पूर्वी पाल्पामा ओके बाजेलाई धेरैले चिन्दछन् । शैक्षिक, सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका ओके बाजेको जन्मदेश भने जापान हो । उनको खास नाम काजुमासा काकिमी रहेछ । यतिबेला उनी पूर्वखोला गाउँपालिका वडा नं.–२, जल्पाको ढोलीमारामा स्थायीरुपमा बस्दै आएका छन् । उनकै लागि स्थानीय बासिन्दाहरुले घर समेत बनाइ दिएका रहेछन् । झट्ट हेर्दा मगरजस्तै देखिने ओके बाजेलाई बालबालिकाहरुले असाध्यै रुचाउँछन् । बाजेलाई देख्यो कि बालबालिकाहरुले भन्छन्–बाजिराहा(मगर भाषामा) अर्थात् बाजे आउनु भो । सुरुसुरुमा आफूले नेपाली भाषा नजान्ने तर स्थानीयहरुले जे भनेपनि ओके ओके भन्ने भएकै कारण काजुमासा काकिमीको नाम ओके बाजे रहन गएको ज्ञानु रानाले बताए ।
बाजेले जापानमा केन्द्रीय कार्यालय र काठमामाडौंमा सम्पर्क कार्यालय रहने गरी बाजिराहा नामक गैह्रसरकारी संस्था समेत खोलेका रहेछन् । सोही संस्थामार्फत जापानीहरुसँग सहयोग लिएर पूर्वीपाल्पाका विभिन्न स्थानहरुमा स्कूल बनाइदिने, पानीको प्रवन्ध मिलाइ दिने, विद्यार्थीलाई छात्रवृत्ति दिने, क्लबहरुलाई बल, नेट तथा खेलकूदका सामग्री वितरण गर्ने, महिला सशक्तीकरणमा सहयोग गर्ने र आर्थिक अभावमा गुज्रेकाहरुका लागि बीऊपूँजी दिएर बंगुर, बाख्रा पालनमा समेत सक्दो सहयोग गर्ने स्थानीय सामाजिक अभियन्ता माया रानाले बताइन् ।
साथै बाजेले २०७२ को भूकम्पमा परेका पीडितहरुलाई लत्ताकपडा बाँडे । घर बनाइदिए । खाद्यान्न सहयोग गरे । आगोलागिमा परेका गाउँलेहरुलाई त्रिपाल, खाद्यान्न र लत्ताकपडा सहयोग गरेर ठूलो गुन लगाएको स्थानीय ढोलीमारा सामुदायिक होमस्टेका सचिव मनबहादुर ठाडाले बताए । दुर्गम बस्तीहरुमा पानीको समस्या र ती समस्याहरुलाई समाधान गरेर स्थानीयहरुलाई सुख दिने कामममा बाजे लागिपरेका देखिन्छन् । त्यही भएर उक्त गाउँका मानिसहरुले बाजेलाई पानीदेउता समेत भन्दा रहेछन् । पूर्वीपाल्पामा बाजेले गरेको सहयोग र सेवाप्रति स्थानीयहरु नतमस्तक एवम् कृतज्ञ छन् ।
ओके बाजेलाई ढोलीमारामा पहिलोपटक ल्याउने मानिस भने तिलक आले रहेछन् । उनले बाजेलाई सन् १९९३ मा पर्यटकका रुपमा लिएर आएका रहेछन् । तिलक खासमा होटल, लजमा काम गर्ने मजदूर रहेछन् । उनले काठमाडौ, पोखरा, सुनौली लगायतका विभिन्न होटल तथा लजमा करिव २०/२५ वर्ष काम गरे । टूर गाइडका रुपमा विदेशीहरुसँग हिडे ।
