भैरहवा । सन २०१० मा १८ वटा बाघबाट संरक्षण सुरु भएको बर्दिया राष्ट्रिय निकुन्जमा अहिले १ सय २५ वटा बाघ रहेका छन । रसियाको सेन्टपिट्र्समा आयोजित बाघ सम्मेलनमा नेपालले गरेको प्रतिवद्धता अनुसार अहिले बाघको संख्या दोब्बर पुगेको छ । सम्मेलनले बाघ भएका मुलुकलाई संरक्षणमा सुधार गरेर सन २०२२ सम्म संख्या दोब्बर पु¥याउनु पर्ने सहमती गरेको थियो । तर अहिले उक्त संख्या १ सय २५ पुगेको छ । यसले बासस्थानलाई लिएर मानव र बाघ बिचको द्धन्द्ध पनि बढेको छ ।
बर्दिया राष्ट्रिय निकुन्जको कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ७ जनाको मृत्यु जङ्गली जनावरको आक्रमणका परि मृत्यु भएको छ । यस्तै ७ जना सामान्य घाईते र १४ जना सख्त घाईते भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा १ हजार २ सय ९३ वटा पशुधनको क्षति भएको छ । निकुन्ज छेउछाउ बस्ने ९६ वटा घरगोठमा क्षति पुगेको कार्यालयका सूचना अधिकारी आशिष न्यौपानेले बताए । क्षति मानविय बस्तीमा मात्र हैन, मानवका कारण जङ्गली जनावरहरुमा पनि उत्तिकै क्षति पुगेको छ । सूचना अधिकारी न्यौपानेका अनुसार गत आर्थिक बर्षमा सडक दुर्घटनाबाट ३६ वटा र अन्य कारणबाट ६० वटा जनावरको मृत्यु भएको छ । गत आर्थिक बर्षमा बाघको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको सूचना अधिकारी न्यौपानेको भनाई छ ।
बाघको संख्या बढ्दै जानुले एक तर्फ संरक्षणकर्मिहरुलाई खुशी बनाएको छ भने अर्को तर्फ मानव र बाघ बिच द्धन्द्ध बढ्दै जाने भन्दै चिन्ता पनि थपिदै गएको छ । बाघको बढ्दो संख्याको कारण उनिहरु आवश्यक सुरक्षित बासस्थान, आहारा एवम पानीको खोजीमा बस्ती पस्ने गरेको घटनाहरु घट्ने गरेको छ । बर्दिया राष्ट्रिय निकुन्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बाघको लागि आहारा, पानी र बासस्थानको ब्यवस्थापन गर्न सके मानव र बाघ बिचको द्धन्द्ध धेरै कम गर्न सक्ने बताउछन । “बासस्थानको अभावमा बाघ–बाघ बिच नै द्धन्द्ध हुन्छ, यसले एउटै बाघले ठूलो क्षेत्रमा कब्जा गरि बस्ने सम्भावना हुन्छ ।” थापाले भने “यसकारण कमजोर बाघहरु मानव बस्तीको छेउमा आउने वा मारिने सम्भावना रहेको हुन्छ ।” थापाले बाघबाट उत्पन्न चुनौतीलाई सम्बृद्धिसंग जोड्नु पर्ने बताउछन । उनले लक्ष्य भन्दा बढी बाघको संख्या रहेकोले अब बाघको संख्या बढाउने भन्दा पनि यसलाई ब्यवस्थापन गर्न तर्फ लाग्नेमा जोड दिनुपर्ने तर्क राखे । उनले बाघबाट मानवमा हुने क्षति र त्यसको भरपाईमा पनि काम गर्नुपर्ने बताए ।
निकुञ्ज क्षेत्रका बासिन्दालाई आकर्षित गरि बाघकै संरक्षणमा लाग्न अभिप्रेरित हुने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाई छ ।“बाघबाट प्रभावितहरुको आय आर्जनको बिषयलाई जोड्न सकिन्छ,” उनले भने “अर्को तर्फ बाघबाट मानविय क्षति जोगाउन सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्न आवश्यक छ ।” बाघबाट पशुधनको क्षति हुदा क्षतिपूर्तिको लागि बीमाको ब्यवस्था पनि गरिएको उनको भनाई छ । थापाले बाघबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेकै बाघलाई जङ्गलबाट बाहिर आउन नदिनु भएको बताए । बाघलाई बाहिर आउन नदिन बर्दिया राष्ट्रिय निकुञ्जले प्रयासहरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउछन । उनले निकुञ्जमा बाघको संख्या अझै बढाउन सकिने बताए । तर बाघको संख्या बढाउने भन्दा पनि यसको संरक्षण र ब्यवस्थापनमा निकुञ्ज केन्द्रित भएको उनको भनाई छ ।
“अब हामीले बढेको बाघको लागि आहाराजन्य क्रियाकलाप कसरी बढाउने भन्नेमा केन्द्रित रहेका छौ,” उनले भने “अबको हाम्रो काम बाघलाई आवश्यक पोषिलो खानेकुरा कसरी बढाउने भन्नेमा काम गरिरहेका छौ ।” यसको लागि निकुञ्जले प्रत्येक २/२ किलोमिटरको ग्रिड बनाईएको उनले जानकारी दिए । हरेक ग्रीडमा ३ देखि ५ हेक्टरको घाँसे मैदान, त्यहा सौर्य उर्जाबाट चल्ने मोटरबाट २४ सै घण्टा पानीको ब्यवस्था गरिएको छ । यसले बाघको सामानुपातिक आहाराको बितरण हुने र एकै ठाउमा बाघको उपस्थिति हुने सम्भावना कम हुन्छ । निकुञ्जमा ४२ वटा ग्रिड बनाएर सौर्य उर्जाबाट सञ्चालन हुने मोटर जडान गरेको बस्नेतले जानकारी दिए । चालु आर्थिक बर्षमा पनि बाघ र मानव बिचको सहअस्तित्व कायम हुने गरि र बाघलाई जङ्गलमै राख्ने गरि काम गर्ने तर्फ निकुञ्ज केन्द्रित हुने उनको भनाई छ । सन् १९७६ मा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज तराईको सबै भन्दा ठुलो संरक्षित क्षेत्र हो । पश्चिम तराईको बर्दिया, बाँके र सुर्खेत गरी ३ वटा जिल्लामा फैलिएको निकुञ्जको क्षेत्रफल ९ सय ६८ वर्ग किलोमिटर रहेको छ ।
बाघ र यसका आहारा प्रजातिको बासस्थान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको निकुञ्जमा बाघ, हात्ती, एकसिंगे गैंडा लगायत ६१ भन्दा बढि स्तनधारी प्रजाति (१० वटा संरक्षित) रहेको प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । निकुञ्जमा ५ सय १३ भन्दा बढि प्रजातिका चरा, ४२ भन्दा बढि प्रजातिका घस्रने वन्यजन्तु तथा १ सय २० भन्दा बढि प्रजातिका माछाहरुको महत्वपूर्ण बासस्थानको रुपमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत ३ वटा सेक्टर, ८ वटा रेञ्जपोष्ट र २४ वटा पोष्टहरुबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवा सम्बन्धी कार्यहरु हुदै आएको भण्डारीले बताए । स्थानीय जनताहरुलाई नियमित रुपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नको लागि सन् १९९६ मा निकुञ्जको मध्यवर्ती क्षेत्र घोषण गरिएको थियो ।
प्रतिक्रिया