छ ।

त्यस मध्ये चालु तर्फ ९२ करोड ९१ लाख ३ हजार ६७० रुपैयाँ विनियोजित भएकोमा ८१.१७ प्रतिशतच खर्च हुन सकेको छ । अर्थात ७५ करोड ४२ लाख १८ हजार ८० रुपैयाँ बराबरको काम भएको छ । यो शिर्षकमा १८.८३ प्रतिशत काम हुन नसकी १७ करोड ४९ लाख १२ हजार ५९० रुपैयाँ फ्रिज भएको छ ।

पूँजीगत तर्फ १ अर्ब ४८ करोड १३ लाख ७१ हजार विनियोजित भएकोमा ७८.४१२५ प्रतिशत खर्च भएकोछ । अर्थात १ अर्ब १६ करोड १५ लाख ७९ हजार ९७५ रुपैयाँ बराबरको काम भएको छ । बाँकी २१.५८७५ प्रतिशत काम हुन नसकी ३१ करोड ९७ लाख ९१ हजार २५ रुपैयाँ फ्रिज भएको छ । संघको कुल बजेट ८ अर्ब ५८ करोड ८८ लाख ७४ हजार ७६४ रुपैयाँ विनियोजित भएकोमा ९५.३५ प्रतिशत खर्च अर्थात ८ अर्ब १८ करोड ९९ लाख ६४८ रुपैयाँ बराबको काम भएको छ । जसमा ४.६५ प्रतिशत काम हुन नसकी ३९ करोड ८९ लाख ७४ हजार ११६ रुपैयाँ फ्रिज भएको छ ।

संघको चालु तर्फ कुल ७ अर्ब ५९ करोड ६२ लाख ५७ हजार २४ रुपैया विनियोजित भएको मध्ये ९६.५८ प्रतिशत खर्च भएको छ । अर्थात ७ अर्ब ३३ करोड ६० लाख ९९ हजार ३०४ रुपैयाँ बराबरको काम भएको छ । जम्मा ३.४२ प्रतिशत मात्रै काम हुन नसकी २६ करोड १५ लाख ७ हजार ७१९ रुपैयाँ फिर्ता भएको छ । त्यस्तै पूँजीगत तर्फ ९९ करोड २६ लाख १७ हजार ७४० रुपैयाँ विनियोजित भएकोमा ८६.०२ प्रतिशत खर्च भएको छ । अर्थात ८५ करोड ३८ लाख ९१ हजार ३४३ रुपैयाँ बराबरको काम भएको छ । यो शिर्षकमा १३.९८ प्रतिशत काम हुन नसकी १३ करोड ८७ लाख २६ हजार ३९७ रुपैयाँ फ्रिज गएको छ ।

संघबाट विनियोजित बजेट मध्ये सबै भन्दा बढी रकम करदाता सेवा कार्यालयको फिर्ता गएको छ । कुल ८ लाख २५ हजार १ हजार १० त्यस कार्यालयलाई विनियोजन भएकोमा जम्म ६१.६४ प्रतिशत खर्च भएको छ भने बाँकी रकम फिर्ता गएको छ । त्यस्तै प्रदेशबाट विनियोजन बजेट मध्ये जिल्ला प्रहरी कार्यालयमा सबै भन्दा बढि रकम फिर्ता गएको छ । त्यस कार्यालयलाई गत बर्ष १ करोड १० लाख विनियोजन भएकोमा जम्मा २७.०६ प्रतिशत मात्रै काम भएको लेखा निरिक्षक कार्यालयको विवरणमा उल्लेख छ ।

जम्मा २९ लाख ७६ हजार २१६ रुपैयाँ खर्च भएको छ भने बाँकी एक करोड बढि रकम फिर्ता भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधान संग बुझ्दा उक्त बजेट रुरुक्षेत्र गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी भवन निर्माणका लागि परेको तर जग्गा उपलब्ध हुन नसक्दा फिर्ता भएको जानकारी दिए । त्यस्तै इस्मा गाउँपालिकामा संचालित जिवराज आश्रित बहुप्राविधिक शिक्षालयका लागि पनि संघबाट गत बर्ष १ करोड ७५ लाख ६ हजार विनियोजन भएकोमा जम्मा ५१.९५ प्रतिशत खर्च भएको र बाँकी ८४ लाख ७१ ह्जार ४७ रुपैयाँ फिर्ता गएको छ । कोलेनिका मार्फत प्रदेशबाट परेको बजेटको शत प्रतिशत काम गर्नेहरुमा रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका , कालिगण्डकी गाउँपालिका , गुल्मीदरबार र छत्रकोट गाउँपालिका रहेका छन ।

गत वर्ष प्रदेशबाट गुल्मीका २० वटा सरकारी कार्यालय र १० वटा गाउँपालिकालाई विभिन्न शिर्षका बजेट कोलेनिका मार्फत परेका थिए । सो कार्यालय मार्फत संघबाट २६ वटा सरकारी कार्यालय र १२ वटै स्थानीयतहलाई विभिन्न शिर्षकमा बजेट छुट्टीएको थियो । संघ र प्रदेशबाट सिधै पालिकामा आउने बजेटको पालिकागत खर्च विवरण भने आउन बाँकी छ ।