ताजा अपडेट »

लागुऔषधसहित ७ जना पक्राउ

आइतबार, १४ साउन २०८०

काठमाडाैं । कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । कैलालीकाे टीकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित दुईजनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ ब्लक नम्बर ११ वस्ने २४ वर्षीय आवाश भट्टराई र सोही नगरपालिका-१ ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जीवन रावल रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.५ प ३७४ नम्बरको मोटेरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीकै धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-८ बस्ने २१ वर्षीय विवेक चौधरीलाई ६ सय ५० मिलिग्रामसहित तथा सोही उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१० दोदाबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २८ वर्षीय प्रदिप पाख्रिन र सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने ३३ वर्षीय बिकल मगर रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०२-००३ प ६४३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।