ताजा अपडेट »

‘म तिम्रै कथा केही सुनाएर मर्छु’

बुधबार, १० साउन २०८०

मुटुको बिरामी थिए लामो समयदेखि लेखनाथ ज्ञवाली । त्यसैमा थपिए छ ब्रेन ट्युमर पनि । ब्रेन ट्यूमरले हामीबाट टाढा बनायो उनलाई । राम्रो मान्छेलाई छिट्टै लैजान्छ रे भन्थे ! साँचो लागिरहेको छ । उमेरले ६७ पनि पूरा नपुगेका लेखनाथको मृत्यु हामी साहित्य अनुरागीहरुलाई अति नै पीडादायी बन्यो । हुन त मृत्यु अनिवार्य सर्त हो । एकदिन हामी सबै पक्कै मर्नैपर्छ । कुरा ढिलो चाँडोको मात्र हो । हामी सबै मृत्युको डिलमा उभिएका छौं । फरक यत्ति हो कि को छिटो डिलबाट तल खस्छ ! हामीबाट भौतिकरुपमा लेखनाथ मृत्युको डिलबाट खसेका मात्र हुन । तर उनको विचार, उनको क्षमता, उनको सहनशीलताले उनलाई सगरमाथाको चुचुरोमा उभ्याइरहेको छ ।

कोही बाँचेर पनि जिउँदै मरेको हुन्छ भने कोही मरेर पनि बाँचिरहेको हुन्छ । सशरीर हामी बीच उनी नभएपनि उनका प्रगतिका कथा हामीसँग छन् । जीवन र जगतलाई बुझेका र अरुलाई बुझाउन सक्ने लेखनाथलाई भने धेरैले बुझ्न सकेनन् । जीवन जिउनको लागि हजारौं ठक्कर खाए । ठक्कर खाँदै हजारौं कोश टाढा बग्ने ढुङ्गा झन् धारिलो भए झैं लेखनाथ विचार र ब्यवहारले उत्तिकै खारिएका ब्यक्तित्व थिए । उनी के भएनन– पत्रकार, साहित्यकार, कलाकर्मी, राजनीतिकर्मी, शिक्षक, सामाजिक कार्यकर्ता इत्यादि । उनको पहिचान खास केमा थियो खोजी गर्नुपर्दछ । पहिचान गरिएका खास गुणलाई सबैका बीच पुर्याउने प्रयास हामी सबैले गर्नुपर्छ । भानुभक्तलाई मोतीरामले चिनाए जस्तै उनलाई चिनाउनु सबैको कर्तव्य हो । उनका अप्रकाशित रचनाहरु खोजेर सबैका अघि पुर्याउने पहल, उनकै नाममा स्थापना गरिएको कवि लेखनाथ स्मृति प्रतिष्ठान, नेपालले लिइरहेको कुरा सुनाउन पाउँदा खुसी लागेको छ ।

पञ्चायतकालमा प्रशासनले उनको थुप्रै रचनाहरुको गर्भमै हत्या गर्यो । ति रचनाहरु भए आज उनलाई चिनाउने थप स्रोत बन्ने थियो । ‘उसलाई थाहा छैन’, ‘बलिदान’, ‘अप्सरा’ जस्ता रचना साहित्यिक गर्भे टुहुरा हुन् उनका । उनीद्वारा रचित हाम्रा आवाजहरु (गीतिसंग्रह), अक्षर (कवितासंग्रह), नानी (बालगीत÷कविता), दसैंको आशिक ( कवितासंग्रह), साथी (स्मृति खण्डकाव्य), खडेरी (लघुकाव्य) र माटोका गीत (राष्ट्रिय गीत संगालो) प्रतिष्ठानले प्रकाशन गरिसकेको छ । यसवर्ष उनको आधुनिक भजनसंग्रह प्रकाशन हुँदैछ । साँचो अर्थमा उनको श्रद्धाञ्जली यही नै हो । उनको ब्यक्तित्व र कृतित्वमाथि छलफल निरन्तर रुपमा चलाउनुपर्छ । उनको वार्षिक तिथि पारेर उनको सम्झनामा साहित्यिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यही नै उनीप्रतिको सच्चा श्रद्धा सुमन हो ।

