बुटवल । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् । बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोप लागेका उनलाई पहुचका भरका उन्मुक्ति दिने काम भएको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।
सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका ती बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।
जिल्ला अदालत रुपन्देहीले मँगलबार सहकारीका अध्यक्ष घर्तीलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायधिश महेन्द्रराज काफ्लेको ईजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सञ्चालक घर्तीकै अग्रसरमा गत मंसिर १७ गते विभिन्न ९ सहकारी संस्थासँग मर्जर गरेको कुरा सार्वजनिक समेत गरेका थिए । मर्जर गरेको भनेर बचतकर्तालाई ढाँटेका सञ्चालक कार्यालय बन्द गरेर भागेपछि उनी विरुद्ध बचतकर्ताले जाहेरी दर्ता गरेका थिए । बुटवलमा रहेको आगन्तुक, भैरहवाको जनप्रिय बहुउद्देश्यीय सहकारी, सार्थक बहुउद्देश्यीय सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुसन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएको जनाएका थिए ।
उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को नाममा अघि बढ्ने गरी मर्जर प्रक्रियामा गएको जनाए पनि सञ्चालकहरुकै मनोमानीले त्यो प्रक्रिया समेत रोकिएको थियो । त्यसमा जोडिएकामध्ये अधिकांश सहकारीका सञ्चालक बचतकर्तालाई रकम फिर्ता गर्न नसक्दा सम्पर्कविहिन भएर बसेका छन् केही संकटग्रस्त अवस्थामा रहेका छन् ।
मर्जर घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेती, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भीम तुलाचन, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटालगायतले सहकारी मर्ज भएको र अब कुनै समस्या नआउने दाबी गरेका थिए ।
प्रतिक्रिया