पाल्पाको तिनाउ–२ पासकुण्डा निवासी तेज कुमारी घिमिरे उमेरले ६८ पुगिन । गाउँमा ‘केरा बेच्ने बजै’ ले ख्याती कमाएकी उनी अहिले पनि ढाकरभरी केरा बोकेर बोच्ने गर्छिन् । २०४६ सालदेखि केरा बेच्दै आएकी तेजकुमारीको आँट र शाहस अहिले पनि उत्तिकै छ ।
केरा बेचेरनै आफ्नो परिवार हुर्काएकी उनले आफ्नो शरिरले काम गर्दासम्म पेसा परिवर्तन गर्ने पक्षमा छैनिन भने विश्राम गर्ने पक्षमा पनि छैनिन् । श्रीमानसँगै ३ छोरा ३ बुहारी, २ नाति र ३ नातिनी छन् उनका । जेठा छोरा÷बुहारीसँग बस्ने उनी हरेक हप्ता बुटवल झरेर केरा बेच्न छाडेकी छैनन् । आफ्नो बारिका मात्रै होइन छिमेकीका बारीमा फलेका केरा समेत खरिद गरी कमाकेर बेच्न सिपालु उनले यही कमाईबाट छोराछोरीको शिक्षा तथा ईच्छा आवश्यकताहरु पूरा गर्ने गर्थिन् । यसैगरी उमेरले नेटो काट्दा पनि तेजकुमारी उस्तै तेज छिन् ।
छिमेकीहरु गैरे जेठा, कुल प्रसाद बस्याल र पिपल डोलेहरुले केरा खरिद गरि बिक्री गरेको देखेर उनीहरुकै संगतबाट केराको ब्यापार गर्न थालेको स्मरण गराउछिन् उनी । पछि जेठो छोरो टिकारामले पनि ६ कक्षा पढ्दापढ्दै सुरुमा केरा खरिद गरेर बेच्न र पछि कुखुरा खरिद गरि बुटवलमा लगेर बेच्ने गरेको बताइन् । त्यतिबेला २०५९ सालतिर बजार सम्झिँदै तेजकुमारीले भनिन् ‘त्यतिबेला कुखुराको पोथी प्रति किलो ४५ रुपैयाँ थियो, भाले ५० मा खरिद गरिन्थ्यो । बुटवल लगेर बेच्दा पोथीलाई ५० र भालेलाई ५५ रुपैयाँ पर्थ्यों ।’
एकाविहानै ढाकर लिएर केरा खरिद गर्न गाउँ पुग्ने तेज कुमारीलाई त्यसबेलाको बजार मूल्य र अहिलेको मुल्य सम्झिँदा सपना जस्तै लाग्छ । उ बेला ३ रुपैयाँमा दर्जन तथा प्रति कोसा एक सुकामा केरा पाइन्थ्यो । त्यो समय उनले किनेको केरामा मनग्य फाइदा हुने गरी बुटवल बजारमा ल्याएर १२ रुपैयाँ दर्जनका हिसाबले विक्री गर्थिन् । यसको मुल्य बढेर खरिद गर्दा ६ रुपैयाँ दर्जन हुन थालेपछि आफूलाई नाफा राखेर २० रुपैयाँ दर्जनको हिसाबले विक्री गर्न थालिन उनले ।
ती दिनका बजार र अहिलेको बजारमा तेजकुमारीलाई रोज्न लगाउने हो भने पूरानै ठाउँमा फर्किन चाहान्छिन् । दोभानबाट ढाकरमा बोकेर पैदल बुटवल बजारमा आएर उनले केरा बेच्नु पर्थ्यो । तर, अहिले समय फेरिएको छ । उनले विक्री गर्ने केरासँगै उनलाई पनि मोटरले केही मिनेटमा हुँइकाएर बुटवलको बजारमा ल्याईपुर्याउँछ । उनले विक्री गर्ने केराको मुल्य पनि महङ्गीएको छ । प्रति दर्जशन १२० देखि १५० रुपैयाँसम्म पर्छ ।
मुल्य बढेपछि ग्राहकले दाम हाल्न अनकनाउँछन् । तैपनि हरेक बजारमा १५/१६ दर्जन केरा बेचेरै छाड्छिन् उनी । पछिल्लो समय यसरी ढाकरमा ल्याएर सामान्य व्यापार गर्ने व्यापारीहरुबाट पनि बुटवल उपमहानगरले सरसफाइको नाममा कर उठाउन थालेपछि उनको आम्दानी घटेको बताउछिन् । साना व्यापारी तथा कृषकलाई सकेसम्म यसरी पैसा नउठाए राम्रै हुन्थ्यो भन्छिन् उनी ।
प्रतिक्रिया