उनकै सम्झनामा पुरस्कारको व्यवस्थापन हुँदै आइरहेको कुराले पक्कै पनि लेखनाथ दाइप्रतिको सम्मान जागृत भइरहेको छ । यतिलेमात्र पुग्दैन । उनको ब्यक्तित्वको चर्चा गर्ने, खोज, अध्ययन, अनुसन्धान गरी सामाजिक प्रभावका बारेमा कृतिहरु आउनु पर्ने देखिन्छ । उनका सवल पक्षहरुलाई अक्षरमा उतार्नु पर्छ । यस कामका लागि उनका समकक्षीहरुको सहयोग अनिवार्य हुने गर्दछ । सम्भव भएसम्म पहल गरेर उनका रचनाहरुलाई पाठ्यपुस्तकमा प्रकाशन गर्ने वातावरणको सृजना गर्नुपर्छ । उनकै स्मृतिमा लेखनाथ स्मृति संग्रह प्रकाशन गर्न सकिएमा साँचो सम्मान हुन सक्थ्यो कि ! राम्रो कामको थालनी हामी आफैले आजैदेखि गर्ने कि ! यो मेरो ओठे भक्ति होइन । बहसका लागि चालिएको कदम हो ।

जीवनमा धेरै धोका र दुःख भोगेका लेखनाथलाई हामीले गर्ने यस्तो सुकर्मले सच्चा सम्मान हुनेछ । समानताका पक्षमा सधैं वकालत गर्ने लेखनाथ जस्ता धेरैको मनले सन्तुष्टि प्राप्त गर्ने छ । अरुका लागि बाँच्नेहरुलाई हामीले गरेको यस्तो उदाहरणीय कार्यले गतिलो झाप्पड हान्ने छ । केही नगरेर हात बाँधेर बस्न रुचाउनेहरुलाई हाम्रो प्रगतिशील कार्यले केही गर्नुपर्छ भनेर झकझकाउने छ । यत्ति पनि हामीले गर्न सकेनौं भने लेखनाथको शब्दमा हामी जिउँदै मरेको प्रमाणित हुने छौं । देश र भोका नाङ्गा जनताहरुका लागि शब्द उराल्ने कर्मठ सर्जक एवम् राष्ट्रबादी चिन्तक लेखनाथले आफ्नो रचनामा यसरी शब्द पोखेका थिए—

सधैं स्नेह लागिरहोस् देशसँग
त्यही गीत यौटा बनाएर मर्छु
म तिम्रै कथा केही सुनाएर मर्छु ।

अन्तिममा उनीसँग भेट हुन नसकेपनि भन्न मन लागि रहेको छ मलाई लेखनाथ गुरु हामी पनि मृत्युको यात्रामा छौं । यात्री हौं हामी पनि मृत्युको । तिमी मृत्युको वल्लो स्टेशनमा मात्र झरेका हौ । झर्नु त हामी सबैलाई छ मृत्युको स्टेशनमा । ढिलो चाँडो अवश्य नै झरौंला । बाँचीरहँदा तिम्लाई तिम्रै कृतित्व र ब्यक्तित्वले सम्झिरहने छौं ।

बत्ती निभेको घर(शोककाव्य) लगायतका ६÷७ वटा साहित्यिक रचनाहरु प्रकाशोन्मुख अवस्थामा रहेको उनका सहोदर भाइ एवम् प्रतिष्ठानका संस्थापक अध्यक्ष लक्ष्मण ज्ञवालीले बताउँदै थिए । परिवारजन र सहयोगी मित्रहरुको सहकार्य र सहयात्रामा स्थापित उक्त प्रतिष्ठानले लेखनाथ ज्ञवालीलाई जीवन्त राख्नेछ ।