बाजेसँगै घुम्दाफिर्दे पोखराबाट लुम्बिनीतिर जाँदा पाल्पाको कालीमाटीमा २०५०/०५१ सालतिर दुर्घटनामा परेर घाइते भए । बाजेको करङ्गको हड्डी भाँचियो । पाल्पाको भुसलडाँडामा रहेको मीसन अस्पतालमा २१ दिनसम्म उपचार गरेपछि बाजे काठमाडौंतिर गए अनि तिलक आफ्नो गाउँ ढोलीमारा फर्के ।
तिलक यतिबेला ६१ वर्षका भए भने ओके बाजे ८४ पुगे । दुबैजना साथी भइसकेपछि सन् १९९० ताका उनीहरु अन्नपूर्ण आधारशिविर घुम्न निस्किएका रहेछन् । तर त्यतिबेला हिउँ पहिरोको कारण ओके बाजेको भारी बोग्ने गोरखाका गुरुङ थरका भरिया पुरिएछन् । त्यो कुराले ओके बाजे धेरै विक्षिप्त भएका रहेछन् । गोरखा गएर सहयोग गर्ने इच्छा भने स्थान पहिचानको अभावले सम्भव नभएको तिलकले बताए ।
सोही पीडालाई भुलाउन ओके बाजे जापानबाट फर्केपछि तिलकसँग ढोलीमारा आइपुगेका रहेछन् । उनीहरुकाबीच टुटेफुटेका अंग्रेजीले सम्बन्ध विस्तार गरेको तिलकले हाँस्दै बताए । आज पनि तिलकसँग ओके बाजेले लेखेका चिठ्ठीहरु संग्रहित छन् ।
ओके बाजेसँग तिलकले १२ वर्ष संगत गरे । उनीसँगै सुते, खाए, रमाइलो गरे । ओके बाजेका आन्द्राभुँडी थाहा रहेछ तिलकलाई । बाजे ठट्टा गर्न रुचाउने, प्रकृतिलाई निकै माया गर्ने र नेपालीहरुलाई अतिनै सम्मान गर्ने ब्यक्ति हुन् भन्दैथिए तिलक । तिलकका अनुसार ओके बाजे अति विपन्न परिवारमा जन्मेका मान्छे हुन् । उनलाई जापानका धनी मानिसले लिएर पालनपोषण र शिक्षादीक्षा दिएका कारणले दुःख बुझ््ने गरेको तिलकको तर्क छ ।
पूर्वीपाल्पाका हरेक गाउँठाउँमा पैदल हिडालेर तिलकले बाजेको अंग्रेजी कुरालाई उल्था गरी स्थानीयहरुलाई सुनाउँथे । स्थानीयहरुका मागलाई बाजेसँग अंग्रेजी भाषामा दुरुस्तै पुराउँथे । अर्थात् तिलक दोभासेका रुपमा काम गर्थे । ओके बाजे जापानमा अंग्रेजीका शिक्षक थिए भने तिलकले गाउँकै विद्यालयबाट २०३०/०३२ तिर कक्षा पाँच उत्तीर्ण गरेका रहेछन् ।
तिलक अर्थोपार्जनका लागि केही वर्ष मलेसिया बसे । विगत तीन वर्षदेखि भने गाउँमै छन् । भैंसी पालेका छन् । उनकी जहान भिमीसरा पूर्वखोला गाउँकार्यपालिका सदस्य छिन् । छोरीले स्नातकोत्तर गरिसकेकी छिन् भने छोरोले स्नाकोत्तर गर्दैछन् । छोराछोरी दुबै काठमाडौंतिर छन् भने बुढाबुढी ढुकुरका जोडी बनेर ढोलीमारातिरै छन् ।
यतिबेला तिलक गुम्नाम छन् । उनको खोजी गर्ने कोही छैनन् । आफ्नै घरधन्दामा व्यस्त छन् । तिलकले ढोलीमारा गाउँ ल्याइपुराएका ओके बाजेले गाउँको विकासमा यथेष्ट योगदान पुराइरहेका छन् । तर उनी भने आफ्नै गाउँमा हराइरहेका छन् । लाग्छ–तिलक खरानीमूनिको आगो हुन् । आवश्यक परेमा खरानी खोस्रेर फेरि आगो फुक्न सकिने छ ।
प्रतिक्रिया